बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज मनी लान्ड्रिङ मुद्दामा आइतबार मुम्बई विमानस्थलबाट पक्राउ परेकी छिन्।
प्रवर्तन निर्देशनालयले सुकेश चन्द्रशेखर, उनकी पत्नी लीना मारिया पल र अन्य ६ जनाविरुद्ध दुई सय करोड रुपैयाँको मनी लान्ड्रिङ मुद्दामा सात हजार पृष्ठको आरोपपत्र दायर गरेको थियो। यो कार्यमा सुकेश र ज्याकलिनबीच आर्थिक लेनदेनको प्रमाण फेला परेपछि अभिनेत्रीलाई हाल मुम्बई प्रहरीले हिरासतमा लिएको हो।
हाल सोधपुछक्रममा उनी कोही सुकेश नाम गरेको व्यक्तिलाई नचिन्ने दाबी गरिरहेकी छिन्, तर ज्याकलिन र सुकेशसँगै भएको केही फोटोहरु भाइरल भइरहेको छ।
यस्तो बेला उनका नजिकको साथीको रुपमा चिनिने अभिनेता सलमान खानले कुनै प्रतिकृया दिएका छैनन्। उनलाई सहयोग गर्न कोहीपनि अगाडि नआएको बलिउड हंगामाले लेखेको छ।
रिर्पोटका अनुसार ज्याकलिनको नाम मनी लान्ड्रिङ मुद्दामा मुछिएसँगै सलमान उल्टै उनलाई आफ्नो आउँदो नयाँ टुर कन्सर्ट ‘दबंग’बाट निकाल्ने सुरसार गरिरहेका छन्। पहिले सो कन्सर्टमा ज्याकलिनले अन्य बलिउड कलाकारसँग प्रदर्शन गर्ने योजना थियो। अब भने उनको ठाँउमा अर्की अभिनेत्रीलाई ल्याउने हल्ला छ।
ज्याकलिनमाथि अनुसन्धान चलिरहेकाले उनलाई भारत छाडेर जानपनि रोक लगाइएको छ। धेरै स्रोतले उनी गम्भीर मुद्दामा फसेको र प्रवर्तन निर्देशनालयले उनलाई पटकपटक सोधपुछका लागि बोलाइरहने बताएका छन्।
प्रहरीका अनुसार सुकेशले ठगी गरेको रकमबाट ज्याकलिनलाई दश करोड भारुभन्दा बढीको महँगो उपहार, एउटाको ९ लाख भारु पर्ने चारवटा पर्सियन बिरालो र ५२ लाख भारु पर्ने घोडा उपहार दिएका थिए। सुकेशले ज्याकलिनका दाजुभाइलाई पनि मोटो रकम पठाएको जानकारी बाहिर आएको छ।