मिस नेपाल अमेरिकाको १० औं वार्षिकोत्सवका अवसरमा न्युयोर्कमा मिस नेपाल अमेरिका आयोजना गरिने भएको छ।
यही सेप्टेम्बर २३ देखि २५ सम्म न्युयोर्कमा मिस नेपाल अमेरिकाको वार्षिकोत्सव समारोह मनाइने भएको हो।
नेपालकी चर्चित सञ्चारकर्मी, अभिनेत्री, प्रस्तोता, समाजसेवी साथै मिस नेपाल समेत रहिसकेकी माल्भिका सुब्बालाई मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरिएको छ। सुब्बाले प्रतिस्पर्धीहरूको व्यक्तित्व विकास र सौन्दर्य निखार्नमा सघाउनेछिन्।
अमेरिकामा बसोबास गर्दै आएका नेपाली युवतीहरूले मिस नेपाल युएसको आधिकारिक वेबसाइट www.missusnepal.com वा मिस नेपाल युएस २०२१ का आयोजकसँग सम्पर्क गरेर आफ्नो आवेदन बुझाउन सकिने बताइएको छ। आगामी सेप्टेम्बर १ सम्म आवेदन दर्ता गर्न सकिने बताइएको छ।
नेपाली−अमेरिकी सामाजिक उद्यमी अमित शाहले सुरू गरेका मिस नेपाल युएस प्रतिस्पर्धा अमेरिकामा बसोबास गर्दै आएका नेपाली युवाहरूका लागि नेटवर्किङ, सशक्तिकरण, क्षमता प्रस्फुटन र पहिचानका लागि उचित मञ्च बनेको छ।
साथै, यस प्रतिस्पर्धाले नेपाल र अमेरिका दुवै देशको सांस्कृतिक विविधतालाई समेत उजागर गरेको छ।
मिस नेपाल युएस प्रतिस्पर्धाले हालसम्म नेपाली−अमेरिकी महिलाहरूलाई शिक्षा र सशक्तिकरणका निमित्त विभिन्न च्यारिटीमार्फत् ८० हजार डलर्स बराबरको सहयोग प्रदान गरिसकेको छ। त्यसैले पनि यस कार्यक्रमले महिलाहरूलाई छात्रवृत्ति प्राप्त गर्न, आफ्नो नेटवर्क वृद्धि गर्न, जीवनोपयोगी कला अभिवृद्धि गर्न र आफ्नो समुदायमा केही योगदान पुर्याउने अवसर जुटाइदिएको बताइएको छ।