गीतको कथाः
घाम लाग्दा पनि
मानिस छातामुनि
एकछिन के झरी परेथ्यो
मानिस छातामुनि
मानिस छेकिएको छ
मानिस परिधिभित्र छ
मानिस कदापि स्वतन्त्र छैन
गायक लोचन रिजालले आफ्नै शब्द संगीतमा तीन वर्षअघि 'मानिस' बोलको यो गीत सार्वजनिक गरेका थिए। त्यसैताका उनीसँग भएको अनौपचारिक कुराकानीमा आफूलाई मान्छेहरू मनपर्ने भएकाले यो गीत गाएको बताएका थिए।
उनले भनेका थिए, 'जहाँ पुग्दा पनि मलाई सबभन्दा बढी मान्छेहरूले प्रेरित गर्छन्।'
त्यसैले बाटो हिँड्दा उनी हरेक मान्छेको अनुहार नियालेर हेर्छन्।
'फरक फरक मान्छे नियाल्दा आफ्नो देश, परिवेश र समाजको स्थिति थाहा हुन्छ,' उनी भन्छन्।
मान्छेलाई समाज र देश बुझ्ने स्रोत बनाएका लोचनका लागि संगीत मानव समाज, संस्कृति र सभ्यता बुझ्ने माध्यम हो। यसअघि सजीव मान्छेबारे गाउँदै आएका लोचनले हालैको 'स्वतन्त्रताका चित्र' भने निर्जीव वस्तुबारे घोत्लेर बनाएको बताउँछन्।
समाजमा सजीवभन्दा निर्जीव वस्तुको मूल्य बढिरहेको महसुस गरेका लोचनले गीतमा लेखेका छन्–
कहिलेकाहीँ त अदृश्य भई
त्यो तलाउमुनि ढुंगासँग नाता गाँसी
हराउँ लाग्छ मलाई
कहिलेकाहीँ निर्जीव भई
आफैंलाई बेचौं लाग्छ मलाई
निर्जीव वस्तुबारे सोच्ने क्रमबाट सुरू भएको लोचनको चिन्तन निर्जीव र सजीव वस्तुबीचको सम्बन्धमा पुगेर जोडिएको छ। गीत अन्ततः मान्छेकै अस्तित्व र स्वतन्त्रताको जिज्ञासामा टुंगिएको छ। स्वतन्त्रताका चित्रलाई लोचनको मनोसंवाद पनि मान्न सकिन्छ। यही संवादका क्रममा उनी भित्ताभरिका तस्बिरका कथा सुनिरहने चाहना अभिव्यक्त गर्छन्।
यो नयाँ गीतबारे उनीसँग त्रिपुरेश्वरको ऐतिहासिक त्रिपुरासुन्दरी मन्दिरमा कुराकानी भएको हो।
त्रिपुरासुन्दरी परिसरमा हाल काठमाडौं विश्वविद्यालय (केयु) ले भुइँचालोमा जीर्ण भएको मन्दिर पुनर्निर्माण गरिरहेको छ। केयुले एथ्नोम्युजिकोलोजी विभागका लागि यो ठाउँमा नयाँ संरचना पनि बनाइरहेको छ। यस कामको नेतृत्व केयु संगीत विभाग प्रमुखसमेत रहेका लोचनले सम्हालेका छन्।
'काम धेरै अगाडि बढिसक्यो। अब फेरि संगीतमा अलि बढी सक्रिय हुनेछु,' उनले भने।
नयाँ पक्की भवनहरू बनिरहेको यो ठाउँमा लोचन र केयुका केही कर्मचारी टिन र काठले बारेका टहरामा बस्छन्। लोचन आफू मात्र अटाउने एउटा साँघुरो कोठामा बस्छन्। त्यहीँको अलि फराकिलो कोठामा विश्वविद्यालयका काम गर्छन्।
स्वतन्त्रताको चित्र गीत त्यही साँघुरो कोठामा जन्मिएको हो।
