स्टेजमा थारू भेषभुषामा सजिएर कलाकार उक्लिए लगत्तै भाषण सुनिरहेका मानिसहरू चनाखो भए। नागरिक कलाकारले मानिसलाई नै मञ्चमा हल गोरूको रूपमा प्रयोग गरि खेत जोतिरहेको दृष्यले सबैको ध्यान तानेको थियो।
हलमा उपस्थित अधिकांशले आ–आफ्ना मोबाईल तेर्साए। तस्बिर र भिडियोहरु खिच्न सुरू गरे।
दृष्यमा थारू समुदाय वर्षायाममा ‘पच काले..’, बाउँ लाले...’ भन्दै खेत जोत्दै थिए। केही बेरपछि उनीहरूले रोप्नका लागि तयार पारेपछि रोपाहार मञ्चमा उक्लिए।
चौधरीको मौलिक भेषभुषामा सजिएका महिला मौलिक गीत गाउँदै धान रोप्न थाले। त्यो जीवन्त अभिनयले धेरैलाई गाउँ घरमा थारू समुदायको काम गर्ने शैली, उनीहरुको रहनसहन र जीवन शैलीको झल्को दिलायो।
त्यहीँ क्रममा एक जना जमिनदार आफ्ना सहयोगीका साथ मञ्चमा उक्लिए। ती सहयोगी आफ्ना मालिकलाई छाता ओढाउँदै पछिपछि लाग्थे।
जमिनदारको गर्जनले खेतमा आफ्नै सुरले काम गरिरहेका चौधरी परिवार विचलित भयो। ती मालिकले भने, ‘है, तिमीहरूले किन खेत जोतिरहेका छौ। यो कसको खेत हो थाहाँ छ?’
त्यसपछि मालिकलाई छाता ओढाउँदै हिँडेको सहयोगी कुर्लिए- ए, थारू तँलाई थाहा छ, यो जग्गा हाम्रा मालिकको हो।’
त्यसपछि मालिक फेरि गर्जिए- लौ, पूर्जा देखा ... । सहयोगीले तुरून्तैं पूर्जा देखाइदिए।
सिधासाधा ती थारू समुदायका ब्यक्ति अलमलमा परे। त्यही मौका छोपेर मालिकले एउटा प्रस्ताव राखे। ‘यो खेत जोत्ने भए तैंले एउटा काम गर्नुपर्छ।’
थारू समुदायका ती ब्यक्तिले हत्त न पत्त सोधिहाले- के मालिक?
मालिकले भने- तैले तेरो छोरीलाई मेरो घरमा कमलहरी बस्न पठाएपछि मात्रै यो खेतमा बाली लगाउन पाउँछस्।’
त्यो खेत जोत्न नपाए त्यो थारू परिवार भोकै पर्ने अवस्था थियो। खेत जोतिरहेका थारू समुदायका मानिसले माघीपछि छोरीलाई मालिकको घरमा कमलहरी बस्न पठाउने बाचा गरे।
माघी आयो। मौलिक कला र संस्कृतिमा धनि थारू गाउँमा फेरि परम्परागत रूपमा हुने गीत संगीत घन्किए। उल्लासका साथ माघी मनाए। दोस्रो दिन नै मालिकसँग गरेको बाचा अनुसार ती थारूले आफ्नी छोरी कमलहरी बस्न पठाउन खोजे।
नाबालिका छोरीले बिलौना गरि जान्नँ भन्दाभन्दै उनका आमा बाबुले जोर जवरजस्ती मालिकको घरमा छोरीलाई पठाए।
मालिकको घरमा पुगेपछि मालिकनीले ती कमलहरी बालिकालाई अडर दिइन्- ‘त भान्सा भित्र पस्न पाउँदिनस्। कुनै सामान ल्याए भान्सा बाहिरै छोड्नू। हामीले प्रयोग गर्ने पानी धारा छुन पाउँदिनस्। कुँवा मात्रै छुन पाउँछेस्।’
ती बालिकालाई मालिकनीले बिभिन्न अप्ठेरा काममा दलाइन्। बालिकाहरू रात दिन पीडा भोगेर भए पनि त्यहाँ बस्न बाध्य थिए। कथामा विगतमा जमिनदारले थारू समुदायमाथि गरिने विभेद र थिचोमिचो जीवन्त रूपमा प्रस्तूत गरिएको थियो।
***
मुलुकमा दश वर्षसम्म चलेको सशस्त्र द्वन्द्व र त्यसले सर्वसाधारणको जीवनमा पारेको प्रभावलाई नाटकमा देखाउँदा धेरैका आँखा रसाएका थिए।
