गीतको कथा
हामीले गायिका रेखा शाहलाई उनको लोकप्रिय गीत 'सिमसिमे पानीमा'को कथा सुनाउन सेतोपाटी डाक्यौं।
उनले हामीलाई यो गीतको भाग्य कथा सुनाइन्।
कथा तीन दशक पुरानो हो।
धादिङमा जन्मे-हुर्केकी रेखा उच्चशिक्षा तह पढाइ अघि बढाउने र रेडियो नेपालमा गएर स्वर परीक्षा दिने दुई उद्देश्य बोकेर काठमाडौं आएकी थिइन्।
उनका त्योबेला तीन वटा लोकगीत थिए जसमध्ये एउटा सिमसिमे पानीमा थियो।
स्वर परीक्षा दिन रेडियो नेपालमा बुझ्न जाने क्रममा त्यहाँ आयोजना हुने देशव्यापी लोकगीत प्रतियोगितामा उनी सहभागी भइन्। गीतले पहिलो स्थान हासिल गर्यो।
करिब १६ वर्षको उमेरमा रेखाले कल्पनै नगरेको चर्चा पाइन्। आज पनि उनको सिंगो सांगीतिक व्यक्तित्वको परिचयमा यो गीतको लोकप्रियता हाबी छ।
२०४९ सालको त्यो प्रतियोगितामा रेखाले सिमसिमे पानीमाको सट्टा अर्को गीत गाउन सक्थिन्। तर त्यही किन छानिन्, स्पष्ट उत्तर उनीसँग पनि छैन।
यसैलाई उनले गीतको भाग्य भनेकी हुन्।
'त्यो बेला अरू गीत पनि छान्न सक्थेँ। तर खै किन त्यही गीत गाउने निधो गरेँ,' उनले भनिन्, 'मलाई लाग्छ गीतको पनि भाग्य हुने रहेछ। त्यो गीतसँगै मेरो भाग्य पनि जोडिएको रहेछ।'
रेखाका अनुसार आफूले आफैंलाई चिन्ने कलिलो उमेरदेखि नै उनी गीत गाउन मन पराउँथिन्। घरमा भएको रेडियो उनमा संगीतप्रतिको रूचि जगाउने माध्यम बन्यो। हजुरबुबाले रेडियोलाई घरको खाँबामा झुन्ड्याउँथे। कपडाले बेरेर राखिएको त्यो रेडियोले हजुरबुबाका लागि समाजका खबर सुनाउँथ्यो। रेखालाई भने गीत-संगीत।
सानो छँदा रेडियो नेपालमा सुनेका धेरै गीतमध्ये 'पानी तालैमा' उनलाई अझै याद आउँछ। लोकगीत मन पराए पनि तारादेवी, नारायणगोपाल, अरुणा लामा, भक्तराजका गीत सुन्दा आधुनिक संगीतमा स्थापित हुने चाहना जाग्थ्यो उनमा।
स्कुलमा पनि शिक्षक र साथीहरूमाझ उनी हरिभक्त कटुवालले रचना गरेको र नारायणगोपालले गाएको 'पोखिएर घामको झुल्का' गाएर सुनाउँथिन्।
रेखाले भनिन्, 'रेडियो नेपालको लोकगीत प्रतियोगितामा सहभागी हुँदासम्म मलाई त्यहाँ आधुनिक गायन प्रतियोगिता हुन्छ भन्ने थाहा थिएन। नत्र लोकगीत नभएर आधुनिक गीत प्रतियोगितामा भाग लिन्थेँ।'
त्यस्तो भएको भए सिमसिमे पानीमा गीतको भाग्य के हुन्थ्यो होला?
त्यो त अनुमानित कथा मात्र न हो!
आज सिमसिमे पानीमाले संसारभरका नेपालीले मन पराउने लोकगीतको परिचय बनाइसकेको छ। कयौं विदेशीसमेतलाई नचाएको यो गीत वनभोज, बिहेभोज, सार्वजनिक जमघट वा बन्द कोठा, कहाँ नबजेको होला?
