चर्चित भारतीय महिला अधिकारकर्मी तथा लेखक कमला भासिनको निधन भएको छ।
शनिबार बिहान ३ बजे उनको निधन भएको अभियन्ता कविता श्रीवास्तवलाई उदृत गर्दै इन्डियन एक्सप्रेसले जनाएको छ ।
७५ वर्षीया भासिन क्यान्सर रोगबाट पीडित थिइन्। भासिनको निधनले भारत र दक्षिण एसियाको महिला आन्दोलनमा धक्का पुगेको भन्दै कविताले कठिन परिस्थितिका बाबजुद पनि उनले जीवनलाई खुसीसाथ बिताएको उल्लेख गरिन्।
उनले लेखेकी छन्, ‘हाम्रो प्रिय मित्र कमला भासिनको २५ सेप्टेम्बर बिहान ३ बजे निधन भएको छ। दक्षिण एसियाली क्षेत्र र भारतमा महिला अभियानका लागि यो ठूलो धक्का हो। कठिनाइबीच पनि उनले सधैं आफ्नो जीवन खुसी साथ बिताइन्। कमला तिमी सधैं हाम्रो हृदयमा रहिरहनेछौ।’
भारतमा मध्यमवर्गीय महिलालाई बाँच्नको लागि निकै कठिन भएको भन्दै भासिनले महिलालाई रोग, भोक र हिंसाबाट पीडित हुनबाट बचाउनुपर्ने अभियान चलाएकी थिइन्।
भासिनको ‘क्यों कि मे लड्की हूँ, मुझे पढ्ना है’ चर्चित कविता छ।