अभिनेत्री केकी अधिकारीलाई कुनै समय साँझ अबेर घर फर्किन डर लाग्थ्यो। आफ्ना कुरा राख्न र केही काम गर्न पनि धेरै पटक सोच्थिन्।
महिला हिंसा र बलात्कारका घटना सञ्चार माध्यमबाट धेरै पटक सुनेकी थिइन् उनले। ती कुराले रिस र आक्रोश उठ्थ्यो। मनको यही आवेग अभिव्यक्त गर्ने माध्यम बनाइन् कविता।
सानोमा विद्यालयका निबन्ध होस् या वादविवाद प्रतियोगिता, नछुटाई भाग लिने केकीले सन् २०१५ मै लेखेको कविता हो 'ए पुरुष'।
गत बिहीबार बल्ल उनको युट्युब च्यानलमार्फत वाचन र भिडिओ बनेर आयो उक्त कविता। महिला हिंसाविरूद्ध बोल्ने उक्त कविताका केही हरफ यस्ता छन्ः
'टिनको, खरको, कंक्रिटको छानो भएको घरभन्दा अगाडि
मेरो कोख तिम्रो घर थियो
अहंकारले फुल्ने तिम्रो छातीमा पहिलो श्वास त्यहीँ भरेको हुँ
क्रुर तिम्रा पञ्जाहरूको भाग्यरेखा त्यहीँ कोरेकी हुँ
तिमीले हेर्ने आँखा, तिमी उभिने मेरुदण्ड
र तिम्रा पुरुषार्थका प्रत्येक अंग त्यहीँ भित्र हुर्किएका हुन्
ए पुरुष!
म नारी हुँ!
नबिर्स, मेरो कोख तिम्रो पहिलो घर हो।'
सन् २०१५ मा कविता लेखेपछि नै केकीले सामाजिक सञ्जालहरूमा उक्त कविता सेयर गरेकी थिइन्। त्यसका प्रतिक्रियाहरू मिश्रित आएका थिए– केही सकारात्मक, केही नकारात्मक।
'कतिजनाले यसलाई समग्र पुरुषलाई भनिएको हो कि भनेर पनि लिइदिनुभयो। त्यसकारण त्यतिबेला विवादित पनि थियो,' उनले भनिन्, 'अहिले भिजुअल फर्ममा आइसकेपछि यो झन् धेरैमाझ पुगेको छ। त्यही भएकाले धेरै किसिमका बहस छेडिरहेको छ।'
'धेरैकहाँ पुगोस् र बहस छेडोस् भन्ने दोस्रो प्राथमिकताका कुरा हुन्। पहिलो प्राथमिकता भनेको कमसेकम एकजनाको मात्र सोच परिवर्तन हुनु वा एक जनालाई भए पनि छोएर जाओस् भन्ने हो। मेरा लागि पनि कसैले लेखिदिएको छ वा मेरो आवाज कोही भइदिएको छ भन्ने महशुस होस् भन्ने हाम्रो मुख्य उद्धेश्य थियो।'
छ वर्षअघि यो कविता लेख्दा र अहिलेको समयसम्म आइसक्दा समाज धेरै परिवर्तन भएको छ। तर जुन अनुपातमा परिवर्तन हुनुपर्ने हो, त्यो नभएजस्तो केकीलाई लाग्छ। त्यही भएर आजको दिनमा पनि कविता वा कुनै माध्यमबाट उनका मनका कुरालाई छोएर ती बाहिर आउँछन्। र त्यही आक्रोश साथ पुरुषहरूलाई सम्झाइरहेकी छन्, 'नबिर्स, मेरो कोख तिम्रो पहिलो घर हो।'
'कहिलेकाहीँ यस्ता विषयमा लेख्नै नपरे हुन्थ्यो जस्तो लाग्छ। परापूर्वकालमा हुन्थ्यो रे भन्ने इतिहास भइदिए हुन्थ्यो,' उनले भनिन्, 'दुःखको कुरा, यस्ता घटना भइरहेका छन्। र हामी त्यो कविताबाट अगाडि बढ्न सकिरहेका छैनौं।'
भिजुअल फर्ममा कविता आइपुग्दा त्यसका शब्दमा केही हेरफेर गर्ने सोच पनि केकीलाई आएको थियो। तर कतिजनाले उनलाई सुझाव दिए, 'जस्तो छ त्यस्तै ठीक छ।'
त्यसको मर्म पनि मर्छ भन्ने लागेपछि यो सुरूमा लेखिएकै स्वरूपमा आएको उनले बताइन्।
कविताका महिला हिंसाका शिकार भएका छन्। केकी भने यस्तो समाज देख्न चाहन्छिन् जहाँ हरेक महिला र पुरुषबीच समानता छ। महिलाले महिला भएकै कारण गालीगलौज सहनुपर्ने र एउटा सीमिततामा बस्नुपर्ने दबाब छैन।
उनले अहिलेको समाजमा महिलाका लागि काम गरेका पुरुषहरू पनि भेटेकी छन्। जसले 'महिला र पुरुष बराबर हुनुपर्छ' भनेर आफ्नो सारा जीवन समर्पण गरेका छन्। त्यस्ता पुरुषलाई उनी सम्मान गर्ने बताउँछिन्।
'मैले अहिलेको उचाइ पाउनुमा धेरै पुरुषको पनि हात छ। त्यसैले यो कविता समग्र पुरुषलाई इंकित गरेर भनिएको होइन,' उनले भनिन्।
उनकै बुवा बद्री अधिकारी पनि उनलाई उचाइमा पुर्याउने पुरुषमध्ये एक हुन्। आज बुवाको मुख हेर्ने दिनमा उनले बुवालाई समर्पण गर्दै फेसबुकमा यी पंक्ति पनि लेखेकी छन्ः
'बाबा!