द्वन्द्वमा सुराकी भन्दै छोरा र पतिलाई जबरजस्ती उठाएर लगेको। निहत्या उनीहरूलाई बिना कारण हत्या गरेपछि त्यो परिवारले खेप्नु परेको आर्थिक, सामाजिक र मनोवैज्ञानिक असरलाई कलाकारले जीवन्त ढंगले प्रस्ततु गरे।
द्वन्द्वको समयमा सुरक्षाकर्मीले माओवादी भएको आरोपमा र माओवादीले सुराकीको आरोपमा सर्वसाधारणलाई अनाहकमा कसरी बर्बतापूर्वक हत्या गरे? त्यसले उनीहरुका आश्रित परिवारको कस्तो असर पर्यो भन्ने कलाकारको प्रस्तुतीले सबैका आँखा भरिएका थिए।
नाट्य संवादमार्फत कलाकारले हत्या हिंसाबाट कहिलै देशमा शान्ति नहुने हुँदा आपसी मेलमिलाप र सदभावको भावना समाजमा हुनुपर्छ भन्ने निचोड प्रस्तुत गरेका थिए।
***
यस्तै उनीहरूले कोरोना महामारी र त्यसबाट सर्वसाधारणले भोग्नुपरेका पीडालाई पनि नाटकीय रूपमा प्रस्तुत गरेका थिए।
महामारीको समयमा मन्त्री र उनका आफन्तको ज्यान जोगाउन अस्पतालबाट सर्वसाधारणलाई निकालिएको, उनीहरूले बेड नपाएको, बेड पाए पनि अक्सिजन सिलिण्डर नपाएर छटपटाउँदै मृत्युको मुखमा पुगेको कारूणिक दृष्य प्रस्तुत गर्दा धेरैले मन थाम्न सकेनन्।
दर्शकदिर्घामा बसिरहेका कतिपय मानिसहरु सुँक्क सुँक्क गर्दै आँशु पुच्छै रोइरहेका देखिन्थे।
स्थानीय नागरिक कलाकारले यी तीन विषयमा प्रस्तुत नाटक तुलसीपुरकै (समुदायका) मानिसहरुले भनेका कथा ब्यथालाई जीवन्त प्रस्तुत गरेका थिए। सम्बन्धित क्षेत्रका पीडित ब्यक्तिसँगको छलफल पछि उनीहरुकै कथामा रूपमा प्रस्तुत गरेका थिए।
केही समय पहिले छोरी चेलीलाई जमिनदारको घरमा कमललरी बसाएका अभिभावक, माओवादी द्वन्द्वका समयमा लडेका घाइते लडाकु, कोरोनापछि अस्पतालमा बेड नपाएर आफन्त गुमाएका पीडित सर्वसाधारण दर्शकदिर्घामा थिए।
***
सामाजिक एकता तथा सद्भावका लागि चौतारीले करिब ७ वर्षदेखि विजौरी र मानपुर समुदायमा नाट्य संवादमार्फत मेलमिलाप तथा एकताको काम गर्दै आएको हो। हालसम्म एक सय भन्दा बढी नाटक प्रस्तुत गरिसकेको आयोजक संस्थाले जानकारी दिएको छ ।
समाजमा हुने विभिन्न सामाजिक, आर्थिक, राजनीतिक, जातिय तथा वर्गिय विभेदमाथि केन्द्रित रहेर उनीहरूले ५ सय भन्दा बढी नाट्य संवाद तयार पारिसकेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले कलाकारिता बिना समाज अगाडि बढ्न नसक्ने तर्क गरे।
नाट्य संवादतमा जीवन्त अभिनय गर्ने सबै स्थानीय कलाकार भएकाले उनीहरु तुलसीपुरको मात्रै नभएर समग्र जिल्लाकै सम्पत्ति भएको मेयर पाण्डेले जिकिर गरे।
समाजका बिकृति, बिसंगतिका बिरुद्ध सशक्त नाट्य विधा देखाउन सके त्यसले कमिकमजोरी सच्याउन तथा समाज रुपमान्तरणमा अहम भूमिका निर्वाह हुने उनले बताए।
कार्यक्रममा जनहित संरक्षण मञ्चका कार्यकारी निर्देशक बाबुराम पौडेल, जिल्ला समन्वय समिति दाङका संयोजक जितेन्द्रमान नेपाली, राप्ती प्रादेशिक अस्पताल विकाश समितिका अध्यक्ष पदमप्रसाद लामिछाने, तुलसीपुर वडा नं. १८ का वडाध्यक्ष माधव वली, दलित अधिकारकर्मी निर्मल नेपाली, नागरिक समाजका कमल गौतम, थारु समुदायबाट नाट्य सम्बादतका लागि कथा दिनेहरु प्रतिनिधि भौनाराम चौधरी, चित्रा धितालको उपस्थिति थियो।