गुड फ्राइडे सिनेमा
बलिउड पुरुषप्रधान छ। महिलाको तुलनामा पुरुष अभिनेताले बढी प्राथमिकता पाउनुका साथै निर्माणमा पनि पुरुषकै बोलबाला छ।
बलिउडमा फिल्मका विषय छान्दा पनि पुरुषलाई नै केन्द्रमा राखेको पाइन्छ। महिलाप्रधान विषय बलिउडका कथामा निकै कम पर्छन्। तर जति पनि बनेका छन्, व्यावसायिक र समीक्षक दृष्टिले सफल नै छन्।
तिनैमध्ये व्यावसायिक रूपले निकै सफल फिल्म हो 'क्वीन।'
क्वीनको विशेषता के भने, यो फिल्मको नाम मात्र होइन, विषयवस्तु पनि महिलाप्रधान छ। यो फिल्म हेर्नेहरूले मुख्य पात्र रानी बनेकी कंगना रनावतबाहेक अरू मुख्य पुरुष कलाकार को छन् भन्ने पनि हेक्का राख्दैनन्। जबकि यसमा कंगनासँगै राजकुमार रावको पनि मुख्य भूमिका छ। राजकुमार आफैंमा आफ्ना हरेक फिल्मबाट विशेष छाप छाड्न सफल अभिनेता हुन्।
अर्को विशेषता, कंगना रनावतलाई बलिउड 'क्वीन' उपाधि दिलाउने फिल्म यही हो। उनले यही फिल्मबाट नेसनल फिल्म अवार्ड पाएकी थिइन्।
पछिल्लो समय कंगनाले बलिउडमा सकारात्मक वा नकारात्मक चर्चा जति पनि कमाएकी छन्, त्यसको जड पनि यही फिल्म हो। भन्नुको मतलब, यही फिल्मको जडमा कंगनाले बलिउडमा आफ्नो साख मजबुत बनाएकी हुन्। यसपछि त उनले अधिकांश फिल्म आफ्नै बुतामा चलाइन्, बनाइन्। 'मणिकर्णिका' मा त उनी रानीबाट झाँसीकी रानी मात्र बनिनन्, निर्देशनको कमान नै सम्हालिन्।
आज गुड फ्राइडे सिनेमामा हामीले यही क्वीन फिल्म सिफारिस गरेका छौं।
यो फिल्मको कथा २४ वर्षे रानी (कंगना रनावत) को बिहेको रमझमबाट सुरू हुन्छ। उनी एक साधारण पन्जाबी महिला हुन् जो दिल्लीमा बस्छिन्। उनको बिहे उनले मनपराएका केटा विजय ढिंग्रा (राजकुमार राव) सँग छिनिएको हुन्छ।
रानी खुसी देखिन्छिन्। बिहे र विजयलाई लिएर धेरै सपना गाँसेकी हुन्छिन्।
तर विजयले बिहेको केही दिनअघि उनीसँग बिहे गर्न मन नभएको बताउँछन्। आफू विदेश बस्ने भएकाले रानी उनको जीवनमा मेल नखाने भन्दै विजय पन्छिन्छन्।
रानी यो कुराले दुखी हुन्छिन्। दिनभर कोठामा थुनिएर विजयसँगको प्रेम यात्रा सम्झिन्छिन्। अनि आफूलाई सम्हाल्न खोज्छिन्।
बिहेपछि हनिमुनका लागि उनीहरूको पेरिस र एम्सटरड्याम जाने योजना हुन्छ। रानी आफ्नो बिहे नभए पनि पेरिस जाने आफ्नो योजना पूरा गर्न चाहन्छिन्। आमाबुवालाई मनाएर आफ्नो हनिमुन प्याकेजमा एक्लै पेरिस पुग्छिन्।
पेरिसमा उनको जीवनमा ठोक्किन आइपुग्छिन् विजयलक्ष्मी (लिजा हेडन)। रानी बसेको होटलमा काम गर्ने विजयलक्ष्मीका जीवनमा कयौं अप्ठ्यारा हुन्छन्। तर ती सबलाई व्यवस्थापन गर्दै उनी खुसी जीवन बिताइरहेकी हुन्छिन्। विजयलक्ष्मीको स्वतन्त्र स्वभावले रानीलाई प्रभाव पार्छ।
