सेलिब्रेटी नेपालले 'नेपाल ग्रामीण चलचित्र महोत्सव' आयोजना गर्ने भएको छ। पर्यटन प्रवर्धनसँगै नेपाली सिनेमा ग्रामीण बजारमा पुर्याउने उद्देश्यका साथ माघको अन्तिम साता तीन दिने महोत्सव आयोजना गर्ने घोषणा गरिएको हो।
महोत्सवमा ग्रामीण परिवेशमा निर्माण गरिएका स्वदेसी सर्ट फिल्म, डकुमेन्ट्री र फिचर फिल्म सहभागी गराएर ग्रामीण क्षेत्रका दर्शकमाझ अत्याधुनिक प्रविधिमा प्रदर्शन गरिने अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए। उनले उत्कृष्ट फिल्महरुलाई जुरी टिमको निर्णयअनुसार अवार्डसमेत प्रदान गरिने बताए।
महोत्सवका लागि विभिन्न भाषाभाषिकाका र मोबाइलबाट खिचिएका फिल्मसमेत समावेश गर्ने बताइएको छ।
फिल्म प्रदर्शनसँगै ग्रामीण परिवेशलाई समेटेर विविध विषयमा अन्तर्क्रिया, कार्यशाला, मास्टरक्लाससमेत हुने छन्। महोत्सवमा प्रदर्शन गरिने फिल्म अत्याधुनिक एलइडी स्क्रिन र अत्याधुनिक साउण्ड सिस्टममा प्रदर्शन गरिने आयोजकद्वारा जानकारी गराइएको छ।
महोत्सवले नेपाली समाजका मौलिकता बोकेका र ग्रामीण कथामा बनेका सिनेमालाई प्रवर्धन गर्दै स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा समेत योगदान गर्ने अध्यक्ष सापकोटाको भनाइ छ।
सिनेमा क्षेत्रमा लागेर आफ्नो भविष्य बनाउन चाहने नयाँ विद्यार्थीहरुलाई नेपालीपन र नेपालीमनको फिल्म बनाउने विषयमा ज्ञान दिनु पनि महोत्सवको उद्देश्य रहेको उनले बताए। महोत्सवलाई यस पटक राष्ट्रिय रुपमा आयोजना गरे पनि आगामी वर्षहरुमा अन्तर्राष्ट्रिय बनाउँदै लगिने उनकाे दाबी छ।
महोत्सव तथा सिनेमासँग सम्बन्धित गतिविधि राजधानी र केही मुख्य सहरकेन्द्रित भएको यो महोत्सवले स्थानीय समुदायबीच नेपाली फिल्म र फिल्ममेकरप्रतिको चासो बढाउने आयोजकको अपेक्षा छ।
आयोजकले महोत्सव कहाँ हुने विषयमा चाँडै जानकारी गराउने जनाएको छ।