भारतीय कमेडियन वीर दासले यही नोभेम्बर १२ मा अमेरिकाको वासिङ्टनस्थित जोन एफ केनेडी सेन्टरमा एउटा एकालाप प्रस्तुत गरेका थिए। त्यसको शीर्षक थियो- 'आइ कम फ्रम टु इन्डियाज' अर्थात् 'म दुई भारतबाट आएको हुँ'।
उक्त एकालापमा उनले भारतको विरोधाभाषको व्याख्या गरेका थिए जसलाई लिएर सत्तारूढ भारतीय जनता पार्टीका केही समर्थकले उनीमाथि 'देशद्रोही' को आरोप लगाउँदै प्रहरी अनुसन्धान माग गरिरहेका छन्।
करिब एक सातादेखि जारी यो विवादबारे कमेडियन वीर दासले आइतबार भारतीय सञ्चारमाध्यम एनडिटिभीसँग कुरा गर्दै आफ्नो धारणा सार्वजनिक गरेका छन्।
'हाँसो भनेको उत्सव हो। जब मान्छे मेरो प्रस्तुतिमा मन खोलेर हाँस्छन् र जब पूरा हल आफ्नो कुर्सीबाट उठेर ताली बजाउँछ, त्यो मेरो निम्ति गौरवको क्षण हो,' वीर दासले एनडिटिभीसँग भनेका छन्, 'मेरो विचारमा प्रत्येक भारतीयमा हाँस्य चेत भरिएको छ। उनीहरू व्यंग्यको भाषा राम्ररी बुझ्छन्। त्यही भएर जसले मेरो भिडिओ पूरा हेरे, उनीहरूले मेरो प्रस्तुतिको अर्थ पनि राम्ररी बुझे र त्यो हलभित्र के भएको थियो भन्ने उनीहरूले राम्ररी थाहा पाए।'
केही व्यक्ति उनको प्रस्तुतिलाई लिएर किन आक्रोशित भए भन्ने प्रश्नमा जवाफ वीर दासले भने, 'जब म आफ्नो प्रस्तुति दिन्छु, त्यसमा कस्तो प्रतिक्रिया उत्पन्न हुन्छ भन्ने मेरो हातमा हुँदैन। मैले जे भनेँ त्यो जोक थियो। जोकमा उठ्ने प्रतिक्रिया आकलन गर्न सकिन्न।'
उनले अगाडि भने, 'म १० वर्षदेखि यो देशलाई हसाउँदै आइरहेको छु। मैले आफ्नो पूरा जीवन यो देशबारे लेख्नमा बिताएँ। आज मैले अमेरिकाबाट आफ्नो देशका नाममा लेखेको प्रेमपत्र पढेको हुँ। जबसम्म म कमेडी गर्न समर्थ हुन्छु, तबसम्म म आफ्नो देशका नाममा यस्तो प्रेमपत्र लेखिरहनेछु।'
वीर दासले आफ्नो एकालाप प्रस्तुतिमा भनेका छन्: म त्यो भारतबाट आएको हुँ, जहाँ हामी महिलालाई दिउँसो पूजा गर्छौं र रातमा उनीहरूको सामूहिक बलात्कार हुन्छ।
म त्यो भारतबाट आएको हुँ, जहाँ बच्चाहरूले पनि मास्क लगाएर एकअर्काको हात समात्छन्, तर नेताहरू मास्कबिना एकअर्कालाई अँगालो हाल्छन्।
म त्यो भारतबाट आएको हुँ, जहाँ एयर क्वालिटी इन्डेक्स (एक्वुआई) ९००० छ तर हामी अझै पनि आफ्नो छतमा सुतेर रातमा ताराहरू हेर्छौं।
म त्यो भारतबाट आएको हुँ, जहाँ जनसङ्ख्याको ठूलो हिस्सा ३० वर्षभन्दा कमका मानिसको छ तर हामी ७५ वर्षका नेताहरूको १५० वर्ष पुरानो विचार सुन्न कहिल्यै छोड्दैनौं।
छ मिनेट लामो एकालापमा उनले भारतमा भइरहेको धार्मिक राजनीति, महिला हिंसा, किसानमाथि दमन, बलिउडको दबदबा लगायत तमाम विषय समेटेका छन्। उक्त एकालापको भिडिओ दासले गत सोमबार आफ्नो युट्युब च्यानलमा अपलोड गरेका थिए।
युट्युबमा अपलोड भएको केही घन्टामै सामाजिक सञ्जालमा उक्त भिडिओको चर्चा हुन थालेको थियो। पछिल्लो एक सातामा यो भिडिओ झन्डै ४८ लाखले हेरिसकेका छन् भने ७९ हजारभन्दा बढी कमेन्ट आएका छन्।
सत्तारूढ भाजपाका समर्थकहरू विश्वस्तरमा दासले भारतको छवि खराब बनाइरहेको आरोप लगाइरहेका छन्। पछिल्लो समय भाजपाकी कट्टर समर्थक बनेकी अभिनेत्री कंगना रनावतले दासको एकालापलाई आतंकवादको संज्ञा दिएकी छन्। दासविरूद्ध कडा कदम चाल्नुपर्ने उनको माग छ।
भारतीय पत्रकार बर्खा दत्तले भने दासलाई धन्यवाद दिएकी छन्।
‘म यस्तो भारतबाट आएको हुँ जहाँ पत्रकारिता समाप्त भएको छ, पुरूष पत्रकारहरू एकअर्काको प्रशंसा गर्दैछन् अनि महिला पत्रकारहरू ल्यापटप लिएर सडकमा बसेर सत्य बोलिरहेका छन्’ भन्ने उद्धरण राख्दै दत्तले उनलाई धन्यवाद दिएकी हुन्।
हिन्दुत्वको नारा दिएर राजनीति गरिरहेको भाजपाले पछिल्लो समय आलोचनात्मक चेत भएका लेखक/कलाकारलाई निशाना बनाउने गरेको छ।
गत जनवरीमा हिन्दु भगवानहरूप्रति अभद्र टिप्पणी गरेको भन्दै भारतमा एक जना मुस्लिम कमेडियन मुनावार फारूकीलाई पक्राउ गरिएको थियो। फेब्रुअरीमा सर्वोच्च अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
गत मेमा कोरोनाभाइरसबाट ज्यान गुमाएकाहरूका शवले गंगा नदीको किनार भरिएको थियो। त्यही बेला गुजरातकी कवि परूल कक्करले ‘शववाहिनी गंगा’ शीर्षकमा कविता लेखेकी थिइन्। १४ पंक्तिको उक्त कवितालाई लिएर भाजपा समर्थकले कक्करको चर्को आलोचना गरेका थिए।