मोहन राईको फिल्म निर्देशक बन्ने सपना थियो। त्यसैका लागि उनी १८ वर्ष उमेर नपुग्दै झापाबाट काठमाडौं हानिए।
काठमाडौं महानगर उनले सोचेजस्तो सजिलो थिएन। उनी त्यहाँ गएको झन्डै २० वर्षपछि मात्र फिचर फिल्म निर्देशन गर्न सफल भए।
देशका कुनाकाप्चाबाट विभिन्न सपना बोकेर काठमाडौं हानिएका आफूजस्तै आमयुवाको हविगत उनले आफ्नो पहिलो फिचर फिल्म ‘महानगर’ मा उतार्ने प्रयास गरेका छन्। यो फिल्म पोखरामा सोमबार सुरू पाँचौं ‘पामे फिल्म महोत्सव’ मा प्रिमियर गरियो।
यसअघि यो फिल्म पहिलोपटक सन् २०२१ जनवरीमा ‘कलकत्ता इन्टरनेसनल फिल्म फेस्टिभल’ मा वर्ल्ड प्रिमियर गरिएको थियो। त्यसपछि अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभल र स्पेनमा एसियन फिल्म फेस्टिभलमा पनि प्रदर्शन गरिएको निर्देशक राईले बताए।
यो फिल्म बनाउनुअघि राईले तेस्रो लिंगीका कथा भन्ने ‘अन्जली’, माओवादी द्वन्द्वमा आधारित ‘सखी’ लगायत डकुमेन्ट्री बनाएका थिए।
पहिलो फिल्म बनाउँदा भने सहर पसेका गाउँले युवा–युवतीका कथा देखाउन चाहेको उनले बताए।
‘फिल्म महानगरमा मैले सपना बोकेर सहर पसेका गाउँले युवाहरूको वास्तविक कथा भन्न खोजेको छु,’ निर्देशक राईले भने, ‘गाउँका आमयुवाले सहरमा भोग्नुपर्ने दु:ख र संघर्षका कथा फिल्ममा उतारेको छु।’
उनले बनाएको फिल्म महानगरमा मुख्य भूमिकामा कर्मा शाक्य र मेनुका प्रधान छन्। उनीहरूको सपना र कथा–व्यथा आ–आफ्नै छन्। फिल्ममा ट्रेकिङ गाइड आशिषको भूमिका कर्माले खेलेका छन् भने कवि बन्ने सपना देखेकी खुसीको भूमिका मेनुकाले।
पृष्ठभूमि फरकका यी दुई पात्रको भेटघाट, संघर्ष र अन्तरसंवादमा ७० मिनेट लामो फिल्म घुमेको छ।
अस्पतालको क्यान्टिनमा काम गर्ने बालकको तरकारी काट्दा चक्कुले हात काट्छ। गाउँबाट सहर पसेर मजदुरी गरेका बालक घरको यादले मध्यरात सिँढीमा टोलाउँछन्। कानुनले बाल मजदुर वर्जित गरे पनि महानगरमा यस्तो दृश्य देखिनु सामान्य हो।
त्यही रात काठमाडौं महानगरका मन्दिर घुम्दै गर्दा खुसीले भन्छिन्, ‘शासकहरू धेरै पापी भएर होला, उनीहरूले धेरै मन्दिर बनाए, मलाई लाग्छ उनीहरू आफ्नो पाप बिसाउन चाहन्थे।’
आशिष भन्छन्, ‘ताजमहल र ताजमहल बनाउने हातमध्ये एउटा रोज्नुपर्दा म ती सुन्दर हातहरू रोज्छु।’
त्यही बेला एउटा पागलजस्तै पात्र क्रान्तिको आह्वान गर्दै सुतेका महानगरबासीलाई उठ भन्दै कुर्लन्छ। यहाँ भएका सबै क्रान्ति सम्झौतामा टुङ्ग्याएर धोका भयो भन्छ। तर उसका पछि लाग्ने कोही छैन। सिवाय केही सडक कुकुरहरू।