मेरो पहिलो शब्द
मेरो पहिलो माया
मेरो पहिलो गुरु
मेरो विश्वास
मेरो आत्मबल
मेरो सबथोक
मेरो बाबा!'
रंगमन्च र फिल्म क्षेत्रमा लागेका उनका बुवाकै कारण केकीलाई सिने क्षेत्रमा आकर्षण बढेको थियो। लेखन क्षेत्रमा पनि उनैको साथ र हौसला मिलेको उनी बताउँछिन्।
'मेरा लेखहरूको पहिलो पाठक बुवा नै हो। गल्ती र लेखन शैली उहाँले नै हेरेर सुधार्नुहुन्छ,' केकीले भनिन्, 'उहाँ एकदम धेरै नेपाली साहित्यका किताब पढ्नुहुन्छ। त्यसैले मैले पढ्ने धेरैजसो किताब पनि बुवाले नै छान्नुहुन्छ।'
लकडाउनले केकीलाई बुवासँग अझै नजिक हुने अवसर दिएको थियो। सानामा बुवाले उनलाई दन्त्यकथाहरू सुनाउँथे। घरमा कथा सुनाउने संस्कृतिजस्तै थियो। तर काममा व्यस्त हुँदै जाँदा त्यो संस्कृति उनको स्मृतिबाट बिस्तारै ओझेल हुन थाल्यो।
लकडाउनले त्यो समयमा ज्युने अवसर फेरि दिएको बताउँदै केकीले भनिन्, 'सानामा सुनेका धेरै कथा बिर्सिसकेकी रहेछु। कतिपय कथा त यति चाखलाग्दा थिए। तिनलाई दन्त्यकथाको सिरिज नै बनाउन सकिन्छ भन्ने लागेर काम पनि द्रुत गतिमा बढाएको थिएँ।'
अहिले भने दन्त्यकथाको काम थाती छ। फिल्म 'बोक्सीको घर' मा अभिनय गर्न व्यस्त भएपछि उनले त्यो काम पर सार्नु परेको हो।
'कलाकार भएपछि जतिसक्दो यथार्थको नजिक भएर काम गर्नुपर्छ' भन्ने ठान्ने केकीले यो फिल्मको पात्रमा ढल्न कपाल मुण्डन गरेकी थिइन्। त्यही फिल्मका लागि भनेर उनले अमर न्यौपानेको किताब 'सेतो धर्ती' दोहोर्याइ/तेहेर्याइ पढिन्। किताबमार्फत बालविवाह र बालविधुवाको कुरालाई अझै नजिकबाट बुझ्न मद्दत पुग्छ भन्ने उनले ठानेकी थिइन्।
योसँगै उनी आफ्ना दुई फिल्म 'परदेशी-२' र 'झिंके दाउ' रिलिजको समय कुरिरहेकी छन्। 'कमेडी च्याम्पियन' कार्यक्रमकी निर्माता उनलाई यसको अन्तिम प्रतिस्पर्धाको पनि प्रतीक्षा छ।
आफूले लेखेको कविता मात्र होइन, गरेका काम पनि समाजका लागि उपयोगी होऊन् भन्ने उनी ठान्छिन्। त्यसैले उनले छान्ने फिल्म, म्युजिक भिडिओ या अरू काममा उनी सजग छिन्। आफ्नो सामाजिक सञ्जालमार्फत समाजमा भइआएका कुरिति, विकृति र चित्त नबुझेका कुरा सेयर गर्न र बोल्न धकाउँदिनन्।
यही स्वभावका कारण जिआइजेडले उनलाई महिनावारी स्वच्छता अभियानमा 'गुड विल एम्बेसडर' पनि बनाएको छ। अभियानमार्फत बनाइएको 'नेपाल महिनावारी अभियान' नामक डकुमेन्ट्री पनि उनले आफ्नो युट्युब च्यानलमार्फत सेयर गरेकी छन्।
'कोरोनाको समयमा सन्देशमूलक सामग्री' कस्ता हुन् सक्छन् भनेर केकीले एक वर्षअघि आफ्नो युट्युब च्यानल सुरू गरेकी थिइन्। आफ्नै च्यानल हुनुले उनलाई अहिले स्वतन्त्रता दिएको छ नै, आफू कसरी अरूको आवाज बन्न सक्छु भन्ने कुरामा पनि उनी सजग छिन्।
'युट्युब भनेको हामीलाई जिम्मेवार रहन जरूरी भएको बताउने च्यानल पनि रहेछ। आफ्ना दर्शकसँग नजिक बनाउने माध्यम रहेछ। यसले मलाई पब्लिक फिगरका रूपमा आफ्नो जिम्मेवारी र दायित्व पनि बोध गराइरहेको छ,' उनले भनिन्।
आगामी दिनमा सामाजिक विषयसँगै आफ्ना रूचिका विषय पनि युट्युबमार्फत सेयर गर्न चाहन्छिन्। अहिले त उनी कविता 'ए पुरुष' को प्रतिक्रियामै रमाएकी छन्। नोटबुकमा मात्र सीमित यस्तै कविता र भावनालाई भिजुअल माध्यमबाट सार्वजनिक गर्ने पनि उनको चाहना छ।
'ए पुरुष मेरो पहिलो कविता वाचन थियो। वाचनमा मैले धेरै होमवर्क गर्नुपर्छ भन्ने महशुस गरेकी छु,' उनले भनिन्।