गायक प्रताप दासले शिल्पा थापालाई इन्स्टाग्राम र टिकटकमा देखेका थिए। शिल्पाले अरूले जस्तै प्रतापलाई गायकका रूपमा सुनेकी थिइन्।
केही महिना अघिसम्म यी दुई एकअर्कालाई प्रत्यक्ष रूपमा चिन्थेनन्। अहिले यी दुईलाई सँगै भेट्दा उनीहरू वर्षौं पुराना साथी रहेछन् भन्ने लाग्न सक्छ।
भर्खरै सार्वजनिक आफ्नो नयाँ गीत 'बाफ' बारे कुराकानी गर्न सेतोपाटी आएका यी दुईलाई देख्दा हामीलाई पनि त्यस्तै लाग्यो। बाफको भिडिओमा एकअर्कासँग बाझ्ने र कान निमोठ्ने उनीहरू साँच्चै पनि त्यस्तै छन्। प्रताप र शिल्पाबीच एकअर्काको कपाल भुताल्नसमेत नहिच्किचाउने सम्बन्ध गाँसिइसकेको रहेछ।
यो सम्बन्ध बाफले नै गाँसेको हो। बाफ चर्चित गायक सुजन चापागाईंको स्वर र संगीतमा बनेको गीत हो। सुजनले विद्या तिवारीको साथमा गाएको यो युगल गीतलाई 'आर्टमान्डु'का नवीन चौहानले निर्देशन गरेका हुन्।
नेपाल आइडलको पहिलो संस्करणमा तेस्रो स्थान हासिल गरेर चर्चा कमाएका गायक प्रताप यो गीतमा मोडल बनेका छन्। गायकका रूपमा चर्चा कमाएका प्रतापको मोडल वा अभिनेताका रूपमा यो पहिलो भिडिओ हो।
आफ्ना केही भिडिओमा देखिए पनि प्रतापले यसअघि 'लिपसिङ' मात्र गरेका थिए। कथा र पात्रअनुसार भाव ल्याउने अभिनय गरेका थिएनन्। बाफमा कलाकारका रूपमा उनको अभिनय देख्न पाइन्छ।
'फोटो फिरेम' गायक प्रतापले नेपाली सिनेमामा पनि कयौं गीत गाइसके। एउटा स्थापित गायक अर्को लोकप्रिय गायकको गीतमा अभिनय गर्न कसरी पुगे?
'निर्देशक नवीन दाइको फोन आउँदा सुरूमा मैले सोधेको थिएँ, गीत गाउने हो? तर उहाँले होइन, अभिनय गर्ने भन्नुभयो,' प्रतापले भने, 'राति फोन गर्नुभएको थियो। सपना पो देखेँ कि भनेर बिहान फेरि फोन गरेर सोधेको थिएँ। के देखेर मलाई अभिनयको प्रस्ताव गर्नुभयो भन्ने लागेको थियो।'
नवीनलाई भने प्रतापजस्तै चिनिएको तर अभिनयमा अनुभव नभएको कलाकार चाहिएको थियो। प्रतापलाई आफ्नो अभिनय क्षमतामा शंका भए पनि गायकद्वय सुजन, विद्या, गीतकार हर्कजस्ता नाम जोडिएकाले लोभिए।
'तीनपाते गीतसँगै कथा बोकेको भिडिओ पनि मन परेको थियो। यस्तो समूहसँग काम गर्ने अवसर कसरी नाइँ भन्नू?,' प्रतापले भने।
शिल्पाले भने केही म्युजिक भिडिओमा अभिनय गरिसकेकी थिइन्। आर्टमान्डुको प्रस्ताव उनले धेरै नसोची हुन्छ भनिन्। सुजनको 'गाला पुक्क' र 'तीनपाते' गीत मन पराउने उनलाई प्रतापको 'फोटो फिरेम' पनि उत्तिकै मन पर्थ्यो।
शिल्पाले भनिन्, 'सुजन चापागाईंको गीतमा प्रताप दाससँग काम गर्न पाउनु मेरा लागि ठूलो अवसर थियो।'
फुस्सै उडेँ म बाफ भै
रहिनँ म आफू मै
के के हुन्छ, हुन्छ के के
छैन म थिएँ जे
बाल्यकालदेखि युवावस्थासम्मको प्रेमकथा देखाइएको भिडिओले आर्टमान्डुको यसअघिका 'के माया लाग्छ र', 'तीनपाते' जस्तै माया पाइरहेको छ। सार्वजनिक भएको केही दिनमै ट्रेन्डिङमा परेको गीत हेर्न प्रताप र शिल्पाको नामले पनि धेरैलाई आकर्षित गरेको छ। उनीहरूको काम पनि मन पराइएको छ।
इलामको जौबारी, सन्दकपुरमा छायांकन भएको भिडिओमा पूर्वी नेपाल र भारतको पश्चिम बंगाल सीमा वारि र पारि बस्ने डोल्मा र प्रतापको प्रेमकथा देखाइएको छ।
डोल्मा सानै छँदा उनका बुबा दार्जिलिङबाट होटल व्यवसाय गर्न नेपाल पसेका हुन्छन्। स्थानीय बालक प्रतापसँग डोल्माको मित्रता गाँसिन्छ। उमेरसँगै मित्रता प्रेममा बदलिन्छ। उनीहरूको भाषा, संस्कृति र भावना मिल्छ, देश भने फरक छ।
जब प्रेमको निर्णायक घडी आउँछ, उनीहरूको सम्बन्धमा त्यसको प्रभाव देखिन्छ। निर्देशक नवीनले डोल्मा र प्रताप मार्फत सिमानाका कारण विभाजित उस्तै मान्छेका भिन्नतालाई प्रतीकात्मक रूपमा देखाएका छन्। उनले फेसबुक स्टाटसमा यसै गीतको सन्दर्भमा लेखेका छन्, सोचौं त सिमाना हुन्थेन भने प्रताप र डोल्मा यति तनावमा पर्थे होलान्?'