बालक, युवा, वृद्ध सबै उमेर समूहका स्रोता यो गीतका शब्द र लयमा रमाएर नाचेका छन्। रेखालाई नचिन्नेले पनि उनलाई यो गीतकी गायिका भन्ने थाहा पाएपछि वर्षौंदेखि चिनेको प्रिय मान्छेजस्तो व्यवहार देखाएका छन्।
'सार्वजनिक ठाउँमा मलाई देखेर कतिले भनिरहनुभएको हुन्छ, ऊ हेर त सिमसिमे पानी गाउने गायिका!,' रेखा उत्साहसाथ सुनाउँछिन्।
देश-विदेशमा परिचय दिलाउने यो गीतको लय रेखाले आफ्नो गाउँमा भएको छिमेकी दाइको बिहेमा सुनेकी रहिछन्। बिहे भएको साँझ रत्यौली खेल्न जाँदा सबै जना 'सिमसिमे पानीमा ज्यानले बेइमान गर्छौ कि जिन्दगानीमा' गीतको लयमा नाचेका रहेछन्।
रेखाले भनिन्, 'त्यहीबेला सुनेको लय टिपेर मैले शब्द लेखेँ।'
२०४९ सालमा पहिलो पटक प्रतियोगितामा रेखाले यो गीत गाइनसक्दै ताली र सिटी बजाउँदै दर्शकले 'वान्स मोर' भने। १६ वर्षे उनी काठमाडौं आएको धेरै भएको थिएन। रेडियो नेपालमा प्रस्तुति दिनेबेला पहिल्यै डराएकी उनी दर्शकको प्रतिक्रियाले थप 'नर्भस' भइन्।
उनले नजिता आउने दिन मुटुको धड्कनको गति सुनाउँदै भनिन्, 'ढुकढुकी एकदमै बढेको थियो।'
प्रतियोगिताका विजेताको नाम तेस्रो स्थानबाट सुनाउन सुरू भएको थियो। उनको नाम आएन। उनले दोस्रो भएँ कि भन्ने सोचिन्। दोस्रोमा पनि अर्कै कलाकारको नाम भनियो।
त्यत्रो मानिसले मन पराए पनि तेस्रो र दोस्रो स्थानमा आफ्नो नाम नआउँदा उनी थप डराइन्।
'मुटु ढुकढुक ढुकढुक गरिरहेका बेला उद्घोषकले पहिलो हुनुभएको छ रेखा शाह भन्नुभयो,' अनि उनले आफैंलाई 'वाउ' भनिन्।
त्यसपछि गीत रेडियो नेपालमा प्रत्यक्ष रेकर्ड भयो। विजेता कलाकारले म्युजिक नेपालमा गीत रेकर्ड गराउने र एल्बम निकाल्ने सुविधा पाउँथे। रेखाले त्यो अवसर पाइन्।
उनका अनुसार त्योबेला दोहोरीको चलन भएकाले धेरै गीत सामूहिक रूपमा रेकर्ड गरियो। रेखासहित प्रेमराजा महत र साथीहरूको स्वरमा गीत रेकर्ड भयो। गीतले ऐतिहासिक चर्चा पायो।
रेखाले लोभलाग्दो चर्चा बटुलेको यो गीत सुनेर धेरैले भने, 'सानो उमेरमै ठूलो नाम कमायौ।'
रेडियो नेपालमा प्रथम हुँदा रेखाले तत्कालीन सूचना तथा सञ्चारमन्त्री विजयकुमार गच्छदारको हातबाट पाँच हजार नगद र प्रमाणपत्र पाएकी थिइन्। यही गीतको चर्चाले सबभन्दा कम उमेरमा उनी छिन्नलता पुरस्कार पाउने गायिका पनि बनिन्।
यति मात्र होइन, रेखा यही गीत सुनाउन अमेरिका, हङकङ, मलेसिया, दुबई, कतार, अस्ट्रेलियासम्म पुगिन्। काठमाडौं र पोखरामा 'सिमसिमे नाइट' नामबाट ठूला कन्सर्ट भए जसलाई उनी ठूलो उपलब्धि मान्छिन्।
रेखाको अनुभवमा सिमसिमे पानीमा यस्तो गीत हो, जुन गाउँदा पूर्वीभेगदेखि सुदूरपश्चिमसम्मका स्रोताले 'वान्स मोर' भनेका छन्।
उनले भनिन्, 'सिमसिमे पानीमा गाउँदा वान्स मोर नआउने कुरै हुँदैन। विदेशमा भएका नेपाली राजदूतहरूले समेत यो गीतकी गायिकाका रूपमा मप्रति सम्मान र माया देखाउनुभएको छ।'