पुनर्निर्माण काममा व्यस्त उनको दुई वर्षअघिको 'तिमी र म' पछि नयाँ गीत सार्वजनिक भएको थिएन। तर पनि लोचनसँग 'कुराकानी', 'आऊ हामी', 'साथी' लगायत थुप्रै गीत तयार थिए। तर उनले हालै लेखेको ताजा स्वतन्त्रताका चित्र नै सार्वजनिक गरे।
लोचनको आफ्नो युट्युब च्यानलबाट सार्वजनिक यो गीतको शब्द-संगीत रचेको केही साता मात्र भएको छ। गीतमा शब्द, संगीत र आवाजबाहेक भिडिओ पनि उनी आफैंले खिचेर सम्पादन गरेका हुन्।
संगीतबद्ध भइरहेका बेला लोचनले आफ्नो साथी तथा साउन्ड इञ्जिनियर रजत सिंहले सानेपामा एफइएम रेकर्ड्स नामको स्टुडियो खोलेको थाहा पाए। रजतसँग पहिला पनि सहकार्य गरेका लोचनले साथीको नयाँ स्टुडियोमा गीत रेकर्ड गर्दा एकअर्कालाई प्रोत्साहन हुने सोचे।
'स्वतन्त्रता गीत ताजा थियो। तात्तातै रेकर्ड गर्दा फिल पनि आउने सोचेर यही रोजेँ,' उनले भने।
अरबाजो, सारंगी, नेवार समुदाय विशेष बाजाहरूको प्रयोग लोचनको सांगीतिक पहिचान हो। 'चेतना', 'सुखदुःख', 'पौरखी', 'समाज', 'तिमी र म', 'हामी नेपाली', 'पाइलाहरू' जस्ता गीतमार्फत् लोचनले नेपाली बाजालाई नयाँ पुस्तामा लोकप्रिय बनाउन योगदान दिएका छन्।
धेरैका लागि लोचनका गीत भन्ने बित्तिकै रैथाने बाजासहितको गीतको छाप परिसकेको छ। तर स्वतन्त्रताका चित्र गीत लोचनले गितारको धूनमा मात्र संगीतबद्ध गरेका छन्। त्यसैले स्वतन्त्रताका चित्र अलग सुनिन्छ।
यसपटक गितार रोज्नुको कारणबारे लोचनले भने, 'प्रायः आफ्नो नजिकै जुन बाजा हुन्छ, म त्यसमै कम्पोज गर्छु। स्वतन्त्रताका चित्र कम्पोज गर्ने बेला मेरो साथमा गितार थियो। अरू बाजा भएको भए सायद अर्कै बाजामा कम्पोज हुन सक्थ्यो।'
कहिलेकाहीँ स्वतन्त्रताका चित्रहरू कोरौं लाग्छ मलाई
निराशाका सबै पर्खालहरू तोडौं लाग्छ मलाई
संगीतमा नवीन प्रयोग गर्न नहिचकिचाउने उनले परम्परागत अभ्यासका पर्खाल भत्काउँदै आएका छन्। एउटै गीतमा घरी मोटो र घरी पातलो आवाज निकालेर गाउने उनी आवाज र अभिव्यक्ति शैली पनि बाजासरह भएको मान्छन्।
यी सबै विशेषता भेटिन्छन् स्वतन्त्रताका चित्रमा।
केयुबाटै एथ्नोम्युजिकोलिजीमा स्नातकोत्तर गरेर अमेरिकाको युनिभर्सिटी अफ मासाचुसेट्सबाट एथ्नोम्युजिकोलोजीमै विद्यावारिधि गरेका लोचनको पृष्ठभूमि पप, रक संगीत नै हो।
कविताजस्तै यो नयाँ गीतबारे उनले भने, 'बाजा हाबी नहोस् भन्न पनि गितार रोजेको हुँ।'
उनका अनुसार बेस, रिदम र मेलोडीका लागि गितार उपयुक्त बाजा हो। यसबाहेक अर्को कारण झनै रोचक रहेछ।
झन्डै १५ वर्षअघि 'कोमा' एल्बम रेकर्डिङ बेला उनले मनोहर ज्ञवालीबाट दुइटा गितार उपहार पाएका थिए। यसअघि उनले गितार उपहार पाएकै थिएनन्।
