सज्जनराज वैद्य नेपाली गीत-संगीतमा जमिसकेको नाम हो। विशेषगरी किशोर र युवा पुस्तामाझ लोकप्रिय सज्जनले आफ्ना गीतहरूबाट विशेष छाप पार्न सफल भएका छन्।
हालै उनको नयाँ गीत सार्वजनिक भएको छ। सन् २०२२ को पहिलो दिनको अवसर पारेर सार्वजनिक उनको नयाँ गीत हो 'सस्तो मुटु'।
यो गीत अहिले युट्युब ट्रेन्डिङको नम्बर एकमा छ। पाँच दिनमा १५ लाख बढी भ्युज कमाइसकेको 'सस्तो मुटु' ले अझै केही समय ट्रेन्डिङमा स्थान बनाउने देखिन्छ।
सज्जनले 'सस्तो मुटु' मा केही अलग र नयाँ शैली प्रस्तुत गरेका छन्। गायनशैलीदेखि संगीतसम्म नयाँपन पाउन सकिन्छ।
यो गीतको भिडिओमा सज्जन आफैंले अभिनय पनि गरेका छन्। भिडिओमा उनी विभिन्न लुक्समा देखिएका छन्।
केही दर्शकले उनको गायन शैली र भिडिओ आशा गरिएजस्तो राम्रो नभएको टिप्पणी गरेका छन्।
त्यस्तै यसका शब्दहरूलाई लिएर सामाजिक सञ्जालमा केही मिम र ट्रोल पनि बनेका छन्।
केही प्रयोगकर्ताले भिडिओका क्लिप्सहरू हालेर मिमहरू बनाएको देख्न सकिन्छ।
तर अधिकांश युवा स्रोताले 'सस्तो मुटु' का शब्द एकदमै राम्रो भएको कमेन्ट गरेका छन्। नयाँ पुस्ताको बोलिचालीको भाषामा उतारिएका शब्दहरूले उनीहरूलाई निकै प्रभाव पारेको प्रतिक्रियाहरू भिडिओमा देखिन्छ।
यो गीतमा सज्जनले युवा उमेरमा हुने प्रेमको अन्यौलता यसरी पोखेका छन्-
'के खाले माया हो, दिनदिनै कमाउनु पर्ने रे,
मनले पुग्दैन शिरमाथि चढाउनु पर्ने रे...'
'के तालको मनपरी, आफैंलाई महारानी रे?
कुन चाहिँले गफ लाइदियो
आफूलाई खुबै ठानिछे...'
यस्तैयस्तै शब्दले भरिएका सज्जनको 'सस्तो मुटु' उनको 'हवाइजहाज' सुनेर प्रशंसक भएकाहरूलाई मन नपरेको टिप्पणी सामाजिक सञ्जालमा देख्न सकिन्छ।
त्यस्तै अलि गम्भीर र भारी शब्द भएका गीत रूचाउने वा किशोर उमेर पार गरेकाहरूलाई पनि उनको गीतले यसपालि प्रभाव पार्न सकेको देखिँदैन।
तर उनले जुन उमेर लक्षित गरेर यो गीत पस्केका छन्, उनीहरूको मनको भावना नै गाउन सफल भएका छन् भन्दा फरक पर्दैन।
सामाजिक सञ्जालदेखि युट्युब भिडिओमा आएका कमेन्टले नै यो कुरा देखाउँछ।
तन्नेरी सज्जनले तन्नेरी पुस्ताका स्रोतालाई आफ्ना गीतले बाँध्ने सिलसिला 'सस्तो मुटु' मा पनि रोकिएको भने छैन।
सन् २०१४ मा 'आज मात्र' गीतबाट सांगीतिक यात्रा थालेका सज्जनलाई सबभन्दा धेरै चर्चा सन् २०१६ मा आएको 'हवाइजहाज' गीतले दिएको हो। यसको दुई वर्षपछि आएको 'चिठी भित्र' पनि स्रोताले मनपराए।
यसपछि सज्जनको चर्चा निरन्तर चुलियो। 'हतारिँदै, बतासिँदै, फुत्की जाने जोवन' उनका चर्चित गीत हुन्।
आठ वर्षमा डेढ दर्जन गीत दिएका सज्जन थोरै गीतबाट राम्रो चर्चा कमाउन सफल गायकमध्ये एक पर्छन्।