गुड फ्राइडे सिनेमा
भारतीय रंगमञ्च र सिनेमालाई लेखक विजयनाथ देथाले थुप्रै राजस्थानी लोक कथा–कहानी दिएका छन्। ती कथा–कहानीमा निर्देशक श्याम बेनेगल, मणि कौल, अमोल पालेकरदेखि नयाँ पुस्ताका निर्देशकसम्मले सिनेमा बनाएका छन्।
'परिणती' पनि देथाकै राजस्थानी लोककथामा बनेको सिँनेमा हो। यो हृदयघातका कारण शुक्रबारै निधन भएकी अभिनेत्री सुरेखा सिकरीले अभिनय गरेका राम्रा फिल्ममध्ये एक हो। फिल्ममा उनी कुर्जी पात्रको रूपमा देखिएकी छन्।
नेसनल स्कुल अफ फिल्म एन्ड ड्रामा (एनएफडिसी) बाट ग्राजुएट सुरेखाले पहिलो चरणमा 'परिणति', 'तमस', 'अम्मो' जस्ता फिल्ममा अभिनय गरेर आफ्नो अभिनय क्षमता देखाएकी थिइन्। दोस्रो चरणमा पनि उनले 'सरफरोस' देखि 'बधाइ हो' सम्म दमदार अभिनय प्रदर्शन गरिन्। 'बालिका बधु' श्रृंखलामा हजुरआमाका रूपमा पनि उनलाई धेरैले सम्झिने छन्।
सन् १९८९ मा सार्वजनिक 'परिणती' उनको पहिलो चरणको फिल्म हो जसमा उनको सशक्त अभिनय क्षमता देख्न पाइन्छ।
'गंगाजल', 'राजनीति', 'अपहरण', 'आरक्षण' जस्ता ठूला कलाकारसहित व्यवसायिक रूपमा सफल फिल्म बनाएका निर्देशक प्रकाश झा पहिलो चरणमा कम बजेटमा यथार्थवादी सिनेमा बनाउँथे। तीमध्ये 'दामुल' र 'परिणती' उनका प्रशंसनीय आर्ट हाउस सिनेमा हुन्।
परिणती राजस्थानको ग्रामीण भेगको कथा हो। माटाको सामग्री बनाउने गणेश आफ्नी पत्नी कुर्जी र एक मात्र छोरा लछ्मनसँग बस्छन्। धेरै महत्वकांक्षा नभएका सोझा र इमानदार यो दम्पतीका लागि छोराको गौना गराएर बुहारी भित्र्याउनुबाहेक अर्को ठूलो सपना हुँदैन।
एक दिन अचानक गाउँका धनी व्यक्ति आफ्नो छोरा जन्मेको खबर लिएर उनीहरूको घर आउँछन्। यही खुसीमा बस्ती नभएको निर्जन ठाउँमा धर्मशाला खोलेर पुण्य कमाउने चाहना बाँड्छन्। यस कामका लागि आफू उनीहरूको घर आएको भन्दै गणेशसँग आफूलाई सहयोग गर्न आग्रह गर्छन्। अनि परिवारसहित उनलाई त्यहीँ बसोबासको बन्दोबस्त मिलाइदिने प्रस्ताव गर्छन्।
घरबाट टाढा जान मन नहुँदा नहुँदै पनि पुण्य कमाउने कामका लागि गरिएको आग्रह गणेश र उनकी पत्नीले नकार्न सक्दैनन्। यो धर्मशाला छोटो समयमै टाढाबाट थाकेर आएका वा बिरामी परेका यात्रुका लागि उपयोगी बास काट्ने ठाउँ बन्छ। गणेश र कुर्मीलाई पनि यसले सन्तोष दिएको हुन्छ।
थरिथरि उद्देश्यले यात्रामा निस्केका मानिसले बास बस्न आउने यो ठाउँमा अक्सर व्यापारीहरूले रात काट्छन्। धर्मशालामा बास बस्ने क्रममा एक जोडी वृद्ध दम्पतीले गणेश र कुर्मीका छोराको हात हेरेर लछ्मनले व्यापारमा सफलता पाउने योग रहेको बताउँछन्।
ती वृद्ध दम्पतीले त्यही योग देखेर लछ्मनलाई आफूसँगै साझेदार बनाएर व्यापारी बनाउन देशावर लैजाने चाहना पोख्छन्। एक मात्र सन्तानका बुबाआमाका लागि त्यो प्रस्ताव सजिलै मान्य हुने कुरै आएन।
गणेश र कुर्मीलाई यो प्रस्ताव सुरूमा मन पर्दैन। तर गरिबीमा बाँचेका उनीहरूले धन कमाएर छोराले बंगला, गरगहना जोड्ने र आफूले पनि धनीसरह सुविधापूर्वक बाँचेको कल्पिन थाल्छन्।
ती वृद्ध दम्पतीले देखाएको सपनाले उनीहरूलाई लोभ्याएरै छोड्छ। उनीहरू मन मिचेर छोरालाई अपरिचित मान्छेको हातमा सुम्पन्छन् र धनी बन्ने दिन कुर्छन्। तर प्रतीक्षा दुई चार महिनाको भए पो!
अनिश्चित प्रतीक्षामा बसेका उनीहरूलाई धर्मशालाको काम र त्यहाँ आउने अतिथिले मन भुलाउने काम गर्छ।
धर्मशालामा अक्सर महँगा र आकर्षक गरगहना लगाएका, सम्पन्न मानिस आउनेजाने हुन्छन्। तिनलाई देख्ने भेट्ने क्रममा थाहै नपाई गणेश र कुर्मीको मन लोभिइसकेको हुन्छ।
धन-सम्पत्तिप्रति उनीहरूको लालसा यति तीव्र हुँदै जान्छ कि उनीहरू त्यहाँ रात बिताउन आएका नवविवाहित जोडीको हत्या गर्ने निर्णयमा पुग्छन्।
धनको लोभ न हो। उनीहरूको लालसा बढ्दै जान्छ। पूण्य कमाउने कामका लागि धर्मशाला सञ्चालनमा योगदान दिइरहेका उनीहरू पापको संसारमा प्रवेश गर्छ।
के यी दम्पती यो संसारबाट उम्केलान्? यसका लागि राजस्थानी स्वादको परिणती हेर्नुहोला।
राजस्थानी भेषभूषा, परिवेश र रहनसहनलाई नजिकबाट देखाइएको यो फिल्ममा सुरेखासँगै वसन्त जोसालकर मुख्य भूमिकामा छन्। फिल्ममा अभिनेत्री नन्दिता दासको समेत छोटो भूमिका छ।