अडियो क्यासेटको जमानामा निस्किएको सिमसिमे पानी हालसम्म विभिन्न भर्सनमा सार्वजनिक भइसक्यो। यसको रिमिक्स भर्सनमा डिजे एलएक्सको संगीत संयोजनमा रेखाकै स्वर सुन्न पाइन्छ। रिमेक भर्सनमा मोडलिङसमेत गरेर उनले थप चर्चा कमाएकी थिइन्।
नयाँ भर्सनहरूकै कारण पनि सिमसिमे पानी फरक पुस्तामाझ पुगिरहेको छ। फरक स्वादमा प्रस्तुत हुँदै आएको यो गीतका भर्सनबाट रेखाको भने अझै चित्त बुझिसकेको छैन।
उनले कुराकानीकै क्रममा यसको नयाँ भर्सनका लागि भारतीय टोलीसँग काम अगाडि बढिसकेको बताइन्। भनिन्, 'यो गीतलाई नेपालीपन झल्कने, मादल, सांरगी र अन्य वाद्यवादनसँग फ्युजन गरी भारतीय ग्ल्टिज म्युजिक ग्रुपसँग मिलेर कोक स्टुडियोको शैलीमा प्रस्तुत गर्दैछु।'
यसनिम्ति डोरेमी स्कुलका संगीत शिक्षक भानुभक्त ढकाल र म्युजिक प्रोड्युसर नीतिन चन्दले सहयोग गर्ने भएका छन्। यो भर्सन अन्तिम र अझ विशेष हुने रेखाको दाबी छ।
सिमसिमे पानीबाट रेखाले जति ख्याति पाएकी छन्, उति नै विवादमा पनि ल्यायो। खासगरी लोकगायक प्रेमराजा महत र उनको स्वरमा रेकर्ड भएको गीतको रिमिक्स र रिमेक भर्सन निकाल्ने बेला प्रतिलिपि अधिकारको मुद्दाले बजार तताएको थियो।
रेखाले भनिन्, 'यो गीतको लय र शब्द मेरो भए पनि गायकमा प्रेमराजा महतलगायत कलाकारको नाम जोडिएकाले विवाद भएको हो। तर नयाँ भर्सन निकाल्ने कपीराइट मसँग सुरक्षित छ।'
आगामी दिनमा म्युजिक नेपालबाट गीतको सम्पूर्ण अधिकार आफूमा सार्न अझै छलफल गर्नेसमेत उनले बताइन्। यो गीतबाट रेखाले कतिपय मानिसबाट पनि आरोप झेल्नुपरेको छ।
आरोप हो, 'सिमसिमे पानीमा जस्तो मीठो लोकगीत गाएपछि तपाईंले अर्को लोकगीत गाउनु भएन।'
आफ्नो स्वरले ठेट लोक मिठास बोक्ने विशेषता थाहा भए पनि रेखा सानैदेखि अन्य विधाका गीत पनि गाउन चाहन्थिन्। उनले गुरुदेव कामत र चण्डीप्रसाद काफ्लेजस्ता दिग्गज संगीत गुरुसँग संगीत पनि सिकिन्। कमल खत्रीसँग गाएको युगल गीत 'नजिक छौ तिमी मेरो नजिक छौ', सुगम पोखरेलको संगीतमा गाएको 'एक दिन तिमी फर्कि आउने छौ' रेखाका केही फरक विधाका राम्रा गीत हुन्।
उनी आफैंलाई पनि धेरै मनपर्ने लोकशैलीको अर्को गीत पनि छ। संगीतकार दीपक शर्माको शब्द र संगीतको यो गीत गाएरै सुनाइन्-
सइँ तमी कर्णाली पारि छौ
म छु वारि चुड्या छ तुइन
कलेजामा सइँकै नाम लेख्या
यो भाग्यमा क्या छ खोइ बुझिनँ
आफ्ना केही गीतका उदाहरण दिए पनि स्रोताको आरोपलाई रेखा स्विकार्छिन्। भन्छिन्, 'सिमसिमे पानीमाको चर्चा यति भइदियो, मेरा अरू राम्रा गीतको कम चर्चा हुन्छ। मैले आफ्नै गीत सिमसिमे पानीमाको चर्चा र सफलतासँग २९ वर्षदेखि प्रतिस्पर्धा गर्नुपरेको छ।'
यी पनि पढ्नुहोस्ः गायक बबिन प्रधानलाई हैरान पार्ने २८ वर्ष पुरानो चर्चित गीत
यसरी बनेको थियो हरिवंशको चर्चित गीत 'हाम्री आमा साह्रै नै बाठी छन्'