खुसी र आशिषको यो जोडी गफिँदै महानगर छेउको डाँडामा पुग्छ जहाँबाट महानगर झिलिमिली देखिन्छ। त्यही बेला उनीहरूका अगाडि अर्को पात्र आइपुग्छ। ऊ कतारबाट फर्केर साथीहरूलाई भोज खुवाउँदा आफू पनि जाँडले मातेको हुन्छ। साथीहरू जाँडको नशामा झगडा गर्न थालेपछि ऊ रक्सीका सबै बोतल एउटा बोरामा राखेर डाँडातिर उक्लिन्छ।
उसले खुसी र आशिषको जोडीलाई नि:शुल्क बियर दिन्छ र झगडा नगरी बियरको मजा लिन आग्रह गर्छ।
खुसीले जीवनमा पहिलोपटक बियर खान्छिन्। बियरको नसामा खुसी र आशिषले महानगरलाई माझी औंला देखाउँछन्। खुसी गाउँबाट कवि बन्न काठमाडौं महानगर छिरेकी हुन्छिन्। आशिष दार्जिलिङमा आमा–बुबा गुमाएपछि ट्रेकिङ गाइड बनेर काठमाडौं आएका हुन्छन्।
बियरको मात लागेपछि खुसी अझ खुल्छिन्, हाँस्छिन् र मनको बह पोख्छिन्। बियरले लठ्ठिएर खुसी निदाएपछि आशिषले उनको डायरी भेट्छन् जहाँ खुसीले रचेका कविता छन्।
एकै रात यतिका दृश्य देखेका र भोगेका खुसी र आशिषको जोडीको भेटघाट भने अघिल्लो दिन मात्र भएको हुन्छ।
चलचित्र ‘महानगर’ का धेरैजसो दृश्य गाउँबाट विभिन्न सपना पूरा गर्न सहर पुगेका आमयुवाले भोग्नुपर्ने समस्या रहेको निर्देशक राईले बताए।
७० मिनेट लामो फिल्म 'महानगर' बनाउँदा १ करोडभन्दा बढी खर्च भएको उनले बताए।
पामेमा २० देशका ९४ वटा फिल्म
पाँच/ छ वर्ष पहिलेको कुरा हो, फिल्ममा रूचि राख्ने केही पोखरेली युवाले नेपालमा पनि विदेशमा जस्तै फिल्म महोत्सव गर्न पाए हुन्थ्यो भनेर छलफल गरेका थिए। उनीहरू काठमाडौंमा जम्मा भएर फिल्म महोत्सव आयोजना गर्नेबारे निरन्तर छलफल गर्न थाले।
काठमाडौंमा पर्वतीय फिल्म महोत्सव यसअघि नै भइरहेको थियो। उनीहरू काठमाडौंबाहिर जान चाहे। छलफलमा पोखराका युवाहरू धेरै भएकाले पोखरामै फिल्म महोत्सव आयोजना गर्ने निर्णय गर्न सकेको महोत्सवका संयोजक प्रवीण कार्की ‘टक्की’ ले बताए।
‘पोखरालाई फिल्म सिटीका रूपमा स्थापित गर्न पनि सहयोग पुगोस् भनेर फिल्म महोत्सव आयोजना गरेका हौं,’ उनले भने, ‘भविष्यमा अवश्य पोखरा फिल्मको हब बन्नेछ।’
यसरी सन् २०१४ देखि सुरू भएको पामे फिल्म महोत्सवको पाँचौ संस्करण सोमबारदेखि सुरू भएको छ। पाँच दिन चल्ने महोत्सवमा २० देशका ९४ वटा फिल्म तथा डकुमेन्ट्री प्रदर्शन गरिने संयोजक प्रवीणले जानकारी दिए।
महोत्सवमा फिल्म प्रदर्शनीका साथै मास्टर क्लास, वर्कसप, ल्याब, फोटो प्रदर्शनी, चित्रकला लगायत कार्यक्रम आयोजना गरिएका छन्।
महोत्सवमा प्रदर्शन गरिएका फिल्मबीच प्रतिस्पर्धा गराई सर्ट फिल्म, डकुमेन्ट्री, स्टुडेन्ट फिल्म, क्रिटिक्स् र अडियन्स च्वाइस अवार्डसमेत प्रदान गरिने आयोजकले जानकारी दिएको छ।