काठमाडौंका उमेश थापा इञ्जिनियरिङ अध्यन गर्न पोखरा आए। गरिब परिवारमा जन्मिएका उमेशले पोखराका धनि परिवारकी कविता गुरुङसँग विवाह प्रेम विवाह गरे। उमेश–कविताका जोडीले आफ्नो वास्तविक कथा बताउन नेपाली चलचित्र ‘बबी’ बनाए। चलचित्रमा उनीहरु आँफैले अभिनय गरे। वास्तविक कथामा वास्तविक पात्र पर्दामा उतार्दा पनि चलचित्रले जीवनका सबै कथा बताउन सकेन।
कोरोना भाइरसको महामारीले विश्वव्यापी लकडाउन थियो। उमेश र कविता पनि लकडाउनको शिकार बने। नर्वेमा बस्दै आएका उमेशले घरमै बसेर अफिसको काम गरे। कविताले भने काम गर्न पाइनन्। उनले नर्वेमा ‘क्यान्टिन’मा काम गर्थिन्। घरमा बसेर क्यान्टिनको काम गर्न मिलेन।
कविताको मनमा अनेक भावना खेल्न थाल्यो। दिनभरी टेलिभिजन हेरेर दिन बताउन थालिन्। बाल्कालदेखि प्रेम, विवाह, अन्तरजातीय विवाह गर्दा भोग्नुपरेको पारिवारिक र सामाजिक बहिष्कारका अनेक पाटाहरु लकडाउनका फुर्सदमा खेल्न थाल्यो।
कविताले मनको बह आइप्याडमा लेख्न थालिन्। त्यसो त उनले बह लेख्नुअघि पनि कहिलेकाँही ब्लग लेख्थिन्। लकडाउनअघि लेख्नु त के अरुले लेखेको पनि पढ्थिनन्। मनको बह लेख्दालेख्दै उनले एउटा पुस्तक नै तयार पारिन्, २ महिनाअघि नेपाल आएकी कविताले ‘म अनि मेरो’ शीर्षकमा पुस्तक प्रकाशित गरिन्।
‘मेरो पुस्तक कसैले पढिदेओस् भनेर लेखेको होइन, मनमा खेलेका कुराहरु लेखेको थिए, नेपाल आउँदा त्यसैलाई प्रकाशन गरेको हो,’ उनले भनिन्।
मनको बह लेखेर श्रीमान उमेशलाई देखाइन्। साथीहरुलाई पढ्न दिइन्। श्रीमान र साथीहरुले नै राम्रो लेख्यौ भनेकै भरमा उनले पुस्तक लेखेको बताइन्। पुस्तक लेखेपछि नर्वेबाटै उनले चिनजानका सम्पादक राखेकी थिइन्। उनको कथा पुरै सम्पादन गरेको देखेपछि उनले आफ्नै शब्द राख्न कर गरेको बताइन्।
‘मैले लेखेको आप्mनो कथा त पुरै सम्पादन भएछ,’ उनले भनिन्, ‘त्यसपछि मैले नै यो हुँदैन, मैले लेखेकै शब्द राख्नुपर्छ, पुस्तकका सबै शब्द मेरा नै हुन्।’ पुस्तकका प्रकाशक आँफै रहेकी कविताले १ हजार प्रति छापेको बताइन्। पुस्तक छाप्न करिब ६ लाख लागेको भन्दै उनले पुस्तकमा रिस उठ्दा कुरा पनि लेखेको बताइन्।
‘मेरो आफन्तले किताब पढ्नुभयो भने पक्कै रिसाउनुहुन्छ, किनकी मैले यसमा रिस उठ्दा कुरा पनि लेखेको छु,’ उनले भनिन्, ‘रिसाउनुभयो भने पनि ठिकै छ।’
चलचित्रमा नायिका बनेकी कविता आफु नायिका वा लेखक दुबै नभएको बताइन्। आफ्नो कथा भन्न फिल्ममा आफै देखिएको भन्दै उनले नायिका बन्न फिल्म नखेलेको जिकिर गरिन्। यस्तै, पुस्तकमा पनि आफ्नो मनका कुरा मात्र लेखेको भन्दै लेखक बन्न नलेखेको दाबी गरिन्। पुस्तक लेख्ने क्रममा कहिलेकाँही एकैदिन लामो समय फोनप्याडमा लेखिरहेको र कहिलेकांही दुइहप्तासम्म केही लेख्न नसकेको बताइन्।
फिल्म हेरेका केही दर्शकले संघर्षबाट सफलता मिल्ने प्रेरणा पाएको प्रतिक्रिया आफुलाई दिने गरेको कविताले बताइन्। चलचित्र पत्रकार संघ कास्कीले पुस्तकका बारेमा जानकारी गराउन आयोजित कार्यक्रममा कविताले अब उमेशको वास्तविक कहानीमा आधारित फिल्म बनाउन चाहेको बताइन्। इञ्जिनियरिङ अध्यन गर्न नर्वे पुगेका उमेश अहिले त्यहीं एउटा कम्पनीको म्यानेजर छन्।
आफ्नै जीवनका कथा लिएर फिल्म र पुस्तक ल्याएकी कविताले फिल्ममा भन्दा पुस्तकमा वास्तविक कथा रहेको दाबी गरिन्। ‘फिल्ममा निर्देशकले अलिअलि मसला राखिदिनुभएको छ, पुस्तकमा विशुद्ध वास्तविक कुरा लेखेको छु,’ उनले भनिन्, ‘पुस्तकमा केही मसला छैन, सबै यथार्थ कुरा मात्र छन्।’