बुटवलकी अंकिता पुनलाई कुकुरसँग डर लाग्थ्यो। यही डरका कारण कुकुरसँग उनी सकेसम्म टाढा बस्थिन्।
एक पटक काठमाडौं आएका बेला उनले कुकुर भएको आफन्तको घरमा केही दिन बिताइन्। त्यस घरमा भएको कुकुरसँग उनको आत्मीय सम्बन्ध गाँसियो।
बुटवल फर्केपछि उनले त्यही बेलाको अनुभूतिलाई समेटेर गीत लेखिन्– चार दिन, चार जुनी। गायिका अंकिताले लेखेको त्यही गीत आज बिहिबार युट्युबमार्फत सार्वजनिक भएको छ। गीतमा मिक्सिंग र मास्टरिङ दिवस गुरुङले गरेका छन्।
गायिका अंकिताको 'माइँली' एल्बममा समावेश यो पहिलो गीत हो। यस गीतसँगै औपचारिक पहिलो गीत सार्वजनिक गरेकी अंकिताको यो गीत पूर्वाञ्चल रक्स र मिडिया पोर्टको सहनिर्माणमा सार्वजनिक भएको हो।
अभिषेक सुवेदीको निर्देशनमा बनेको गीतको भिडिओमा एउटी बालिकाको कुकुरसँगको आत्मीय सम्बन्धलाई सुन्दर कथाका रुपमा देखाइएको छ। भिडिओमा यो कथा सानी बालिकाको दृष्टिकोणबाट चित्रण गरिएको छ।
'बिजुली मेसिन' फिल्मका कलाकार अभिषेकको यो डेब्यु निर्देशन हो। भिडिओमा बालकलाकार आर्या श्रेष्ठ, चन्द्रध्वज लिम्बू, तुलसा लिम्बू र कुकुर सुमोको अभिनयलाई कलाकारका रुपमा देख्न सकिन्छ।
पूर्वी नेपालको मोरङ र झापाका केही ठाउँमा छायांकन भएको यो भिडिओको रंग संयोजन लोभलाग्दो छ। सिनेमेटोग्राफर मिसेक लिम्बूको छायांकन रहेको भिडिओ सम्पादन र रंग संयोजनको काम अर्जुन कार्कीले गरेका हुन्।
अंकिताको यो भिडिओसँगै पूर्वाञ्चल रक्स र मिडिया पोर्टबीच लामो सहकार्यको यात्रा आरम्भ भएको छ।
फेसबुकबाट सुरु भएको पूर्वाञ्चल रक्सले पूर्वी नेपालको संगीत र कलाकारलाई बाहिर ल्याउन विभिन्न सांगीतिक गतिविधि सञ्चालन गर्दै आएको छ। मिडिया पोर्टले भने भिजुअल प्रोडक्सन अन्तर्गत लामा, छोटा फिल्म र भिडिओ निर्माण गर्छ।
यी दुवै समूह मिलेर श्रव्य दृश्य विधामा नयाँ पुस्तालाई प्रोत्साहन गर्ने उद्देश्यले संगीतकार, कलाकार र रेकर्डिङको दीर्घकालीन सहकार्य गर्ने रेकर्ड लेभल सुरु गरेका हुन्।
मिडिया पोर्टका संस्थापक प्रवीण कार्कीले भने, 'मिडिया पोर्ट र पूर्वाञ्चल रक्सबीच पचास वटा भिडिओ बनाउने सम्झौता भएको छ। सम्झौता अनुरुप अंकिताका दुई गीतको भिडिओबाट यो काम अघि बढाइएको छ।'
मिडिया पोर्टले करिब दश वर्षदेखि भिजुअल प्रोडक्सनमा काम गर्दै आएको छ। भिजुअल स्टोरीटेलिङमा मिडिया पोर्टले अन्तर्राष्ट्रिय अवार्डसमेत जित्न सफल फिल्महरु निर्माण गरिसकेको छ। द्दया, डम्बरेको डेन्ड्राइड, आमाखान्डो, घनटाउके आदि मिडिया पोर्टको निर्माणमा बनेका फिल्म हुन्।
मिडिया पोर्टका कार्कीका अनुसार नयाँ पुस्तालाई प्रोत्साहन र अवसर दिने उद्देश्यले 'पूर्वाञ्चल रेकर्ड्स' प्रोजेक्ट सुरु भएको हो।
पूर्वाञ्चल रक्सका संस्थापक अध्यक्ष रोहन लिम्बूले भने, 'काठमाडौंमा बसेर संगीतमा लाग्ने संगीतकर्मीले संसारभर प्रस्तुति दिने अवसर पाउँछन्। तर बाहिरका प्रतिभालाई अवसर र प्रोत्साहनको खाँचो छ। त्यसैले मिडिया पोर्टसँग सम्झौता गरेर रेकर्डिङको काम सुरु गरेका हौं।'
पूर्वाञ्चलबाट सुरु भएको पूर्वाञ्चल रक्सले नेपालभरका कलाकारलाई समेटिने बताए। यसपछि गायिका अंकिताकै 'माइँली' एल्मब अन्तर्गतको नयाँ गीत सार्वजनिक गर्ने तयारी पूरा भइसकेको उनले जानकारी दिए।