सिमानाका मुद्दालाई डोल्मा र प्रतापको भोगाइमार्फत् हेर्ने प्रयास गरिएको बाफको केन्द्रमा प्रेम छ। भिडिओमा आञ्चलिकता ल्याउन संगीत, पात्रको बोलीचाली, जीवनशैली र भाषा–परिवेशलाई ध्यान दिइएको छ।
नवीन दार्जिलिङको 'लुक्स' मा सुहाउने महिला कलाकार खोजिरहेका थिए। यही गीतका गीतकार र डोल्माका बुबाको भूमिकामा अभिनय गरेका हर्कले शिल्पालाई उनीसँग जोडेका रहेछन्। गोरखामा जन्मेकी शिल्पाको मंगोलियन लुक्स र बोल्ने शैली पूर्वेलीजस्तै भएकाले उनी छनोटमा परिहालिन्।
किशोर हुँदै परिपक्व युवाका रूपमा देखिएका प्रताप र शिल्पा फरक हुलियामा देखिन्छन्। हुर्किँदो उमेरको रोमाञ्च, संकोच र उमंग चित्रण गर्ने क्रममा उनीहरूको 'केमेस्ट्री' निकै सुहाएको छ।
यही गीतमा काम गर्ने क्रममा उनीहरू एकअर्काका प्रशंसक भएका हुन्।
शिल्पा भन्छिन्, 'उहाँको गीत त मनपर्थ्यो, रमाइलो गर्ने बानी पनि मनपर्यो। उहाँले एकचोटि मुसुक्क हाँसेपछि पुग्यो।'
'किङ अफ स्माइल' नाम समेत पाएका प्रतापको हाँसो उनलाई उत्तिकै मन परेको छ।
प्रताप पनि शिल्पाको व्यक्तित्व र कामबाट प्रभावित छन्।
गोरखाकी शिल्पा र ललितपुरमा हुर्केका प्रतापका सन्दकपुरको परिवेश नयाँ थियो। तर आर्टमान्डु टोलीसँग काम गर्दा दबाब महशुस भएन। दुवैलाई कतै रमाइलो ठाउँ घुमेर आएजस्तो भएको छ।
बाफ गत वर्षको जाडोमा छायांकन भएको थियो। सन् २०२० को भ्यालेन्टाइन्स डे आसपास सार्वजनिक गर्ने सोच भए पनि अडिओको काम ढिला सकियो। काम सकिने बेला दोस्रो लकडाउन भइदियो।
प्रताप र शिल्पालाई त कुर्दाकुर्दा गीतै आउँदैन कि क्या हो जस्तो भइसकेको थियो। अहिले पाएको प्रशंसाले उनीहरूले त्यो सबै बेचैनी बिर्सिसकेका छन्।
बाफमा काम गर्दा सिक्न पाएको र आफ्नै क्षमता बुझेको बताउँछन् प्रताप। शिल्पा पनि यो कामलाई आफ्नो करिअरकै सबभन्दा महत्वपूर्ण अवसर मान्छिन्। भिडिओ हेरेर दुवैलाई सिक्ने ठाउँहरू बाँकी भए पनि राम्रै काम गरिएछ भन्ने लागेको छ। दर्शकबाट पाइरहेका सकारात्मक प्रतिक्रियाले पनि उनीहरू हौसिएका छन्।
बाफ सुनेपछि कसैले भिडिओ कथा, कसैले सुजनको संगीत र आवाज, कसैले विद्याको गायकी, कसैले हर्कको शब्द अनि कसैले प्रताप र शिल्पाको जोडी मन पराइरहेका छन्।
तिम्रै दाँया तिम्रै बाँया ज्यान घुम्छ फनफन्ती
झ्याप्पै ठोकी लाहछाप मायालाई शीलबन्दी...
टिकटक बनाउनेहरूलाई भने बाफका यी हरफ धेरै मन परेको देखिन्छ। बाफ गीतका टुक्रामा बनेका टिकटकको भीडमा तपाईंले प्रताप र शिल्पाकै टिकटक पनि भेट्नुहुनेछ।