गुड फ्राइडे सिनेमा
एकादेशमा एउटा सुन्दर केटा थिए। बुबा बितेपछि उनले आफैं कमाउन धेरै काम गर्नुपर्ने भयो। उनी हरेक दिन काम गर्न जान्थे र लखतरान भएर घर फर्कन्थे।
एकदिन केटाले कामना गरे- म केटी भएको भए यति धेरै काम गर्नु पर्ने थिएन!
उनको कामना सुनेर एक जना विद्वानले केटालाई भने, 'इन्द्रेणीमुनि हिँड्यौ भने केटी केटा र केटा केटी बन्न सक्छन्।'
'इन्द्रेणी भनेको के हो?,' केटाले सोधे।
'पानी परेपछि इन्द्रेणी देखिन्छ,' विद्वानले भने।
यो कथा 'ओसामा' फिल्मकी मुख्य पात्र अनाम बालिकालाई उनकी बुढी हजुरआमाले नयाँ भर्सनहरूमा सुनाइरहन्छिन्। यही कथा ती अनाम बालिकाको जीवनमा मेल खान पुग्छ। कथामा केटा केटी बनेजस्तै फिल्ममा बालिका केटा बन्छिन्।
तर कथामा केटा स्वेच्छाले केटी बन्न चाहेका हुन्छन्। यहाँ बालिका बाध्यताले केटीबाट केटा बन्छिन्। त्यही भएर त केटा बनेको रात काटिएका चुल्ठो गमलामा गाडेर आँखा भिजाउँदै निदाउँछिन्। ती बालिकालाई केटाजस्तै बनाउनु उनकी हजुरआमा र आमाको पनि बाध्यता हो।
सन् २००३ मा बनेको ओसामा अफगानिस्तानमा तालिबानले शासन गरेको समयको कथा छ जुन सन् २०२१ मा आएर फेरि सान्दर्भिक भएको छ।
हालै अफगानिस्तानमा तालिबानको पुनरागमन भएसँगै त्यहाँ मानव अधिकार हनन र लैंगिक विभेदका घटना बढ्ने त्रास छ। तालिबानको पुनरागमनसँगै अफगानिस्तानमा इस्लाम धर्मको नाममा महिलामाथि हुने नियन्त्रण र शोषणबारे संसारभरका मानिसले चिन्ता व्यक्त गरिरहेका छन्। महिलाप्रतिको तालिबानको विगतको व्यवहारका कारण यस्तो चिन्ता पोखिएको हो।
ओसामामा निर्दोष बालिकाको आँखाबाट तालिबान शासनमा महिला र सर्वसाधरणमाथि हुने दमनको सशक्त चित्रण छ।
यो परिवारका पुरुष सदस्यहरू सोभियत संघको हमला र गृहयुद्धका बेला मारिएका हुन्छन्। तालिबानका कारण उनकी आमाले गर्दै आएको काम छुट्छ। तालिबानले महिलाले काम गर्न नपाउने, पढ्न नपाउने र शरीर ढाक्ने गरी बुर्का लगाउनु पर्नेजस्ता नियम लगाएकाले पुरुषविहीन यो परिवार संकटमा पर्छ।
पुरुष सदस्य नभए दुई छाक खान पनि नपाउने भएपछि बालिकालाई केटा बनाएर काम गर्न पाउने विकल्प रोजिन्छ। सानी बालिकालाई बालकका रूपमा घरबाहिर काम गर्न पठाउने बाहेकको विकल्प देख्दैनन्।
तर केटा बन्दैमा सबै कुरा कहाँ ठिक हुन्छ र?
बालिकालाई घर र वन दुबैतिरको बाघको डर हुन्छ। यो डर फिल्ममा मुख्य पात्रको भूमिका निर्वाह गरेकी मरीनाका आँखा र हाउभाउमा मज्जाले प्रकट भएको छ।
डराइ-डराइ उनी एउटा पसलमा काम गर्न थालेपछि केही समयका लागि समस्या टरेजस्तै हुन्छ। तर यसैबेला तालिबानले स्थानीय बालकहरूलाई प्रशिक्षणका लागि मदरसा लैजाने क्रममा ती बालिका पनि पर्छिन्। केटाहरूको भीडमा एक मात्र केटी भएकाले उनको परिचयमाथि शंका गर्नेहरू बढ्छन्। एकाध पटक सडकमा मागी हिँड्ने इस्मान्दी नाम गरेका बालकले उनलाई बचाउँछन्।
ती बालिका केटी नभएर केटा नै भएको विश्वास दिलाउने क्रममा उनले भन्छन्, 'ऊ केटा हो र उसको नाम ओसामा हो।'
ती बालिकालाई ओसामा नामले बचाइराख्ला? यो जानकारीका लागि पूरै फिल्म हेर्नुपर्ने हुन्छ।
कलिलो उमेरकी बालिकाले भोगेका त्रासदीको कथालाई फिल्ममा फराकिलो सन्दर्भमा देखाइएको छ। खास गरी अफगानी महिलाका विभिन्न मुद्दाहरूलाई फिल्मको सुरूदेखि अन्तसम्म प्राथमिकताका साथ देखाइएको छ।
फिल्ममा महिलालाई दिइने भौतिक सजायसँगै उनीहरुमाथि कथित धर्मगुरुले गर्ने यौन शोषणको पाटोलाई पनि मार्मिक रूपमा देखाइएको छ।
निर्देशक सिद्दीक बरमकको ओसामा अफगानिस्तानका चर्चित फिल्ममध्ये एक हो जुन 'गोल्डेन ग्लोब', 'कान्स', 'बुसान' जस्ता प्रतिष्ठित फेस्टिभलमा पुगेर पुरस्कृत भएको थियो।