भोजपुरी कलाकार खेशारीलाल यादवका कारण मंगलबार सुनसरीको बर्जु गाउँपालिकामा हंगामा भयो। बर्जु महोत्सवमा आउने भनिएका यादव नआएपछि स्थानीय आक्रोशित भएका थिए।
यादवलाई हेर्न स्थानीयहरू बिहानैदेखि ३०० र ५०० रूपैयाँका दरले टिकट काटेर बसिरहेका थिए। मंगलबार महोत्सवको अन्तिम दिन यादवको पूर्वनिर्धारित सांगीतिक कार्यक्रम रद्द भएपछि आक्रोशित स्थानीयले कार्यक्रमस्थलमा आगजनी र तोडफोड गरे।
कार्यक्रम रद्द गर्नुपरेपछि स्थानीयले भारतीय नम्बर प्लेटका चार वटा स्कार्पियो र मोटरसाइकलमा आगजनी गरेका छन्। स्टेज र कुर्सीहरू समेत तोडफोड गरेका छन्। स्थानीयको तोडफोडबाट ठूलो क्षति भएको प्रहरीले जनाएको छ।
यादवले पनि फेसबुक लाइभ आएर घटनाबारे जानकारी दिएका छन्।
उनले भनेअनुसार उनको कार्यक्रम विराटनगरमा तय भएको थियो। तर विराटनगर पुगेपछि उनलाई थाहा भएको कि कार्यक्रम एउटा महोत्सव (मेला) हुँदैछ। र त्यसका लागि टिकट पनि काटिएको छ।
बढ्दो कोरोनाका कारण प्रशासनले महोत्सवमा रोक लगाएको थियो र कार्यक्रमका लागि अनुमति पनि दिएको थिएन।
यादवले यसबारे आफूलाई पहिल्यै कुनै जानकारी नदिई कार्यक्रममा बोलाएको पनि बताएका छन्। उनका अनुसार कार्यक्रम गर्न निस्किँदा होटलमै प्रहरी आएर कार्यक्रम गर्न नपाउने भनेका थिए।
यादवले भनेका छन्, 'मान्छेहरूलाई लागिरहेको होला कि म कार्यक्रममा आइनँ। तर यस्तो होइन। म २४ घन्टा काम गर्ने खालको मान्छे हुँ। मेरो करिब डेढ करोड रूपैयाँको नोक्सान भयो। टिमका सदस्यहरूलाई चोट लागेको छ। तर यो सबमा न त्यहाँका जनताको दोष छ न प्रशासनको। सरकारले दुई दिनअघि नै कार्यक्रममा रोक लगाएको थियो भने आयोजकले जनता र हामीलाई भन्नुपर्थ्यो।'
अन्तिममा यादवले आफू कार्यक्रममा आउन नसकेकामा माफी पनि मागेका छन्।
रातारात नेपाल र भारतमा समेत चर्चामा आएका खेशारीलाल यादव को हुन् त?
खेशारीलाल यादव भोजपुरी अभिनेता तथा गायक हुन्। सन् १९८६ मा रसूलपुर चट्टी, छपरा, बिहारमा जन्मेका उनको नाम पहिले शत्रुघ्न कुमार यादव थियो।
यादवले गायन क्षेत्रमा पहिलो सफलता भोजपुरी एल्बम 'माल भेटाई मेला' बाट पाएका थिए। उनी आफ्नो गायनमा ठेट देहाती भाषा प्रयोग गर्छन्। उनी पहिलेदेखि नै लोक गायनमा सक्रिय थिए।
गायन करिअरका सुरूआती दिनमा भने उनलाई आर्थिक समस्या परेको थियो। यस क्रममा उनले लिट्टी चोखा (पिठो र आलुको परिकार) पनि बेचेका थिए। तर जब उनले भोजपुरी एल्बमहरूमा गाउन थाले उनको चर्चा फैलिन थाल्यो।
भोजपुरी भाषा बोलिने उत्तर प्रदेश, बिहार र झारखण्डमा उनले गायकका रूपमा खुब चर्चा कमाए। त्यसपछि उनको रफ्तार सेलाएन।
त्यस्तै फिल्मी क्षेत्रमा भने सन् २०१२ मा सार्वजनिक भएको 'साजन चले ससुराल' ले उनलाई सफलता दिएको थियो। यो फिल्मले उनलाई भोजपुरी फिल्मका सुपरस्टार बनायो। गायन र फिल्मी दुवै क्षेत्रमा खेशारीलाल यादव हिट नाम बन्यो।
यसपछि हालसम्म ४० भन्दा बढी भोजपुरी फिल्ममा अभिनय गरिसकेका छन्।
सन् २०१४ मा यादव गायकका रूपमा बलिउड प्रवेश गरे। उनले 'कोयलांचल' फिल्ममा 'एके-४७' बोलको गीत गाएका थिए। यसको दुई वर्षपछि 'ग्लोबल बाबा' फिल्मका लागि 'होली में उडे' गाउने अवसर पाएका थिए।
सन् २०१७ उनले सबरंग फिल्म अवार्ड्समा सर्वश्रेष्ठ पार्श्व गायकको पुरस्कार पनि जिते।
यसपछि उनले फाट्टफुट्ट बलिउड फिल्महरूमा गीत गाए। त्यस्तै गायक बादशाहको 'पानी पानी' गीतको भोजपुरी संस्करणमा पनि सहयोग गरेका थिए।