नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को पाँचौं संस्करण चैत १७ गतेदेखि आयोजना हुने भएको छ।
यसअघि चैत १० देखि १४ सम्म हुने भनिएको महोत्सव कोरोनाको कारण एक हप्ता सरेको आयोजक नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीले बताएको छ।
देश विदेशबाट लामा, छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्र गरी सात विधामा १४ अवार्ड दिने एकेडेमीले जनायो।
सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा केही चलचित्र भर्चुअल र केही भौतिक रुपमा प्रदर्शन गर्ने तयारी रहेको आयोजकले जनाएको छ।
निफका अध्यक्ष केपी पाठकले महोत्सवमा प्रतिस्पर्धा गर्न ५५ देशबाट ५०० चलचित्रले आवेदन दि एपनि ३८ देशका ८९ फिल्म मात्रै छानिएको बताए। उनले नेपाली फिचर फिल्म प्रदर्शन गर्नको लागि भने निर्माताहरूले नमानेको बताए।
उनले नेपाली फिचर चलचित्रलाई प्रदर्शन गर्नको लागि भने सास्ती खेपेको जनाउँदै भने, ‘हामीले नेपाली चलचित्र निर्माताहरूलाई भरोसा दिलाउन नसकेको भनेर यसलाई बुझेका छौं, आगामी दिनमा उहाँहरूले विश्वास गर्ने गरी काम गर्छौं।’
पत्रकार सम्मेलनमा निफका अध्यक्ष पाठकले कोरोनाको यो समयमा महोत्सव स्पोन्सर खोज्न गाह्रो भइरहेको जानकारी दिँदै अन्य सम्पूर्ण काम लगभग सकिएको बताए। पाठकका अनुसार महोत्सवमा निर्णायकको लागि अन्तर्राष्ट्रिय चलचित्रकर्मीहरूलाई ल्याउने तयारी रहे पनि सम्झौता हुन भने बाँकी रहेको बताए।
कार्यक्रमा यसअघिका मुख्य निर्णायकमध्येका निर्देशक नीर शाह र तुलसी घिमिरेले नेपालमा निफजस्ता चलचित्र महोत्सव हुनु खुसीको कुरा भएको बताए। त्यस्तै नेपाल चलचित्र बोर्डका अध्यक्ष दयाराम दाहालले नेपाली चलचित्र महोत्सव बोर्डले नै गर्ने तयारी रहेको जानकारी दिए।
उनले भने, ‘यस्तो महोत्सव चलचित्र बोर्डले गर्नेगरी सञ्चार मन्त्रालयमा प्रस्ताव पेस गरिएको छ। सायद छिट्टै यसको बारेमा निर्णय होला।’