‘चिसो एस्ट्रे’ चैत ४ मा सार्वजनिक प्रदर्शनमा आउने भएको छ। आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउन पुग्ने चरित्रको कथा भन्ने फिल्मलाई दिनेश पाल्पाली (दिन्श) ले निर्देशन गरेका हुन्।
दिन्शले यसअघि ‘बालकृष्ण सम : अनटोल्ड स्टोरी’ निर्देशन गरेका थिए। फिल्मले काठमाडौं पर्वतीय फिल्म महोत्सव (किम्फ) लगायत थाइल्यान्ड, क्यालिफोर्निया, चीन आदि देशका फिल्म महोत्सवमा छनोट भई विभिन्न अवार्ड जित्न सफल भएको थियो।
निर्देशक पाल्पालीले फिल्मले मुख्य चार चरित्रमार्फत् मानिसको अन्तर्यात्राको कथा प्रस्तुत गरेका छन्।
‘फिल्ममा गाउँबाट सहर आएर आधुनिक बन्न खोज्ने एक जना युवाको कथा देखाउने प्रयास गरिएको छ,’ दिन्शले भने, ‘तर आधुनिक बन्ने चक्करमा उसले आफूलाई नै गुमाउन पुग्छ। आधुनिक बन्न उसले गर्ने यात्रा र यात्राका क्रममा भेट्ने अरु यात्रुको कथा नै चिसो एस्ट्रे हो।’
फिल्ममा दिव्य देवले मदनको रुपमा मुख्य यात्रुको भूमिका निर्वाह गरेका छन्। सहयात्रीको भूमिकामा छन् निकुन श्रेष्ठ, नविन लम्साल, सुशील राज पाण्डे, रबिन तामाङ र सृष्टि श्रेष्ठ। दिव्य देव नेपाली र अंग्रेजी नाटकका उम्दा कलाकार हुन् भने नविनले ‘राहदानी’, ‘कारखाना’ आदि फिल्ममा काम गरिसकेका छन्। निकुन श्रेष्ठ, ‘छड्के’ र ‘झिग्राना’मा रुचाइएका कलाकार हुन्।
कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन्। निर्माणमा भने महेश बाबुलाई प्रबिन स्याङ्बा र शर्मिला पराजुलीले सघाएका छन्। फिल्मको सह निर्मातामा रुपेश ढुंगाना र नविन ढुंगाना रहेका छन्। निर्माता महेश बाबु तिमल्सिनाले फिल्म मेहनत गरेर बनाएको र अब दर्शकबीच प्रस्तुत गर्न उत्सुक रहेको बताए।
‘हामीले लामो समय लिएर यो फिल्म तयार गरेका छौं। महामारीका कारण प्रदर्शनका लागि तयार भएर पनि हामी रोकिनु पर्यो। अब चैतमा हामी आउँदै छौं। एउटा फरक स्वादको चलचित्र दर्शकले हेर्न पाउनु हुनेछ,’ महेशले भने।
दिन्शले लेखन, निर्देशनसँगै गीतकारको पनि भूमिका निर्वाह गरेका छन्। फिल्ममा संगीत अजर जंगमको रहेको छ। उज्जल बस्ताकोटीको छायांकन रहेको फिल्ममा उज्जवल ढकालले सम्पादन र प्रशान्त रसाइलीले क्रिएटिभ हेडको जिम्मेवारी निर्वाह गरेका छन्।
नोबेल फ्रिक्सको पार्श्व संगीत रहने फिल्ममा कला संग्रौलाको आर्ट डिरेक्सन र फ्रान्सेली प्रडक्सन डिजाइनर सोनिया जोसेरयान्ड मेर्सियरको डिजाइन छ। फिल्मलाई काठमाडौंमा रिच इन्टरटेनमेन्ट र जिजिए ग्रुपले वितरण गर्नेछ भने काठमाडौंबाहिर एफडी कम्पनीले वितरण गर्नेछ।
केही दिनअघि मात्र ‘चिसो एस्ट्रे’ को फस्टलुक सार्वजनिक गरिएको थियो।