भारतीय फिल्म 'पुष्पा: द राइज' रिलिजअघिदेखि चर्चामा थियो। धेरैको पूर्वअनुमानअनुसार फिल्मले हाल आक्रामक व्यापार गरिरहेको छ।
यो सन् २०२१ को सबैभन्दा बढी कमाइ गर्ने भारतीय फिल्मसमेत बनेको छ। १७ डिसेम्बरदेखि सिनेमा हलमा प्रदर्शन भइरहेको पुष्पाले पहिलो दिन ५० करोड बढी भारुको व्यापार गर्यो। कोरोनाकालको यो सबैभन्दा ठूलो 'ओपनिङ' हो।
निर्देशक सुकुमारको यो फिल्ममा अर्जुन अल्लु र रश्मिका मन्दनाको मुख्य भूमिका अभिनय छ। दक्षिण भारतीय यी दुई चर्चित कलाकारको फिल्मलाई दर्शक र समीक्षकहरुले सकरात्मक प्रतिक्रिया दिइरहेका छन्।
तेलुगू भाषाको पुष्पा मलयालम, तमिल, कन्नडलगायत हिन्दी भाषामा प्रदर्शन आएको यो फिल्ममा रश्मिका र अर्जुनले पहिलो पटक सँगै काम गरेका हुन्। चन्दन तस्करीको वरिपरि कथा घुम्ने फिल्ममा रश्मिका र अल्लु अर्जुनको केमेस्ट्रीलाई दर्शकले निकै रुचाएका छन्।
सन् २००३ देखि महत्वपूर्ण भूमिकामा दर्शकको मन जितेका स्टार अल्लु अर्जुन दक्षिण भारतकै सर्वाधिक लोकप्रियमध्येका अभिनेता हुन्। अल्लु अर्जुन अभिनेताका रुपमा स्थापित सन् १९९६ मा जन्मिएकी रश्मिका बच्चै थिइन्। रश्मिकाले इन्डियन एक्सप्रेसलाई दिएको अन्तर्वातामा भनेकी छन्, 'गीता गोविन्दमको अडियो लन्च कार्यक्रममा अल्लु अर्जुन प्रमुख अतिथि थिए। त्यसबेला मलाई के म अल्लु अर्जुनसँग काम गर्न सकूँला भन्ने सोच आएको थियो।'
रश्मिका मात्र नभई दक्षिण भारतका धेरै अभिनेत्रीको अर्जुन अल्लुजस्ता सफल स्टारसँग काम गर्ने सपना हुन्छ। पुष्पाले रश्मिकाको त्यो रहर पूरा भएको छ। यसबारे उनले भनेकी छन्, यो ठूलो प्रगति हो। मेरा लागि सपना साकार भएको क्षण हो।'
दर्शकलाई जस्तै रश्मिका र अल्लु अर्जुनको केमेस्ट्री उनी आफैंलाई पनि मन परिरहेको छ। अल्लु अर्जुनको काम गर्ने शैली र अनुशासनसँग सहकर्मी कलाकारसँग गर्ने व्यवहारको पनि उनले तारिफ गरेकी छन्।
अन्तर्वातामा उनले हाँस्दै भनेकी छन्, 'म उहाँसँग अझै सय फिल्ममा काम गर्ने इच्छा छ।'
पहिलो कन्नड फिल्म ‘किरिक पार्टी’ बाट सन् २०१६ मा डेब्यु गरेकी उनको यो फिल्म वर्षकै सफल साबित भयो। ‘किरक पार्टी' हिट भएसँगै दर्शकको रोजाइमा परेकी रश्मिकालाई बाँकी दुई फिल्म ‘डियर कमरेड’ र ‘गीता गोविन्दम्’ ले स्टार बनाइदियो। पहिलो फिल्मबाट डेब्यु अभिनेत्रीको अवार्ड पाएकी उनले उत्कृष्ट अभिनेत्रीको अवार्डसमेत जितिन्। उनी महँगो पारिश्रमिक लिने अभिनेत्री पनि बनिन्।
'कर्नाटका क्रस' भनिने उनलाई अचेल भारतकै 'नेसनल क्रस' भन्न थालिएको छ। दक्षिण भारतीय भाषाका फिल्ममा सफल रश्मिकाको हातमा बलिउडका दुई फिल्म ‘मिसन मजनु’ र ‘गुडबाइ’ मा व्यस्त छिन्।
बलिउड फिल्म ‘मिसन मजनु’मा उनी सिद्धार्थ मल्होत्रा र ‘गुडबाइ’ मा अमिताभ बच्चनसँग देखिने छिन्। पुष्पाको लोकप्रियताले आगामी दिनमा बलिउडमा उनको माग अझ बढ्न सक्ने बलियो सम्भावना छ। मोडलिङ हुँदै सिनेमामा प्रवेश गरेकी रश्मिका छोटो समयमा लोकप्रियता कमाउन सफल अभिनेत्री हुन्।