गुड फ्राइडे सिनेमा
देवदास नाम सुन्नेबित्तिकै कानमा विरही धुन गुन्जिएझैं हुन्छ। आँखामा देवदास, पारो र चन्द्रमुखीको छवि नाच्न थाल्छ।
तर तपाईं र मैले सम्झिने देवदास, पारो र चन्द्रमुखीका अनुहार नमिल्न सक्छन्। तपाईंले सम्झिने देवदासमा दीलिप कुमारको अनुहार आउन सक्छ, मैले सम्झेको देवदास अभय देवल वा शाहरूख खान हुन सक्छन्। वा, यसको ठीक उल्टो पनि हुन सक्छ।
पाको पुस्ताका केहीले त अझै देवदास नाममा केएल सेहेगललाई देखिरहेका हुन सक्छन्। त्यसैगरी पारो र चन्द्रमुखीका अनुहार पनि नमिल्न सक्छन्।
यस्तो दुबिधा पनि हुन सक्छ, पारोलाई सम्झिँदा सूचित्रा सेनलाई सम्झने कि ऐश्वर्या रायलाई? वा माही गिललाई?
पारोलाई कल्पँदा बैजयन्ती माला, माधुरी दीक्षित वा कल्की कोचलिनलाई? वा अरू नै अभिनेत्रीलाई?
सन् १९१७ मा प्रकाशित १०४ वर्ष पुरानो देवदासको कथामा एउटा सिनेमा मात्र बनेको भए यस्तो दुबिधा हुने थिएन। यसमा भारतका हिन्दी, बंगला, तेलुगू, तामिललगायत भाषामा एक दर्जनभन्दा धेरै सिनेमा बनिसकेका छन्।
त्यसैले भाषा, रूचि र पुस्ताअनुसार देवदास, पारो र चन्द्रमुखीलाई चिन्ने वा मन पराउने दर्शक भेट्न सकिन्छ।
धेरै पटक दोहोरिँदा देवदासका कथा प्रस्तुत गर्ने शैली र त्यसलाई हेर्ने दृष्टिकोणमा पनि नयाँपन थपिइरहेको छ। साइलेन्ट एरादेखि पोस्ट मोडर्न काललाई छोइसकेको छ।
कहिले पुरानो नहुने देवदासको कथामा आखिर त्यस्तो के छ?
कथाबाट सुरू गरौं।
देवदास र पारो सानैदेखिका साथी हुन्। उनीहरू एक अर्कालाई बिछट्टै माया गर्छन्। पारो र उनको परिवारको चाहना हुन्छ उनको र देवदासको बिहे होस्। तर देवदासको परिवारको नजरमा पारोको जात र हैसियत मिल्दैन।
दुई परिवारबीच सम्बन्ध बिग्रिँदै गर्दा देवदास र पारोको 'इगो' ले पनि तगारो हाल्छ। पारोको अर्कै पुरुषसँग बिहे हुन्छ। प्रेममा असफल भएपछि देवदास बिस्तारै रक्सीको लतमा फस्छन्।
के साँझ, के बिहान ऊ खानाको साटो रक्सी पिउन थाल्छन्। रक्सीले उसलाई 'सेल्फ डिस्ट्रक्सन' तर्फ लैजान्छ। यसबीच देवदासको भेट चन्द्रमुखीसँग हुन्छ। चन्द्रमुखी देवदासको प्रेममा पर्छिन्। तर देवदासको नजरमा उनले पारोको स्थान लिन सक्दिनन्।
उता पारोका लागि पनि बिहे हुनु नहुनुले अर्थ राख्दैन। विवाहपछि पनि उनी देवदासलाई नै प्रेम गरिरहन्छिन्। यी तीन प्रेमीको नियति नै देवदासको कथा हो।
यो कथा भारत स्वतन्त्र हुनुअघिको बंगालको ग्रामीण परिवेशमा बुनिएको हो। पाकिस्तान र बंगलादेश जन्मनुअघिको यो कथामा सबभन्दा पहिलो पटक सन् १९२८ मा नरेश मित्रले सिनेमा बनाएका थिए। योबेला सिनेमाले बोलीसमेत पाएको थिएन।