'जीवनमै पहिलो पटक गितार उपहार दिने व्यक्ति मनोहर दाइ हो। त्यति मायाले दिएको गितारमा गीत कम्पोज गरौं भन्ने लागिरहेको थियो,' उनले पछिल्लो एल्बम काँचो आवाजमा मनोहर शीर्षकको गीत पनि बनाएका छन्।
उनका अनुसार यो गीत एक टेकमा लाइभ रेकर्ड भएको हो।
सामान्य अवस्थामा उनी बेलाबखत स्वदेशी-विदेशी मञ्चमा प्रस्तुति दिइरहेका हुन्थे। महामारीयता स्रोताअगाडि गाएका छैनन्। तर उनलाई स्टुडियो पनि स्टेजजस्तै लाग्छ। अझै केही लाइभ रेकर्ड गर्ने इच्छा पनि छ।
उनी गीत नै सिर्जना गर्छु भनेर दबाबमा काम गर्दैनन् रे। अधिकांश गीत कुनै खास मुडमा बाजासँग खेल्ने क्रममा शब्द सोच्दै बनाएका छन्। संगीत र शब्द सँगसँगै बग्नुअघि गीतको खाका भने बनाएका हुन्छन्। गीत बनिसकेपछि केही शब्द यताउति सार्छन्। अनि नजिकै जो छ, उनैलाई सुनाउँछन्। स्वतन्त्रताका चित्र उनले सुरूमा केयुका साइट सुपरभाइजर सुशील राजभण्डारीलाई सुनाएका थिए।
लोचनकी श्रीमती सुजाना र पाँच वर्षे छोरी जननी धुलिखेल बस्छन्। उनी धुलिखेल आउजाउ गरिरहन्छन्। रेकर्ड गर्नुअघि उनले यो गीत श्रीमती र छोरीलाई पनि सुनाए। सुनेपछि छोरीले भनिन्, 'फेरि गाऊ न।'
यही गीत लेख्ने क्रममा लोचनले स्वतन्त्रताको आफ्नै परिभाषा पनि भेट्टाएका छन्।
उनी भन्छन्, 'मान्छेहरू र खास गरी हामी नेपालीको जीवन स्वतन्त्रताको चाहनामा बित्ने रहेछ। सोच्दै जाँदा स्वतन्त्रता भनेकै जीवन सहज बनाउने चाहना र शान्तिको खोजी हो कि जस्तो लाग्यो। हामीले गर्ने संघर्ष यसकै लागि त होला।'
मान्छेका जीविका र मनोविज्ञानसँग जोडिएका यस्तै संघर्षबारे हेर्ने, बुझ्ने प्रयत्नमा यो गीत बनेको उनको भनाइ छ। मान्छे र समाजसँग गाँसिएको आफ्नो अनुभव प्रत्यक्ष-अप्रत्यक्ष रूपमा गीत आएको हुन सक्ने उनी बताउँछन्। त्यसैले यसलाई उनी कल्पना नभनेर भोगाइ भन्छन्।
लोचन हरेक गीत वा सिर्जनामा निश्चित समय कैद हुनुपर्ने मान्यता राख्छन्। लकडाउनको समयमा लेखिएको यो गीतमा उनले भनेको समय कसरी कैद भएको छ त?
'महामारीले हामी सबैलाई दुःख दियो। अझै दिइरहेछ। मलाई पनि कोरोना भएको थियो। तर यो समयले हामीलाई आफ्नै प्रतिविम्ब हेर्न र सोच्ने अवसर पनि दियो।'
यही क्रममा उनले संसारमा आफ्नो पहिचान खोजेर बाँच्नु उचित कि आफ्नो पहिचान आफैंले गरेको राम्रो भनेर आफैंलाई प्रश्न गर्न भ्याए।
जवाफमा व्यंग्यात्मक शैलीमा लेखे-
कहिलेकाहीँ त आफ्नै मूर्ति बनाइ
माल्यार्पण गरी, ताली बजाइ
नाचौं लाग्छ मलाई...