बलिउडका स्थापित निर्देशक सुरज बडजत्याले निर्देशन गर्ने आगामी फिल्म 'उचाइ'को छायांकनका लागि भारतका चर्चित कलाकारहरु नेपाल आएको खबर अहिले चर्चामा छ। यो फिल्मका मुख्य कलाकार अनुपम खेर, परिनीति चोपडा, बोमन इरानीजस्ता कलाकार काठमाडौंमा केही समय बिताएर आज बुधबार लुक्ला प्रस्थान गरेका छन्।
'मैने प्यार किया', 'हम आपके है कौन', 'प्रेम रतन धन पायो' जस्ता सफल फिल्मका निर्देशक बडजत्याको यो फिल्ममा केही नेपाली कलाकारहरु पनि जोडिएको जानकारीमा आएको छ।
'उचाइ'मा एक दर्जनभन्दा बढी व्यवसायिक नेपाली कलाकार, प्राविधक र भरियासहित केही स्थानीय पनि जोडिएको नेपालका तर्फबाट फिल्मको व्यवस्थापन गरिरहेको 'थ्रि ह्विलर्स फिल्म प्राइभेट लिमिटेड'का निर्देशक पुष्पराज न्यौपानेले सेतोपाटीलाई जानकारी दिए।
फिल्ममा नेपाली कलाकारहरु परिमिता राणा, सरोज लामिछाने, डम्बर बोहरा, उरुशा जोशी, रमेश बज्राचार्य, तेन्जिङ ग्याचो शेर्पा, निरज मुक्तान, नारायण विश्वकर्मा, आयुश सुवेदी, स्नेहा अधिकारी, सरोज प्रजु, किस नन्दु सिंह (सिद्धार्थ), आरोन गुरुङलगायत कलाकारले फिल्ममा अभिनय गर्ने निर्देशक न्यौपानेले बताए।
सिर्जना सूत्रका संस्थापक सुवास प्रधानका अनुसार उचाइका लागि नेपाली कलाकारको कास्टिङ छनोटकाे काम सिर्जना सूत्रले गरेको हो। उनले ती कलाकारमा केही बालकलाकारसमेत रहेको जानकारी दिए। फिल्मका लागि छनोट भएका नेपाली कलाकारहरु पनि बुधबार लुक्लाका लागि प्रस्थान गरिसकेका छन्।
उचाइको छायांकन नेपालका पहाडी तथा हिमाली भेगका लुक्ला, नाम्चे, मनाङलगायत काठमाडौं र भारतको मुम्बईमा हुनेछ। छायांकनका लागि भारतबाट १५० जनाभन्दा बढी क्रु मेम्बर नेपाल आएको बताइएको छ।
धेरै कुरा नखुलाइएको राजश्री प्रोडक्सनको उचाइबारे पाइएको जानकारी अनुसार यो फिल्म मन मिल्ने साथीहरुको मित्रताको कहानी भएको ट्राभल मुभी हो।
फिल्ममा अनुपम खेर, बोमन इरानी र परिणिताबाहेक अमिताभ बच्चन र सारिका हसन महत्वपूर्ण भूमिकामा देखिने छन्।
बलिउडका हरे रामा हरे कृष्णा, जोनी मेरा नाम, महान, युद्ध, घरवाली बहारवाली, खुदा गवाह, लभ इन नेपाल, बेकाबुलगायत फिल्म नेपालमा छायांकन भएका छन्। यो सूचीमा विदेशी भाषााका द गोल्डेन चाइल्ड, सेभेन इयर्स इन तिब्बत, एभरेस्ट- द कन्क्वेस्ट अफ एभरेस्ट, बारालगायत थुप्रै वृत्तचित्र र फिचर फिल्मको नाम थप्न सकिन्छ।