सन् १९३१ मा 'आलम आरा' बनेसँगै भारतमा सिनेमाको साइलेन्ट एरा सकियो। सन् १९३५ मा देवदासले बोली पायो। पिसी बरूआले निर्देशन गरेको यो फिल्म हिन्दी र बंगला भाषामा बनेको थियो। चर्चित गायक तथा अभिनेता केएल सहगलसमेतले अभिनय गरेको यो देवदास व्यवसायिक रूपमा सफल बन्यो।
१९५३ को तेलुगू र तमिल भाषामा बनेको देवदास पनि उत्तिकै सफल र प्रशंसित भएको कुरा पनि यहाँ सान्दर्भिक छ।
सन् १९३५ को देवदास बन्ने बेला निर्देशक बरूआलाई विमल रायले असिस्ट गरेका थिए। राय त्यसबेला देवदासको कथाबाट प्रभावित थिए। त्यो प्रभावको असर सन् १९५५ मा देखियो। उनकै निर्देशन र निर्माणमा देवदास सार्वजनिक भयो।
यसअघि रायले शरतचन्द्र चट्टोपाध्यायको उपन्यासमा 'परिणिता' निर्देशन गरेर अवार्डसमेत जितिसकेका थिए। यसबाहेक 'दो बिघा जमिन' जस्तो सशक्त फिल्म बनाएको नाम पनि छँदै थियो। विमल रायको देवदासमा दिलीप कुमार, बैजयन्ती माला र सूचित्रा सेन जोडिएपछि यसले अर्को आयाम थप्यो।
सन् १९५५ को देवदास त्यसबेलाको मात्र नभई आजसम्मका लागि उत्कृष्ट सिनेमाको सूचीमा पर्यो। यसअघि नै वियोगान्त भूमिकाहरूमा देखिइसकेका दिलीप कुमारको ट्र्याजिक छवि देवदासबाट उत्कर्षमा पुग्यो।
यसबीच देवदासका अनेक भर्सन आए। तीमध्ये संजयलीला भन्साली निर्देशित 'देवदास' र अनुराग कश्यपले बनाएको 'देव डी' विशेष चर्चित छन्।
फरक समयमा बेग्लै भाषा र भूगोलका दर्शक लक्षित देवदास आफ्नो समयको आधुनिक कृति थियो। आज पनि देवदासको चरित्र चित्रण सशक्त लाग्छ। पात्रहरूको आन्तरिक र बाह्य द्वन्द्वले कथालाई गति दिइरहन्छ। यसका पुरुष र महिला मुख्य पात्रहरू आदर्शवादी र व्यावहारिक दुबै छन्। वास्तविक जीवनका पात्रहरू जस्तै कहिले बलियो र कहिले कमजोर देखिने उनीहरू 'ग्रे जोन' मा छन्।
संवाद पनि देवदासको अर्को सशक्त पक्ष हो, जुन हरेक भर्सनमा महसुस गर्न सकिन्छ। भारतीय सिनेमाका उत्कृष्ट निर्देशक र कलाकारहरूले यसलाई पुनर्जीवन दिँदै आउनुको मुख्य कारण यस्तै हुनुपर्छ।
भौतिकभन्दा आत्मिक प्रेममा परेकाहरूको यो कथाका हरेक नयाँ भर्सनले भारतीय समाजको बदलिँदो चित्र पनि देखाइरहेको छ। पहिला कलकत्ता जाने देवदास अचेल लन्डन जान्छ। पहिला शान्त देखिने पारो अचेल झर्केर बोल्छिन्। उनीहरूको बोलिचाली र प्रेम अभिव्यक्त गर्ने शैली बदलिएको छ। पहिरन र सोच पनि फेरिएको छ।
भारतीय समाजको मूल्य, मान्यता, फरक लैंगिक र वर्गीय हैसियत बुझ्न पनि देवदास एउटा दृश्य पाठ हो।
सिनेमा निर्माण र कथावाचन शैलीमा आइरहेको भिन्नता बुझ्न समेत देवदास एउटा माध्यम बनिसकेको छ। योभन्दा पनि महत्वपूर्ण कुरा, राम्रो साहित्यले असल सिनेमा जन्माउने आधार कसरी दिन्छ भन्ने देवदास उत्कृष्ट उदाहण हो।