लामो समय कोरोनाका कारण बन्द भएका सिनेमा हलहरूमा अहिले लगालग फिल्म लागिरहेका छन्। कोरोना लकडाउनपछि लगत्तै हलमा लागेका केही नेपाली फिल्मको प्रदर्शन एकदमै खराब रह्यो। परिस्थिति नै त्यस्तै थियो।
अवस्था सामान्य भएसँगै सिनेमा हलहरूमा भारतीय र अंग्रेजी फिल्मले दर्शक तान्न सफल भए। हलहरूको अहिलेको अवस्था भन्नुपर्दा दक्षिण भारतीय फिल्म 'पुष्पा' र हलिउड फिल्म 'स्पाइडर म्यानः नो वे होम' ले थुप्रै दर्शकलाई हलसम्म तानेका छन्।
यसबीच नेपाली फिल्म ओझेलमै थिए। तर विस्तारै केही नेपाली फिल्म अपेक्षासहित हलको पर्दासम्म आउन थालेका छन्। यिनैमध्ये एक फिल्म हो 'कठपुतलीः द पपेट'।
हरर जनराको यो फिल्म पुस १६ गते, अर्थात् आजबाट रिलिज हुँदैछ।
कठपुतली विदेशका महोत्सवहरूमा प्रदर्शन भई अवार्डसमेत जित्न सफल भएको फिल्म हो। फिल्मले केही समयअघि मात्र अमेरिकाको 'विन्टर फिल्म अवार्ड' मा दुइटा अवार्ड जितेको थियो।
यो फिल्म सम्पदा मल्लको लेखन र भीमसेन लामाको निर्देशनमा बनेको हो। पृथ्वी राना मगर निर्माता रहेको फिल्मको कार्यकारी निर्माता सम्पदा मल्ल, सह-निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन्। फिल्मको पोस्ट प्रोडक्सनको सम्पूर्ण काम लन्डनको स्टुडियोमा भएको हो।
पृथ्वी राना प्रोडक्सनको ब्यानरमा निर्मित कठपुतली नेपालमा बनेका अन्य हरर फिल्मभन्दा एकदमै भिन्न रहेको निर्देशक लामाले दाबी गरेका छन्। उनी यो फिल्मलाई आफ्नो ड्रिम प्रोजेक्ट बताउँछन्।
फिल्मका सिनेमाटोग्राफर जोएल फ्रुमले अस्ट्रेलियन सिनेमाटोग्राफर सोसाइटीले प्रदान गर्ने अवार्डमा फिचर फिल्म अन्तर्गत 'बेस्ट सिनेमाटोग्राफर अवार्ड २०२१' समेत जितेका छन्।
यो त भयो फिल्मले पाएको चर्चा र सफलताको कथा। अब फिल्मकै कथातिर लागौं।
यो फिल्ममा हरर माध्यमबाट एउटा क्रुर शासकले जनतालाई कसरी कठपुतलीका रूपमा प्रयोग गर्छन् भन्ने देखाउन खोजिएको छ।
एउटा राज्यको शासकले युवतीहरूलाई राजा रजौटाहरूको 'सेवामा राख्ने' भन्दै सेवकका रूपमा राख्छन्। पछि आफ्नो यौन प्यास मेटाउन जबरजस्ती गर्छन् र यौन सम्पर्क गर्न तयार नभए उनीहरूको ज्यान लिन पनि पछि पर्दैनन्।
फिल्मको कथा यही विषयमा कथा घुम्छ।
राज्यको दमनविरूद्ध आवाज उठाइरहेका जनता, जनताको आवाजलाई शक्तिले कुल्चिन चाहने सन्की राजा र बाबुको कारण राजसंस्था जाला र गद्दीमा बस्न पाउँदिनँ कि भनेर डराइरहेको राजकुमार एकआपसमा भिड्ने बेला प्रेत आत्माहरूको प्रवेश रोचक लाग्छ।
यी आत्माहरू को हुन्छन्? उनीहरू केको बदला लिन आएका हुन्? बदलाका लागि के सम्म गर्न सक्छन् भन्ने नै फिल्मको मुख्य विषयवस्तु हो।
हामीकहाँ अझै पनि सामान्य रूपमा सुनिँदै आउने भूतका कथा र त्यसमा मान्छेहरू तर्साउन प्रयोग हुने उपायहरू फिल्ममा कलात्मक रूपले प्रस्तुत गरिएको छ।
फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा लगायतको अभिनय छ।
कलाकारहरूको अभिनयले पनि फिल्मलाई जिवन्त बनाउन सघाएको छ।
विदेशका महोत्सवहरूमा चर्चा पाएको यो फिल्मले नेपाली दर्शकको आँखामा कस्तो छवि छाड्छ, त्यो त हेर्न बाँकी नै छ।