विजयबाट मन टुटेर पेरिस पुगेकी रानीलाई विजयलक्ष्मीको साथले बलियो बनाउँछ। अप्ठ्यारो आइपरेर भारत फर्किन खोज्दा पनि उनले रानीलाई रोक्छिन् र उनको भ्रमण सक्न भन्छिन्। उनलाई पेरिस घुमाउँछिन्। पेरिसको जीवन देखाउँछिन्।
अनि पेरिसमा रानीको मन बदलिन्छ, स्वरूप बदलिन्छ। उनी आफैंभित्रकी 'रानी' खोज्न थाल्छिन्।
साधारण कपडा लगाउने रानी आधुनिक शैलीका लुगा लाउन थाल्छिन्। एकदिन यस्तै नयाँ लुगा लगाएको सेल्फी खिचेर विजयलक्ष्मीलाई पठाउँछिन्। तर नाम उस्तै भएकाले उक्त फोटो विजयकहाँ पुग्छ।
रानीलाई नयाँ स्वरूपमा देखेर विजय चकित खान्छन्। उनको नयाँ स्वरूपले विजयलाई आकर्षित गर्छ। अनि उनी रानीलाई भेट्न पेरिस आउने भन्छन्।
उता विजयलक्ष्मीसँग छुटेर रानी एम्सटरड्याम पुग्छिन्। त्यहाँ उनले विभिन्न देशका तीन पुरुषसँग होस्टलको कोठा सेयर गरेर बस्नुपर्ने हुन्छ। सुरूमा धक माने पनि रानी उनीहरूसँग घुलमिल हुन्छिन् र चार जना साथी बन्छन्।
एम्सटरड्याम र नयाँ साथीहरूले रानीलाई थुप्रै कुरा सिकाउँछन्, देखाउँछन्। उनको आत्मविश्वास बलियो हुँदै जान्छ।
यसबीच उनले थुप्रै कुरा अनुभव गर्छिन् जुन फिल्मले विस्तारमा देखाउँछ। यसबीच रानीको एक इटालियन कुकसँग चिनापर्ची हुन्छ। उनीहरूको सम्बन्ध कस्तो हुन्छ, यसनिम्ति फिल्म नै हेर्नुहोला।
तर क्वीनको ट्विस्ट यति मात्र होइन।
एम्सटरड्याममा जीवनकै सुखद समय अनुभव गरिरहेका बेला विजय रानीलाई खोज्दै टुप्लुक्क होस्टलअगाडि आइपुग्छन्। रानीसँग माफ माग्दै आफूहरूको सम्बन्ध फेरि अगाडि बढाउने प्रस्ताव राख्छन्। बिहेका निम्ति आग्रह गर्छन्।
के रानीले विजयको प्रस्ताव स्वीकार्लिन्?
रानी साधारण भएकैले बिहे तोडेका विजयलाई उनको नयाँ अन्दाज मनपर्ला?
क्वीन फिल्मको मध्यान्तरपछाडिको कथा यिनै प्रश्नको वरिपरि घेरिएको छ।
एउटा कमजोर लाग्ने महिला पात्र समयसँगै कसरी शसक्त बन्न सक्छिन् भन्ने यो फिल्मले देखाउँछ। फिल्मी शैलीमा गम्भीर कथा पस्केको क्वीनमा कमेडी पनि भरपुर छ। कंगनाले गम्भीर र कमेडी पात्र दुवै भूमिकामा न्याय गरेकी छन्।
त्यस्तै राजकुमार राव र कंगनाको वरिपरि घुम्ने अन्य पात्रको अभिनय पनि दमदार छ।
कंगनाको निर्दोष हाँसोबाट सुरू हुने यो फिल्म उनको आत्मविश्वासी मुस्कानसँगै सकिन्छ। त्यसैले फिल्म हेरिसक्दा दर्शकको मनमा पनि आनन्द भरिन्छ।
(फिल्म हेर्न watch on youtube मा क्लिक गर्नुहोला।)