अभिनेत्री करिश्मा मानन्धरले नेपाली सिनेमा क्षेत्रमा दृष्टिविहीनको सहभागिता बढाउनु आवश्यक रहेको बताएकी छन्।दृष्टिविहीन मैत्री संस्था साथद्वारा ललितपुरमा आयोजित दुई दिने कार्यक्रममा अभिनेत्री मानन्धरले आफ्नो धारणा राखेकी हुन्।
'शिक्षा, संगीत, खेलकुदलगायत धेरै क्षेत्रमा दृष्टिविहीनले उदाहरणीय काम गरिरहनु भएको छ। तर सिनेमा र कलाका अरु क्षेत्रमा दृष्टिविहीनको उपस्थिति कम छ। एउटा क्षेत्रमा राम्रो काम गर्न सकिन्छ भने अर्को क्षेत्रमा गर्न नसक्ने भन्ने कुरा हुँदैन,' कार्यक्रमकी प्रखुख अतिथिका रुपमा सहभागी करिश्माले भनिन्।
साथ (सपोर्टिभ एक्सन टुवार्ड ह्युम्यानिटी) द्वारा आयोजित कार्यक्रममा १० दृष्टिविहीन बालिकालाई आत्मविश्वास जगाउने खालका अन्तरविधात्मक तालिम दिइएको थियो।
आफूले हरेक कार्यक्रममा जाँदा केही न केही नयाँ कुरा सिक्ने भन्दै अभिनेत्री करिश्माले यो कार्यक्रमले दृष्टिविहीन समुदायका मानिसको क्षमता र आत्मविश्वासबाट प्रभावित भएको बताइन्।
उनले भनिन्, 'केही दृष्टिविहीन व्यक्तिसँग व्यक्तिगत चिनजान भए पनि यसरी समूहमा उहाँहरुसँग लामो समय बिताउन पाएको थिइनँ।’
दुई दिने तालिममा पिछडिएका समूह र पहिलो पटक सहभागी भएका दृष्टिविहीन महिलाहरुलाई प्राथमिकता दिइएको थियो। सहभागीहरुको आत्मविश्वास बढाउन कार्यक्रममा बाह्य सौन्दर्य, मेकअप, अध्यात्मदेखि आत्मसुरक्षासम्मका विषयहरु सिकाइएको संस्थाकी संस्थापक नविना ज्ञवालीले बताइन्।
कार्यक्रममा अभिनेत्री करिश्माले मान्छेको आत्मविश्वासले उसको व्यक्तित्व सुन्दर बनाउने धारणा राखेकी थिइन्। उनले हरेक व्यक्तिमा कुनै न कुनै पाटो सबल हुने बताउँदै सहभागीको आत्मविश्वास बढाउन आफ्नो अनुभवसमेत सुनाइन्।
'मेरो करिअरको सुरुवाती चरणमा म मुम्बईमा अडिसन दिन गएकी थिएँ। सुन्दर थिएँ, नाच्न आउँथ्यो तर मेरो अंग्रेजी कमजोर थियो। अंग्रेजी कमजोर भएकै कारण मैले अरु कलाकारबीच आफूलाई धेरै सानो महसुस गर्थें,' उनले भनिन्, 'म चाहन्छु तपाईंहरुले आफूलाई कमजोर महसुस नगर्नुस्। आफ्नो सबल पक्षलाई चिन्नुस्। हामी सबैमा केही न केही विशेष क्षमता हुन्छ।'
हालै १२ कक्षाको परिक्षा दिएकी करिश्माले पढ्न वा अरु कुनै पनि कुरा सिक्न कहिल्यै ढिलो नहुने विचारसमेत साटिन्।
संस्थापक ज्ञवालीले करिश्मालगायत कार्यक्रममा सहभागी आँखा देख्नेहरुको सहभागिताले कार्यक्रमको लक्ष्य पूरा भएको बताइन्।
नविनाले भनिन्, 'दृष्टिविहीन र आँखा देख्ने दुवै समूह बाँच्ने संसार उही हो। तर पनि विभिन्न कारणले हामीबीच दूरी कायम छ। दृष्टिविहीन र दृष्टि हुने दुबै समूहबीचको भावना र विचारको आदान प्रदानले कार्यक्रमको उद्देश्य पूरा भएको छ।'