लागु औषधको मुद्दामा पोखराबाट पक्राउ परेका चर्चित र्यापर लाउरेसहित चार जनालाई आठ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
जिल्ला अदालत कास्कीले शुक्रबार लाउरे नामले परिचित आशिष रानासहित चार जनालाई आठ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए।
चार जनालाई प्रहरीले बुधबार बेलुकी पोखरा महानगरपालिका वडा नम्बर ८ स्थित न्युरोडबाट पक्राउ गरेको थियो।
पक्राउ पर्नेमा लाउरे, नविन गुरूङ, सुस्मिता गुरूङ र ध्रुवबहादुर थापा छन्।
‘उनीहरूविरूद्ध आठ दिन हिरासतमा राख्न म्याद थप भएको छ,’ प्रहरी उपरीक्षक थापाले भने।
उनीहरूलाई अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ।
उनीहरूमाथि ब्राउन सुगर कारोबार गरेको आरोप छ। उनीहरूबाट १३.०१ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरी निरीक्षक दीपक केसीले बताए।
उनका अनुसार लाउरे लगायतले ब्राउन सुगर कारोबार गरिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। सूचना पाएपछि कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई फेला पारेको हो। पछि पोखराको न्युरोडमै रहेको कोठाबाट ब्राउन सुगर बरामद भएको केसीले बताए।
‘कारोबार भइरहेको भन्ने सूचना प्राप्त भयो। त्यसपछि बाटोमा उनीहरूसँग भेट भयो। पछि ब्राउन सुगर उनीहरूको कोठाबाट बरामद भएको हो,’ उनले भने, ‘लाउरेले पहिले पनि प्रयोग गर्ने गर्थ्यो कि, किन्न आएको हो कि, के हो भन्नेबारे अब हामी विस्तारमा अनुसन्धान गर्छौं।’
लागुऔषध ब्राउन सुगर सुस्मिता गुरूङको घरबाट बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
प्रहरीले उनीहरू चारै जनामाथि एकै साथ अनुसन्धान अघि बढाएको छ। यसमा उनीहरू बाहेक अरू कसैको संलग्नता भए/नभएको बारेमा पनि बुझिरहेको छ।
लाउरे टेलिभिजन रियालिटी शो हिमालयन रोडिजका निर्णायक पनि हुन्। र्याप ब्याटल रअ बार्जबाट उनी चर्चामा आएका थिए।
उनको केस नम्बर ४०२, नेपहपको बाटो, मेरो सोल्टा, सुपर सागा लगायत गीतहरू चर्चित छन्। उनले ताण्डव सिनेमामा पनि खेलेका छन्।