नेपाली वांमयका विशिष्ट साधक बालकृष्ण समको १२०औं जन्मजयन्तीका अवसरमा ‘बालकृष्ण समको व्यक्तित्व, कृतित्व र योगदान’ विषयक परिचर्चा र रचनावाचन कार्यक्रम आयोजना गरिएको छ।
नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाली शिक्षा परिषद्को सहकार्यमा सोमबार आयोजित कार्यक्रममा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले समले कविता, नाटक, कथा लगायतका विधामा उत्कृष्ट कृति रचना गरी नेपाली वाङ्मयको उन्नयनमा अतुलनीय योगदान गरेको बताए।
‘नेपाली वांमयका प्रायः सबै विधामा समको उत्तिकै विशिष्ट योगदान रहेको छ तर विशेष गरी नाटकका क्षेत्रमा समको योगदान अतुलनीय छ,’ उनले भने।
प्रतिष्ठानका सदस्य प्रा जगतप्रसाद उपाध्यायले ‘बालकृष्ण समको व्यक्तित्व, कृतित्व र योगदान’का बारेमा चर्चा गर्दै सम पारिवारिक परिवेशकै कारण वांमय क्षेत्रप्रति आकर्षित भएको बताए।
साहित्य (पद्य/काव्य) विभागका प्रमुख प्रा.डा. हेमनाथ पौडेलले नाटक लेखन, कविता लेखनका साथै नाटक निर्देशन र अभिनयमासमेत समको विशिष्ट योगदान रहेको बताए।
साहित्य (लोकवार्ता र बालसाहित्य) विभाग प्रमुखका डा देवी नेपालले समका रचनागत प्रवृत्ति झल्किने प्रतिनिधिमूलक कविताका अंशहरूको वाचन गरेका थिए। नेपाल प्रज्ञा–प्रतिष्ठानकी प्राज्ञ सभा सदस्य रमा शर्माले नेपाली साहित्यका विशिष्ट साधक समको योगदान नेपाल र नेपाली कहिल्यै भुल्न नसकिने बताए।