गुड फ्राइडे सिनेमा
दुई वर्षअघि इरानको तेहरान आजाद स्टेडियममा २९ वर्षीया युवती पुरुष पोसाकमा देखिइन्। निलो रङको नक्कली कपाल र लामो ओभरकोट लगाएर फुटबल हेर्न लम्केकी उनलाई स्टेडियममा प्रवेश गर्नुअघि सुरक्षाकर्मीले पक्रिए।
महिलाले फुटबल स्टेडियममा प्रवेश गर्न नपाउने नियम विपरीत 'गैरकानुनी' हर्कत गरेको आरोपमा अदालतले उनलाई पक्राउ पुर्जी पठायो। यसको प्रतिकारमा ती युवतीले अदालतअगाडि आत्मदाह गरिन्। लगभग पूरा शरीर जलेको उनको दुई हप्तापछि अस्पतालमा मृत्यु भयो।
शहर खोडयाडी नामकी ती युवतीको मृत्युपछि घटनाको इरानभित्र र बाहिरसमेत विरोध भयो। सामाजिक सञ्जालहरूमा अभियान नै चल्यो। महिलाहरूले पनि स्टेडियममा बसेर खेल हेर्न पाउनुपर्ने आवाज उठाइएको अभियानमा इरानी महिलाहरूको पनि उत्तिकै सहभागिता थियो। चौतर्फी दबाबपछि इरान सरकार महिलाले स्टेडियममा प्रवेश गर्न नपाउने विभेदकारी नियम फेर्न बाध्य भयो।
शहर आजादी स्टेडियममा इस्थिगल क्लबको समर्थन गर्दै फुटबल हेर्न गएकी थिइन्। उक्त क्लबको लोगोको रंग निलो छ। सहरको मृत्युपछि त्यही क्लबको रंगका आधारमा उनले सामाजिक सञ्जालमा 'द ब्लु गर्ल' को उपमा पाएकी थिइन्।
सन् १९७९ को इरानी इस्लामिक क्रान्तिपछि महिला स्वन्तन्त्रता खोसिँदै गयो। सार्वजनिक वृत्तमा उनीहरूको उपस्थिति र गतिविधिमा नियन्त्रण गरिन थाल्यो। यस्तै पृष्ठभूमिमा स्टेडियममा पुरुषसरह महिलाले फुटबल हेर्न रोक लागेको थियो।
शहरको आत्मदाहअघि पनि पटक पटक इरानी महिलाले फुटबले हेर्न पाउनुपर्ने विषय उठ्दै आएको थियो। फिफालगायत मानवअधिकारवादी संघसंगठनका तर्फबाट इरानी सरकारमाथि दबाब बढेको थियो।
यस्तै पृष्ठभूमिमा शहरको आत्मदाह इरानका अन्य फुटबल प्रेमी महिलाका लागि 'उपहार' बन्यो। शहरकै कारण चार दशकपछि सन् २०१९ को अक्टोबरमा तीन हजार बढी इरानी महिलाले इरान र क्याम्बोडियाबीचको वर्ल्ड कप क्वालिफाइङ म्याच उत्साह साथ हेर्न पाए।
विश्वकपमा समेत खेल्दै आएको इरान फुटबलमा एसियाकै राम्रो देशमध्ये पर्छ। पुरुषजस्तै इरानी महिलामा पनि फुटबलको ठूलो क्रेज छ। यही क्रेजका कारण पुरुषको हुलिया बनाएर उनीहरू फुटबल हेर्ने जोखिम मोल्ने गर्थे। यो क्रममा धेरै महिला पक्राउ पर्थे।
इरानी महिलालाई स्टेडियममा प्रवेश नदिने घटनालाई टिपेर विश्व चर्चित इरानी निर्देशक जफर पनाहीले फिल्म बनाएका छन्। सन् २००६ मा सार्वजनिक 'अफ साइड' फुटबलको माध्यमबाट इरानभित्रको लैंगिक विभेद चित्रण गर्ने सशक्त फिल्म हो।
२००५ को जुन महिना इरान फुटबलमय भएको थियो। तेहरान सहरको आजादी स्टेडियममा इरानी राष्ट्रिय फुटबल टिम बहराइनसँग विश्वकप छनौटका लागि प्रतिस्पर्धा गर्दै थियो। यो महत्वपूर्ण खेल हेर्न केही फुटबल प्रेमी युवती पुरुषजस्तै देखिने पहिरन र हुलिया बनाएर स्टेडियम पुग्छन्। कोही सुरूमै र केही खेल हेर्दाहेर्दै पक्राउ पर्छन्।
पक्राउ गरिएका युवतीहरू र सुरक्षाकर्मीबीचको द्वन्द्वात्मक संवाद अनि इरानले विश्वकप खेल्न पाउला वा नपाउला भन्ने उत्साह र भय फिल्मको केन्द्रमा छ। वास्तविक खेल भइरहेको बेला खिचिएको यो फिल्ममा स्टेडियमका दृश्य देख्न नपाउने पात्रहरूसँगै हामी पनि आवाज मात्र सुन्न बाध्य हुन्छौं। तर खेलको नतिजा कस्तो आउला भनेर उत्सुक बनाउन यत्ति नै काफी छ।
स्टेडियममा झन्डै एक लाख पुरुषले फुटबल हेरेर आनन्द लिइरहँदा फुटबल हेर्ने रहरकै कारण युवतीहरू प्रहरी नियन्त्रणमा हुन्छन्। तर खेलभन्दा फिल्ममा सुरक्षाकर्मी र नियन्त्रणमा लिइएका युवतीहरूबीच हुने संवाद महत्वपूर्ण छन्। यो संवादमा फुटबलको मात्र गफ हुँदैन, महिलामाथि पुरुष नियन्त्रणका अनेक पाटो उजागर हुन्छन्।
धर्म, अनुशासन र शिष्टताका नाममा इरानी समाजमा हुने विभेदका अनेक आयामलाई पनि उदांगो पार्छ। प्रहरी नियन्त्रणमा परेको अप्ठ्यारो परिस्थितिमा पनि युवतीहरूमा फुटबलप्रतिको रूचि र इरानको सफलताप्रतिको चाहना फिल्ममा गज्जबसँग प्रकट भएको छ।
यो फिल्म निर्देशक पनाहीको आफ्नै अनुभवसँग पनि नजिक छ। पनाही एक पटक फुटबल हेर्न जानेबेला उनकी छोरीले आफू पनि जाने जिद्दी गरिछन्। तर छोरीको करपछि भित्र प्रवेश गर्न नपाए एक्लै फर्किनुपर्ने शर्तमा पनाही राजी भएछन्। पनाहीले भनेजस्तै उनकी छोरीलाई स्टेडियममा प्रवेश गर्न दिइएन र उनी एक्लै स्टेडियम छिरे। तर केही मिनेटमै उनकी छोरी स्टेडियममा आएको देखेर चकित हुँदै उनले सोधे, 'भित्र कसरी आयौ?'
'सबै बाटो बन्द हुँदा पनि एउटा न एउटा बाटो सधैं बाँकी हुन्छ।'
त्यही बाटो पत्ता लगाउने क्रममा उनले 'अफ साइड' बनाए। नाम 'अफ साइड' भए पनि निर्देशक पनाहीको यो फिल्मले दर्शकको मन-मस्तिष्कमा गोल हान्छ।