'थ्री इडियट्स', 'जब वी मेट', 'कभी खुसी कभी गम' जस्ता हिट फिल्ममा महत्वपूर्ण भूमिका निर्वाह गरेकी करिना कपुर बलिउडकी सफल अभिनेत्रीमध्ये पर्छिन्। सशक्त महिला चरित्र भएका फिल्महरुमा उनले प्रशंसनीय अभिनय गरेकी छिन्।
‘कल हो ना हो’, ‘राम–लीला’ जस्ता ठूला प्रस्तावसमेत अस्वीकार गरेकी करिनाले अप्ठ्यारो समय नभोगेको भने होइन। यस्तो समय पनि थियो, जब करिनाले फिल्मका लागि अडिसन दिएपछि उनलाई फिल्मबाट हटाइयो। कोइमोइका अनुसार करिना आफैंलाई केही फिल्महरुमा अभिनय गर्न मन थियो तर विभिन्न कारणले त्यो पुरा हुन सकेन।
शाहरुख खान अभिनीत ‘देवदास’ ती फिल्ममध्ये एक थियो। ‘देवदास’को मुख्य महिला पात्रमा अभिनेत्री माधुरी दीक्षित र ऐश्वर्या रायलाई लिनुअघि निर्देशक सञ्जय लिला भन्सालीले सुरुमा करिनालाई अभिनयका लागि प्रस्ताव राखेको कुरा धेरैलाई थाहा छैन।
फिल्मका लागि करिनाले स्क्रिन टेस्ट समेत दिएकी थिइन्, तर पछि जानकारी नदिई उनलाई हटाइएको थियो। यसले निर्देशक सञ्जय र करिनाबीच मनमुटाव पनि बढाएको थियो। आफूलाई ‘देवदास’मा नलिएको कुराले करिना दु:खी थिइन्। उनले एक अन्तर्वार्तामा सञ्जयले आफूलाई अर्को फिल्ममा लिनैपर्ने बताएकी थिइन्।
‘सञ्जयले मलाई उनको अर्को फिल्ममा लिनु पर्छ। म उनलाई त्यत्तिकै छोड्ने छैन, किनकी म उनको फिल्ममा अभिनय गर्न योग्य छु र यो कुरा उनलाई पनि थाहा छ,’ फिल्मफेयरमा करिनाले बताएकी थिइन्, ‘एक पार्टीमा किरण खेरले मलाई जबरजस्ती सञ्जयसँग भेटाइन्। देवदासमा किरणको पनि अभिनय थियो। सञ्जयले मलाई नभनी फिल्मबाट हटाएका कारण म दुखी थिएँ तर मैले उनलाई कहिल्यै नराम्रो निर्देशक वा उनीसँग काम नगर्ने भनेको छैन। त्यतिबेला म सानै थिएँ र मलाई त्यो फिल्ममा अभिनय गर्न मन थियो।देवदास सञ्जयको अन्तिम फिल्म होइन, उनले मेरा लागि एकल हिरोइन फिल्म बनाउनै पर्छ।’