गोपाल कृति माझी बनेर खोला किनारमा आए। उनकी श्रीमती नमु न्यौपानेले नाचेर उनलाई साथ दिइन्। छोरीले भिडिओ खिचिन्।
'माछीलाई खोलीको लेउ' गीतमा यो दम्पतीले बनाएको टिकटक भिडिओ अहिले भाइरल छ। चार दिनअघि युट्युबमा सार्वजनिक हरिवंश आचार्य र मेलिना राईले गाएको यो गीतको भिडिओ जसरी ट्रेन्डिङमा छ, गोपाल र नमुको भिडिओ पनि सामाजिक सञ्जालमा निकै चर्चामा छ।
मान्छेहरूले उनीहरूको अभिनयको प्रशंसा गर्दै भनेका छन्– कस्तो जिवन्त अभिनय!
यो गीतको म्युजिक भिडिओमा अभिनय गर्ने मुख्य कलाकारहरू, हरिवंश आचार्य, करिश्मा मानन्धर, केकी अधिकारी, पल शाह र गायिका मेलिना राईले पनि उनीहरूको भिडिओ मन पराएर सेयर गरेका छन्। 'राम्रो' भनेर तारिफ गरेका छन्।
टिकटक भिडिओमा रमाएका गोपाल र उनकी श्रीमती नमुले उक्त खुसी साट्दै टेलिफोनमार्फत सेतोपाटीसँग भने, 'अहिले बल्ल मान्छेहरूले कलाको महत्व बुझ्न थाले। हामीलाई हाम्रो कामको सम्मान भएजस्तो महशुस भएको छ।'
गोपाल लामो समयदेखि रंगमञ्चमा काम गरेका कलाकार हुन्। मोफसलमा सडक नाटकहरू गरिरहने उनले २०६४ सालमा काठमाडौंको गुरुकुलमा एक महिना र मण्डला नाटकघरमा एक हप्ता अभिनय तालिम लिएका थिए।
'अँध्यारो उज्यालो', 'क्रमशः', 'अबोध क्रन्धन', 'पछुतो' लगायत नाटकमा उनले काम गरे। २०७१ सालमा पछुतो नाटक गरेपछि भने घरायसी व्यस्तताले उनी रंगमञ्चबाट टाढिए।
त्यही पनि नाटकको भोक मेटाउन उनी कार्यशालाहरू सञ्चालन गर्छन्। स्कुलका विद्यार्थीलाई नाटक सिकाउँछन्। 'वर्णमालाः स्कुल अफ थिएटर' मार्फत् उदयपुरका विद्यार्थीलाई नाटकको माध्यमबाट पढ्ने वातावरण राम्रो हुन्छ भन्दै जनचेतना फैलाइरहेका छन्। विद्यार्थीलाई तालिम दिएपछि काठमाडौंमा बाल नाटक देखाउन ल्याउँछन्।
फाट्टफुट्ट नाटक सिकाएर मन बहलाए पनि उनीभित्रको अभिनय भोक मरेको थिएन। त्यसैले टिकटक अभिनय प्रस्तुत गर्ने अर्को रंगमञ्चजस्तो लाग्छ उनलाई।
'सुरूसुरूमा त मान्छेहरूले के गरेको होला भन्नुहुन्थ्यो। अहिले उहाँहरू नै प्रशंसा गर्नुहुन्छ,' गोपालले भने, 'टिकटक सदुपयोग गर्ने हो भने हामीजस्ता कलाकारका लागि राम्रो ठाउँ हो।'
गाईघाट, उदयपुर घर भएका उनको पूरा नाम गोपालकृष्ण तिमल्सिना हो। त्यही नाम छोटकरी बनाउँदै उनले गोपाल कृति बनाएका हुन्। उनी ४८ वर्षका भए, श्रीमती नमु ४० वर्ष।
गोपाल र नमुले ०५४ सालमा प्रेम विवाह गरेका हुन्। गाउँमा खोलिएको 'शिखर युवा क्लब' मा सँगै काम गर्दा दुईको सम्बन्ध नजिकिएको थियो।
बिहेपछि धेरै समय तालिम र सडक नाटकमा भुल्ने गोपालले कहिलेकाहीँ नमुलाई सँगै लैजान्थे। त्यही क्रममा नमुले रंगमञ्चका आयामहरू बुझ्दै गइन्। केही सडक नाटक पनि गरिन्। हाल स्थानीय सगरमाथा मोडल स्कुलमा उनी साना केटाकेटीलाई पढाउँछिन्। नाच्न पनि सिकाउँछिन्। धेरैले उनलाई नृत्य-शिक्षक भनेर चिन्छन्।
त्यो अभ्यास त थियो नै, श्रीमानले टिकटक बनाउन थालेपछि उनलाई साथ दिन आफू पनि जोडिएको उनी बताउँछिन्।
'पहिलेपहिले हामी फेसबुकमा भिडिओ बनाउँथ्यौं। एकजनाले तपाईंहरूको भिडिओ राम्रो छ, टिकटक बनाउनु न भनेपछि सुरू गरेका हौं,' उनले भनिन्।
यसरी टिकटकमा उनीहरू जोडिएको पोहोर दसैंपछि हो। छोटो समयमै उनीहरूले प्रशंसा बटुले। अहिलेसम्म उनीहरूले सात लाख बढी फलोअरहरू कमाइसके। उनीहरूका भिडिओ हेर्नेको संख्या उत्तिकै छ।
