अहिले संसारभर फिल्म-सिरिज पारखीहरूको मुखमा एउटै नाम झुन्डिएको छ- स्क्विड गेम्स।
दर्शक, पत्रपत्रिकाका मनोरञ्जन विधादेखि विचार स्तम्भमा समेत स्क्विड गेम्सले स्थान पाइरहेको छ। नेटफ्लिक्सको त झन् कुरै नगरौं, यसले अहिलेसम्म आफैं बनाएका सिरिजमध्ये यो सबभन्दा धेरै कमाउने बनेको छ- १४ करोड बढी डलर।
संसारभर तहल्का मच्चाएको दक्षिण कोरियाली सिरिजले मुख्य पात्रहरूको संघर्षपूर्ण जीवनको कथा देखाउँछ। अनि ती कथाभित्र जेलिएका दुःखले उनीहरूलाई कसरी मृत्युको मुखसम्म जान बाध्य बनाउँछ भन्ने देख्न सकिन्छ।
पहिले थोरै यसको कथाको सार बुझौं।
यसमा दक्षिण कोरियाका आममान्छेको कथा देखाइएको छ। विशेषगरी तिनको जो ऋणमा चुर्लुम्म डुबेका छन्। उनीहरूको जीवनमा जेसुकै गरे पनि ऋणबाट त्राण पाउने उपाय हुँदैन। यस्ता मान्छेलाई कुनै खेल खेल्नुपर्ने र जितेमा टन्नै पैसा पाइने लालच दिइन्छ। उनीहरू आफ्नो जीवनका दुःख सम्झेर त्यो खेलमा भाग लिन राजी हुन्छन्।
खेल सुरूमा सामान्यै लाग्छ- केटाकेटीले खेल्ने। जब सुरू हुन्छ, यसले मान्छेलाई मृत्युको बाटोमा हिँडाइरहेको थाहा हुन्छ। मृत्युमा न कुनै संवेदना देखिन्छ, न सहानुभूति।
तर पनि खेलाडीहरू यो खेलमा सहभागी हुन तयार हुन्छन्। उनीहरूलाई आफ्नो जीवनको अँध्यारो कोठाबाट निस्कने उपाय यही खेलमा जित्ने पैसा हो भन्ने लाग्छ। योबाहेक पैसा आउने कुनै बाटो उनीहरूले देख्दैनन्।
यसरी यो सिरिज अगाडि बढ्छ। मान्छे खेल्दै जान्छन्, मर्दै जान्छन्। सिरिज हेर्नेहरूलाई कथा थाहै छ, नहेर्नेहरूलाई सस्पेन्स!
यो लेखमा हामीले स्क्विड गेम्सको समीक्षा गरेका छैनौं। हामी यसबारे दसवटा रोचक कुरा बताउँदै छौं जुन सिरिज हेरेका र नहेरेका दुवैलाई रूचिकर हुन सक्छ। यी जानकारी हामीले 'इन्साइडर' लगायत विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूबाट लिएका हौं।
१. स्क्विड गेम्स नामले अहिले यति चर्चा पाइरहेका बेला तपाईंहरूलाई सुन्दा अनौठो लाग्न सक्छ, यसको नाम पहिले अर्कै थियो। सन् २०१९ सेप्टेम्बरमा सिरिज सार्वजनिक हुने घोषणा गर्दा यसको नाम 'राउन्ड सिक्स' भनिएको थियो।
२. यसका लेखक ह्वाङ डोङ-ह्युकले नेटफ्लिक्ससँग सहकार्य गर्दै पहिलोपटक अन्तर्राष्ट्रिय कम्पनीसँग काम थालेका हुन्। तर ह्वाङले यसमा सन् २००८ देखि नै काम गर्दै आएका थिए। उनले सन् २००९ मा यसको पहिलो ड्राफ्ट सकेका थिए। ह्वाङलाई पहिलो र दोस्रो भाग मात्र लेख्न छ महिनाभन्दा बढी लागेको थियो।
