सालमान खानको नयाँ फिल्म ‘अन्तिमः द फाइनल ट्रुथ’ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ। ‘दबंग ३’ पछि उनी कुनै फिल्ममा देखिएका थिएनन्। यसैकारण यो नयाँ फिल्म रिलिज भएसँगै उनका प्रशंसकबीच उत्साह छाएको छ।
प्रशंसकले उनको फिल्म रिलिजलाई उत्सवजस्तै मनाइरहे पनि यसमा सलमानले भने चित्त बुझाइरहेका छैनन्।
हालै भारतको एक सिनेमा हलमा सलमानका केही फ्यानले भित्रै पटाका पड्काएका थिए। आफ्ना प्रशंसकको यस्तो व्यवहारपछि सलमानले आपत्ति जनाएका छन्।
हिन्दुस्तान टाइम्सका अनुसार सलमानले आफ्नो इन्स्टाग्राममा सो घटनाको भिडियो पोस्ट गरेर सिनेमा हलका कर्मचारीलाई भित्र पटाका पड्काउन रोक लगाउन सुझाव दिएका छन्। उनले सेयर गरेको भिडियोमा सलमान स्क्रिनमा देखिने बित्तिकै प्रशंसकहरुले होहल्ला गरी पटाका पड्काएको देखिन्छ। त्योबेला हलमा उपस्थित भएका अन्य दर्शकहरु आफूलाई चोटपटकबाट बचाउन खोजिरहेका थिए।
‘यस्ता पटाकाले ठूलो आगलागीको खतरा ल्याउने हुँदा आफू र अन्य दर्शकको जीवन पनि जोखिममा पर्छ, त्यसैले म मेरा फ्यानलाई सिनेमा हलभित्र पटाका नलान आग्रह गर्दछु,’ भिडियो पोस्ट गर्दै सलमानले लेखेका छन्, ‘थिएटर व्यवस्थापक र सुरक्षा निकायले पनि दर्शकलाई अगाडि नै जानकारी गराएर यस्ता सामग्री हलमा लान नदिन अनुरोध गर्छु। फिल्मको मज्जा लिनुहोस् तर यस्तो क्रियाकलाप नगरिदिनु होला, धन्यवाद।’
अन्तिमः द फाइनल ट्रुथ फिल्ममा सलमानसँगै उनका ज्वाइँ आयुष शर्मा पनि देखिएका छन्। फिल्ममा सलमाले सिख प्रहरीको भूमिका खेलेका छन् र आयुषले भने ग्याङ्स्टरको भूमिका निभाएका छन्। ‘लभयात्री’ फिल्मपछि यो आयुषको दोस्रो फिल्म हो।