महामारी जोखिम कम भएपछि बिस्तारै नेपाली फिल्म रिलिज गर्ने क्रम सुरु भएको छ। यही क्रममा आगामी माघ १९ मा ‘म यस्तो गीत गाउँछु २’ रिलिज हुने घोषणा भएको छ।
सुदर्शन थापाको निर्देशनमा बन्ने यो फिल्ममा पल शाह र पूजा शर्माको मुख्य भूमिका छ। ‘म यस्तो गीत गाउँछु २’ कोरोना महामारी फैलिनुअघि रिलिज मिति तय भइसकेको सिनेमामध्ये एक हो। रहेको यो फिल्म दुई वर्षअघि फागुन ३० मा प्रदर्शन हुने घोषणा भइसकेको थियो तर कोरोनाको जोखिम बढ्ने डरले प्रदर्शन रोकिएको थियो।
निर्देशक थापाले आफ्नो फेसबुकमार्फत् फिल्म माघ १९ मा रिलिज हुने जनाएका हुन्। महामारीपछि थला परेको नेपाली फिल्म क्षेत्र चलायमान हुने अपेक्षासिहत फिल्म रिलिज गर्न लागिएको उनले लेखेका छन्।
सेतोपाटीसँग निर्देशक तथा थापाले भने, 'महामारीका कारण हामी लामो समय खुम्चनु पर्यो। म यस्तो गीत गाउँछु २ वितरकदेखि दर्शकसम्मले आशा गरेको फिल्म भएकोले चाँडै सार्वजनिक गरौं भन्ने माग थियो। त्यसैले सबै पक्षसँग छलफल गरेर रिलिज डेट घोषणा गरेका हौं।'
नेपाली फिल्मले दर्शक तान्न सामान्य अवस्थामा समेत संघर्ष गर्नुपरेको भन्दै अहिलेको समयमा सिनेमा रिलज गर्दाको चुनौतीलाई पनि उनले स्विकारे। उनले भने, 'लामो समयदेखि दर्शकले राम्रो नेपाली फिल्म हेर्न पाउनुभएको छैन। यो फिल्मले पहिलो म यस्तो गीत गाउँछु जस्तै माया पाउने आशा राखेका छौं।'
तिहारमा बलिउड फिल्म 'सूर्यवंशी'ले नेपाली दर्शकलाई हलसम्म तान्न सफल भएपछि निकेश खड्का निर्देशित 'चपली हाइट ३' पुष २ मा रिलिज हुने घोषणा भइसकेको छ। सुदर्शन थापाको कथा रहेको फिल्मको पटकथा शिवम् अधिकारी र दिनेश न्यौपानेले लेखेका छन्। फिल्म छायांकन सौरभ लामाले गरेका हुन्। फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन छ।
अर्जुन पोखरेलको संगीत रहेको फिल्मका ‘तिम्रो घरको वरिपरि’ र ‘दुःखको काँडा’जस्ता गीत पहिल्यै चर्चित भइसकेका छन्। फिल्म सुदर्शन थापा र पूजा शर्माको निमार्ण र जन्मजय साम्पाङ राईको सहनिमार्माणमा बनेको हो। पल र पूजासँगै फिल्ममा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी लगायतको अभिनय छ।
‘म यस्तो गीत गाउँछु २’ ल्होछार र भ्यालेन्टाइन्स डेको आसपासको समयमा सार्वजनिक गर्न लागिएको हो। माघ १९ गते ल्होछारको बिदा छ भने भ्यालेनटाइन्स डे फागुन २ मा पर्छ।