लोक तथा परम्परात संगीतमा सक्रिय 'रैथाने' समूहले पोखरामा प्रस्तुति दिएको छ। पाँचौं पामे फिल्म फेस्टिभलमा गायिका झुमा लिम्बूको समूहले सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्मका रैथाने भाका सुनाए।
रैथानेले पहिलो पटक पोखरामा प्रस्तुति दिएको हो।
गायिका पुष्पा पलाञ्चोकेले दुई दाफा भजन गाएर कार्यक्रम सुरू गरेकी थिइन्।
नेपाल भाषा अन्तर्गतको दाफा भजनमा उनले साँखु जय जोगिनी र भैरव ग्वारा गाएकी थिइन्।
उक्त भजन उनले चासःद्य र तःननी मा संकलन गरेकी हुन्। देशका मौलिक संगीतलाई प्रवर्द्धनमा जुटेको रैथानेले नेपाल भाषामा प्रस्तुति दिएको पहिलो पटक भएको रैथानेकी संस्थापक पनि रहेकी झुमाले बताइन्।
गायिका झुमाले घाटु, हाकपारे, हियारी, तामाङ, मैथली, कौरा, डोट्याली लगायतका रैथाने संगीत प्रस्तुत गरेकी थिइन्।
उनले ‘दोख’ फिल्मको ‘रातैले बुन्छ’ गीत पनि गाइन्। यो गीतमा पुष्पा-संगमको संगीत र झुमाकै स्वर छ। झुमा र पुष्पालाई वाद्यवादनमा साथ दिएका थिए शम्भु बानियाँ, अशेष राई, मनिष गन्धर्व र चिलीका मोआ र तोमसले। मोआ र तोमसले पनि कार्यक्रममा चिलीकाे लोकसंगीत सुनाएका थिए।
नेपथ्य गायक अमृत गुरूङ, १९७४ एडीका निराकार याकथुम्बा, लेखक सरस्वती प्रतिक्षा लगायत रैथानेको प्रस्तुति सुन्न आएका थिए।
करिब एक घण्टाको प्रस्तुतिपछि ‘फिल्ममा मौलिक गीतसंगीत’ सम्बन्धी अन्तर्क्रिया भएको थियो। यसमा झुमा र पुष्पाले फिल्म सशक्त माध्यम भए पनि त्यसमा मौलिक संगीतको प्रयोग कमै हुने भनाइ राखे।
गायिका लिम्बूले फिल्मको कथासँगै मौलिक गीत संगीतलाई पनि महत्त्व दिनुपर्ने धारणा राखिन्।
‘हामीकहाँ फिल्मको छायांकन सकेर, सम्पादनमा आइपुग्दा बल्ल संगीतकारलाई खोजिन्छ। तर कथा लेखनकै क्रममा फिल्मका लेखकले संगीतकारलाई भेट्नुपर्छ। फिल्म गर्न जति गाह्रो छ, संगीत गर्न उत्तिकै गाह्रो छ,’ लिम्बूले भनिन्।
रैथानेसँगै फेस्टिभलमा विभिन्न देशका फिल्म प्रदर्शन भइरहेको छ। पुस १२ देखि सुरू भएको फिल्म महोत्सव शुक्रबार सकिँदैछ।