रेडियो टाइम्सलाई दिएको अन्तर्वार्तामा ह्वाङले यो कथा आफैंलाई 'असाधारण र हिंस्रक' लागेको बताएका छन्। दर्शकहरूले यो कथालाई अति नै असामान्य मान्न सक्ने र व्यावसायिक रूपमा सफल हुन नसक्ने उनको अनुमान थियो।
यही कारण होला, उनले यो फिल्म बनाउने पैसा र कलाकार जुटाउन निकै संघर्ष गर्नुपर्यो। ह्वाङले एक दशक जुत्ता खियाएपछि आखिरमा नेटफ्लिक्सले उनको कथालाई दर्शकसामु पुर्याउने बाचा गर्यो।
'कथा लेख्न थाल्दाको र यो सिरिज सार्वजनिक हुने समयबीच थुप्रै अन्तर भयो। संसारमा धेरै कुरा बदलिसकेको थियो। यस्तो भयानक र हिंसात्मक भए पनि यो कथा अबको विश्वले स्वीकार गर्थ्यो,' ह्वाङले कोरिया टाइम्सलाई भनेका छन्।
३. स्क्विड गेम्सलाई ५० मिनेट हाराहारीका नौ भागमा समेटिएको छ। हेरिसक्न ८ घन्टा त लाग्छ नै। तर तपाईंहरूलाई थाहा छ, यसलाई पहिले सिरिज होइन एकाध घन्टाको फिल्म बनाउने सोचिएको थियो।
एक अन्तर्वार्तामा ह्वाङले यो कथा पहिले फिचर फिल्म बनाउने गरी लेखिएको जानकारी दिएका थिए। ह्वाङको कामको पृष्ठभूमिका आधारमा यो कुनै ठूलो कुरा भएन। उनी लेखक र निर्देशक हुन् जसले 'साइलेन्स्ड', 'द फोर्ट्रेस', 'मिस ग्र्यानी' जस्ता हिट फिल्म दिइसकेका छन्। म्युजिकल कमेडी 'मिस ग्र्यानी' अहिलेसम्मकै सबभन्दा सफल कोरियाली फिल्ममध्ये पर्छ।
४. स्क्विड गेम्सबारे ह्वाङले बताएको अर्को रोचक कुरा के भने, यसमा पहिले प्रहरी जून होको भूमिका नै थिएन। सिरिजको मुख्य पात्र से-ब्योकलाई बचाउन जानीजानी हार्ने जी-योङको पनि भूमिका थिएन।
जी-योङको साटो सुरूमा यसमा पुरूष पात्र राखिएको थियो। तर दुई महिलाबीचको बलियो सम्बन्धले कथामा बढी अर्थ राख्छ भनेर महिला नै राखिएको ह्वाङले बताएका छन्।
५. सिरिजमा खेलाइने पहिलो खेलको मुख्य आकर्षण यसमा देखिने ठूलो गुडिया पनि हो। हेर्दा मायालु, काम भयानक!
खासमा यो गुडिया फिल्मले आफैं परिकल्पना गरेको होइन। यस्तै गुडिया सोलबाट करिब तीन घन्टा दुरीमा रहेको सानो सहर जिनसियोनमा छ। स्क्विड गेम्सको सुटिङका लागि यो गुडिया मागिएको र पछि फिर्ता गरिएको बताइन्छ।
कोरियाली सञ्चारमाध्यमका अनुसार यो गुडिया बग्गीहरूको संग्रहालयको ढोकामा राखिएको छ।
६. स्क्विड गेम्समा देखाइएको अर्को कुरा पनि वास्तविक संसारमा भएकै कुरा हो- खेलमा सहभागी हुन प्रतियोगीले सम्पर्क गर्ने नम्बर।
सिरिजमा एउटा रहस्यमयी भिजिटिङ कार्डमा उक्त नम्बर राखिएको छ। जसै सिरिज रिलिज भयो, उक्त नम्बर चलाउने व्यक्तिलाई दिनमा चार हजारभन्दा बढी कल गएको थियो। पछि दक्षिण कोरियाली राष्ट्रपतिका उम्मेदवारले उक्त नम्बर किन्न चाहेका थिए।
