लोकगायक जयनन्द लामाले दुई दशकपछि मौलिक लोक गीत सार्वजनिक गरेका छन्।
लामाले ‘महाभारा लेकको जंगलमा याला...’ बोलको लोकगीत हालै आफ्नै युट्यबमार्फत सार्वजनिक गरेका हुन्।
गायक लामाकै शव्द र संगीत रहेको लोक गीत उनलाई दीपा लामाले साथ दिएकी छन्।
बाबु जिम्बा, आरबी लामा, दाबा फिन्जो तामाङ, शशिकला मोक्तान र अञ्जु थोकरले जयनन्द र दीपालाई समूह गायनमा साथ दिएका छन्।
लोक गीतमा संगीत संयोजन छेवाङ तेन्जिङ लामा र मिक्सिङ कारसाङ लामाको रहेको छ।
छम छम नाच्न मिल्ने गीतमाथि आकर्षक भिडियो पनि तयार पारिएको छ। ल्होसारको अवसर पारेर सार्वजनिक गरिएको गीतको म्युजिक भिडियोमा कलात्मक र सांस्कृतिक नृत्य प्रस्तुत गरिएको छ।
इन्द्र गुरूङद्वारा निर्देशित म्युजिक भिडियोमा गायक स्वयं जयनन्द लामाका साथमा डोमा ह्योल्मो, दाब फिन्जो तामाङ, बाबु जिम्बा, श्याम माया गुरुङ, सकु तामाङ र कोरस कलाकारले नृत्य गरेका छन्।
सेवा फिल्मस्को दृश्य निर्माण र सुरेन्द्र थिङको निर्माणमा बनेको म्युजिक भिडियोको छायांकन मरुभूमि नारायण र सम्पादन बाबु जिम्बाले गरेका छन्।
‘यो मैले ३०/४० वर्षअघि नै संकलन गरेको गीत हो। जो पहाडी र हिमाली श्रृंखलाको बिचमा बस्ने सम्पूर्ण नेपालीको पूरानो र मौलिक परम्परागत गीत हो’ गीतका बारेमा जानकारी दिँदै गायक लामाले भने, ‘यो कुनै जात विशेषको गीत नभई ती भेकमा हरेक चाड पर्वमा पुर्खादेखि अहिलेसम्म पनि नाच्दै गाइने गीत हो।’
‘यसरी संकलन गरेका विभिन्न भेकका मौकिल र परम्परागत गीत मसँग अरु पनि छन्, जो दैनिक रेकर्ड गरेर पनि बाँचुञ्जेल गाएर सकिन्नँ,’ उनले अगाडि भने।
पाँच दशकअघि गायन यात्रा शुरू गरेका लामाले लोक गीत, दोहोरी गीत, गीति नाटक गरी दुई सय बढी गीत गाएका छन्।
गायक लामाले पछिल्लो समयमा फिल्मी अभिनयमा लोकप्रियता कमाईरहेका छन्।
हेर्नुहोस् गीत