महानायक राजेश हमालको स्वर रहेको गीत सार्वजनिक भएको छ। काठमाडौंमा बुधबार एक कार्यक्रमको आयोजना गर्दै हमाल पहिलो पटक गायक बनेको गीत सार्वजनिक भएको हो।
करिब दुई महिनाअघि दीपक शर्माको शब्द र संगीतमा ‘मन बुढो भएन...’ बोलको गीतमा एलिना चौहान, सुवास पुरी र बेनिशा पौडेलले हमाललाई साथ दिएका छन्।
नरेन्द्र वियोगीले एरेन्ज गरेको गीत वेभ स्टुडियोमा रेकर्ड गरिएको हो।
पछिल्लो समय म्युजिक भिडियो अभिनयमा व्यस्त रहेका हमालको उमेरजन्य यस गीतले दर्शक र श्रोताको साथ पाउने विश्वास उनको छ ।
उनले गाएको रोमान्टिक गीत ‘मन बुढो भएन’को भिडिओमा हमाल स्वयंले अभिनय गरेका छन्। भिडियोमा उनले मोडल रेश्मा घिमिरेसँग अभिनय गरेका छन्। उत्सव दाहालले छायांकन गरेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन्। भिडिओलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन्।
चलचित्र करिअरको तीन दशकपछि हमालले पहिलोपटक गीत गाएका हुन् ।