७. स्क्विड गेम्सको अन्तिम भागमा टिभी तथा सञ्चारमाध्यममा देखाइएका समाचार वास्तविक हुन्। लेखक ह्वाङका अनुसार उनले सिरिजमा कोरियाली परिवारहरूको सकेसम्म वास्तविक कथा देखाउने प्रयास गरेका छन्। त्यसैले वास्तविक जीवनकै रिपोर्टिङका दृश्यहरू सिरिजमा देखाइएको हो।
सिरिजको उक्त भागमा समाचारवाचक भनिरहेका हुन्छन्, 'देशमा घरायसी कर्जा बढिरहेको छ र यो विश्वव्यापी रूपमै सबभन्दा उच्च हो...।'
ह्वाङका अनुसार यो रिपोर्ट केही वर्षअघिको हो र अहिले कोरोनाका कारण ऋणको भार अझै बढिरहेको छ।
८. से-ब्योकको भूमिकामा सशक्त अभिनय गरेकी जङ हो-यियोनको यो पहिलो अभिनय हो। पाकेटमार युवतीको भूमिका निर्वाह गरेकी उनी पहिले मोडल थिइन्। कोरियाज नेक्स्ट टप मोडलको चौथो सिजनमा देखिएकी उनी 'भोग' पत्रिकाको कभरमा पनि देखिइसकेकी छन्। उनको चर्चा भने स्क्विड गेम्सपछि नै चुलिएको हो।
अहिले उनी धेरै फलोअर हुने कोरियाली अभिनेत्रीमध्ये पर्छिन्। स्क्विड गेम्सका लेखक ह्वाङले जङ हो-यियोनको अडिसन भिडिओ हेर्दा 'भगवानले पठाएको उपहारजस्तो लागेको' बताएका छन्।
'मैले से-ब्योकका लागि जस्तो कलाकार खोजिरहेको थिएँ, जङलाई ठ्याक्कै त्यस्तै पाएँ,' उनले भनेका छन्।
९. स्क्विड गेम्सको अर्को आकर्षण यसमा सहभागीले लगाएको हरियो ट्रयाकसुट पनि हो। अहिले यो लुगाले निकै चर्चा र बजार कमाइरहेको छ। तर यो लुगा खासै राम्रो कपडाले बनेको थिएन। त्यसैले कलाकारहरूलाई निकै समस्या भएको थियो।
'यो लुगा कुनै खेलका लागि बनाइएको थिएन,' ह्वाङले भनेका छन्, 'जिमका पुराना कपडाहरूको जस्तै गुणस्तर थियो भन्दा हुन्छ। तीन सय जनाले यो लुगा लगाउँदा साँच्चै समस्या भएको थियो। सास फेर्न समेत मुश्किल भयो भने केही कलाकारलाई त एलर्जी भएर अनुहारै राताम्मे भएको थियो।'
१०. स्क्विड गेम्समा देखिने अनुहार ढाकिएका सुरक्षाकर्मीहरूको क्रेज पनि कम्ता छैन। अनुहार नदेखिने, गाढा गुलाबी जम्पसुट र पूरै टाउको ढाकिने कालो मास्कमा देखिने यी सुरक्षाकर्मीलाई सुरूमा ह्ववाङले केटाहरूको स्काउट समूहजस्तो देखाउन चाहेका थिए। तर पछि अलि वयस्क पुरुषहरूको समूहजस्तो देखाइयो।
ह्वाङ यी सुरक्षाकर्मीलाई कमिलाहरूको झुन्डजस्तो देखाउन चाहन्थे। उनका अनुसार उनीहरूले लगाएको कालो मास्क परम्परागत कोरियाली मास्कहरूबाट प्रेरित छ। पछि निर्माण टोलीले यसमा हेरफेर गर्दै कमिलाको अनुहारको आकारमा बनाएका हुन्।
त्यस्तै गेम खेलाउने मुख्य नाइकेहरूले जनावरका चहकिला मास्क लगाएका हुन्छन्। यसमार्फत् उनीहरूलाई शक्तिशाली जनावरका रूपमा देखाइएको छ जसले संसारका शक्तिशाली व्यक्तिहरू प्रतिबिम्बित गर्छ।