सुरूसुरूमा गोपाल आफ्नो मात्र भिडिओ बनाउँथे। बिस्तारै जंगलमा घाँस काट्न जाँदा ड्राफ्टमा गीतहरू पनि बोकेर जान थाले। श्रीमान-श्रीमतीले एकअर्काको भिडिओ खिचिदिए। दुवैको भिडिओ खिच्नपर्यो भने मोबाइल रूखमा झुन्ड्याउँथे। कहिले एक रूखबाट अर्को रूखमा मोबाइल बाँधेर तुइनजसरी पुर्याउँथे।
'मैले प्राविधिक क्षेत्रमा पनि काम गरेकाले क्यामरा, लाइट लगायत कुराको ज्ञान छ। त्यही भएर नयाँ तरिकाले सिर्जनाहरू गर्न मजा आउँछ,' गोपालले भने, 'खिच्दा यथार्थजस्तो देखियोस् भन्ने चाहन्छु।'
उनी भिडिओ साधारण तरिकाले प्रस्तुत गर्दा नै जिवन्त हुने ठान्छन्। 'मेथड अभिनय' ले जुन कुरा जस्तो छ, त्यस्तै प्रस्तुत गर्न भन्छ। उनले आफ्नो भिडिओमा पछ्याउने पनि यही हो– आफूलाई आफूजस्तै प्रस्तुत गर्ने।
'हामीले फरक बन्ने प्रयास गर्यौं भने सुनमा पित्तल मिसाएजस्तो हुन्छ। त्यो अस्वभाविक देखिन्छ,' उनले भने।
उनी जीवनजस्तै सबै कुरा सरल हुनुपर्ने मान्यता राख्छन्। उनको भनाइ छ- हामी जति माथि उडे पनि हुने धर्तीमै हो। धर्ती हाम्रो पहिचान र संस्कार हो, कहिल्यै भुल्न हुँदैन। त्यस्तै अभिनयमा जति अनुभव भए पनि आफ्नो धरातल बिर्सिन हुँदैन।
भिडिओ बनाउने बेला पनि आफ्नो धरातल नबिर्सिने उनी बताउँछन्।
जंगल गएर घाँस काटिसकेर, टिकटक बनाएर घर फर्किँदा उनीहरूलाई प्रायः अबेला हुन्छ। घरमा गोपालका आमाबुवाले 'टिकटक बनाएर बिग्रियो' भन्दै धेरैपटक गालीसमेत गरेका छन्।
तर यसले आफूहरूको सम्बन्ध र परिवार नजिक बनाएजस्तो उनीहरूलाई लाग्छ।
'नभए हामी आफ्नै काममा मात्र व्यस्त हुन्थ्यौं। टिकटकले हामीलाई पारिवारिक समय दिएको छ,' नमुले भनिन्। माया-प्रेमका गीतमा भिडिओ बनाउन रूचाउने उनीहरू भिडिओ बनाउने क्रममा एकअर्काको अझ निकट भएको महशुस गर्छन्।
उनीहरू हप्तामा एक–दुइटा भिडिओ मात्र बनाउँछन्। शनिबार सकेजति घाँस बोकेर आउँछन्। एक हप्तासम्म त्यसैले वस्तुभाउलाई पुग्छ। त्यसपछि घरकै काममा बढी व्यस्त हुन्छन्। यसबीच भिडिओ बनाउने फुर्सद कमै मिल्छ।
बिहान चार बजे उठेर गाईवस्तुलाई घाँसपात दिएपछि गोपाल स्थानीय उपहार एफएमको कार्यालय पुग्छन्। प्राविधिकका रूपमा त्यहाँ उनले बिहान पाँच बजेदेखि ११ बजेसम्म जिम्मेवारी निर्वाह गर्नुपर्छ। त्यसपछि घर फर्केर खाना खाएर केहीबेर आराम गर्छन्। अनि खेतीपाती गर्ने र वस्तुभाउ हेर्ने उनको दैनिकी हो। नमुलाई पनि घर अनि स्कुलको कामले व्यस्त बनाउँछ।
'हामीलाई टिकटक बनाउने त्यति धेरै फुर्सद भने हुँदैन। जति बनाउँछौं, त्यसलाई नै राम्रो बनाऊँ भन्ने हुन्छ,' गोपालले भने।
अहिले उनीहरू घाँस काट्न मात्र नभई खेतीपातीमा जाँदा पनि टिकटकलाई समय निकाल्छन्। गीत छान्ने र कसरी बनाउने भन्ने परिवारै मिलेर छलफल गरेपछि बल्ल भिडिओ बनाउँछन्।
सुरूआती दिनमा गोपाल-नमुले आफैं भिडिओ बनाए पनि अहिले दुई छोरीले साथ दिएका छन्। ठूली छोरी १२ र सानी ८ मा पढ्छिन्। सानी छोरीले केही भिडिओमा अभिनय पनि गरेकी छन्।
प्रायःजसो भिडिओ उनकी ठूली छोरीले खिच्छिन्। 'माछीलाई खोलीको लेउ' को टिकटक पनि उनैले खिचेकी हुन्। २९ सेकेन्डको यो भिडिओ करिब २० मिनेट लगाएर खिचिएको उनले बताए। सामान्य मोबाइलबाटै बनाइने उनीहरूको भिडिओ खिच्ने तरिका पनि मान्छेले मन पराएका छन्।
गोपाललाई टिकटकले अभिनयको भोक मेटाउने राम्रो क्यानभास दिएको छ। कतिले टिकटकबाटै अभिनयको अवसर पाएर यसैमा करिअर बनाउँछन् अचेल। उनी पनि त्यस्तै अवसर आए काम गर्ने बताउँदै भन्छन्, 'रंगमञ्चमा काम गरेको मान्छे हुँ। अवसर पाएँ भने पक्कै काम गर्छु।'