नेपालबाट प्रकाशित हुने ललित म्यागेजिन र प्रोफेसर तथा लेखक सम्राट उपाध्यायको पहलमा विगत पॉच वर्षदेखि भइरहेको अंग्रेजी 'सर्ट स्टोरी' प्रतियोगिताका विजेताहरूलाई काठमाडौं गेस्ट हाउसमा पुरस्कार वितरण गरिएको छ।
मंगलबार प्रतिस्पर्धामा पुरस्कृत प्रथम, द्वितीय र तृतीय हुने कथालाई क्रमश: २०, १५ र १० हजार प्रदान गरियो। प्रथम पूजा पौडेल, द्वितीय रितु राजवंशी र तृतीय दुई जना सदिश ढकाल र अल्फा शाक्यका कथाहरू ललित म्यागाजिनमा प्रकाशन गरिने बताइएको छ।
ललित म्यागेजिनले यस वर्ष कथा बुझाउने मिति २०२१ अक्टोबर १५ तोकेको थियो। प्रतियोगितामा १ सय ७५ वटा कथाहरू प्राप्त भएको थिए जसमध्ये ४६ वटा कथा लेखक उपाध्यायलाई पठाइएको थियो।
सोहीमध्ये सात वटा उत्कृष्ट कथा छानिएको र तीमध्ये तीनवटा पुरस्कृत भएका थिए। पुरस्कृत कथाहरूको छनौट लेखक उपाध्यायले गरेका थिए। उपाध्याय अमेरिकाको इन्डियाना युनिभर्सिटी ब्लुमिङटनका डिस्टिङ्ग्युस्ड प्रोफेसर हुन्। पुरस्कारको राशी लेखक उपाध्याय र इन्डियाना युनिभर्सिटीद्वारा प्रायोजित गरिएको हो।
सर्ट स्टोरी प्रतियोगिताको उद्देश्य, नेपाल र नेपालबाहिर बसोबास गर्ने नेपालीलाई अंग्रेजी भाषामा कथा लेख्न प्रोत्साहन गर्ने उद्देश्यले सुरु गरिएको आयोजकको भनाइ छ।
काठमाडौं गेस्ट हाउसले तीन वर्षअघि गेस्ट हाउसको ठमेलस्थित ड्रिम गार्डेनमा 'वाक अफ फेम' स्टोन राखिएको थियो।सोही समयमा, काठमाडौं गेस्ट हाउसले लेखक सम्राट उपाध्यायको नाममा आफ्नो होटेलको एउटा कोठा पनि 'डेडिकेट' गरेको थियो।