पोखरामा आयोजना हुँदै आएको 'पामे अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल' पुस १२ सोमबारदेखि सुरु हुँदैछ। पाँच दिन अर्थात् १६ गतेसम्म चल्ने महोत्सवको पाँचौ संस्करणमा २० देशका लामा-छोटा गरी ९४ बढी फिल्म तथा डकुमेन्ट्री प्रदर्शन हुने आयोजकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
निर्देशक इयान स्कट क्लिमेन्टको 'बासेन्जी' फिल्म प्रदर्शनसँगै महोत्सव सुरु हुने छ। करिब १ घन्टा २१ मिनेटको फिल्ममा असिम निरौला, सुप्रिम राई र सरिता गिरीको मुख्य भूमिका छ।
फिल्म प्रदर्शनीसँगै महोत्सवमा मास्टर क्लास, वर्कसप, ल्याब, फोटो प्रदर्शनी, चित्रकला, साहित्यिक प्रस्तुतिहरु छन्। यसबाहेक लोक तथा परम्पागत गीत-संगीत, नाचलगायत मौलिक प्रस्तुतिहरू पनि महोत्सवको आकर्षणका रुपमा रहने बताइएको छ।
साउथ एसियाका डकुमेन्ट्री, महिला निर्देशक तथा फिल्म पढेका विद्यार्थी लक्षित फिल्म र गतिविधि पनि समावेश छन्।यसबाहेक झुमा लिम्बूले नेतृत्व गरेको रैथाने संगीत समूहले संगीत प्रस्तुत र अन्तर्क्रियात्मक कार्यक्रम पनि महोत्सवको आकर्षण हुने छ।
फेस्टिभल प्रोग्रामिङ प्रमुख नवनिधि दाहालले भने, 'पामे फिल्म फेस्टिभललाई सिनेमा र कला क्षेत्रका विभिन्न विधाका सर्जक र यसलाई मन पराउने मानिसहरुलाई जोड्ने उद्देश्य राखी फेस्टिभल सुरु भएको हो। यस पटक पहिलाभन्दा धेरै फिल्म र गतिविधि समेटन् पाउँदा उत्साहित छौं।'
महोत्सवको मुख्य कार्यक्रम पोखराको फेवाताल किनारमा हुनेछ भने अन्य गतिविध विभिन्न हल तथा होटलमा हुने छन्।
महोत्सवले पर्यटकीय नगरी पोखराको पर्यटन उद्योगमा सिनेमा र कलाका माध्यमबाट योगदानसमेत दिने महोत्सव निर्देशक दाहालले जोड दिए।
भारतीय निर्देशक अजितपाल सिंहको ‘फायर इन दि माउन्टेन’ प्रदर्शनसँगै समापन हुने महोत्सवमा निर्देशक मोहन राईको 'महानगर' को नेपाल प्रिमियर हुँदैछ। फिल्ममा कर्मा र मेनुका प्रधानको मुख्य भूमिका छ।
फेस्टिभलका महासचिव नवराज सुवेदीले पामे महोत्सवलाई नवीतम प्रविधि र ज्ञानको आदानप्रदान थलो भन्छन्। 'महोत्सवले अन्तर्राष्ट्रिय कथा तथा फिल्म निर्माणका विभिन्न पाटोबारे सिक्ने, सिकाउने र उत्सव मनाउने अवसर दिँदै आएको छ', महासचिव सुवेदीले भने।
महोत्सवका संयोजक प्रवीण कार्की 'टक्की' राजधानीबाहिर सिनेमा महोत्सवलाई निरन्तरता दिन पाउँदा खुसी लागेको बताउँदै भन्छन्, 'फिल्मका माध्यमबाट कलाका विविध विधा र पर्यटन उद्योगलाई समेत जोड्ने यो महोत्सव हाम्रा लागि औपचारिक र अनौपचारिक दुबै खालका सिकाइको थलो बन्ने विश्वास लिएका छौं।'
विविध विधाका ९४ फिल्मबीच प्रतिस्पर्धा हुने महोत्सवमा सर्ट फिल्म, डकुमेन्ट्री, स्टुडेन्ट फिल्म, क्रिटिक्स र अडियन्स च्वाइस अवार्डसमेत प्रदान गरिने कार्यक्रम छ।