आठ वर्षकी थिइन् रुषा न्यौपाने। एकदिन उनले आफ्नो घरनजिकै फिल्म सुटिङ हुँदै गरेको थाहा पाइन्। बालसुलभ लहड न हो, हुलमा मिसिएर उनी पनि गइन् सुटिङ हेर्न।
सुटिङमा थिइन् अभिनेत्री झरना थापा।
सुनसरी, इटहरीकी रुषा सानैदेखि नाच्न मन पराउँथिन्। झरनाको फिल्म सुटिङ हेरेपछि रुषाको मन बहकियो। उनलाई पनि झरनाले जस्तै फिल्म खेल्न मन लाग्यो।
'बच्चा बेलामा फिल्मी गीतका लागि सुटिङ भइरहेको देखेपछि मलाई फिल्मले तान्यो,' रुषा भन्छिन्, 'विपीन कार्की र प्रियंका कार्कीका फिल्म हेर्न थालेपछि झन् मलाई हिरोइन बन्ने नै इच्छा जाग्यो।'
कुरा सन् २०१७ को हो, रुषा ११ कक्षामा पढ्दै थिइन्।
एरिना टेलिभिजनले 'मिस कलेज' नाम राखेर सौन्दर्य प्रतियोगिता आयोजना गर्यो। रुषाले उक्त प्रतियोगिता आफ्ना लागि फिल्ममा छिर्ने ढोका हुन सक्ने ठानिन्।
सोचेजस्तै भयो।
देशभरिका धेरै वटा कलेजका छात्राले भाग लिएको उक्त प्रतियोगितामा रुषाले उपाधि जितिन्। यसपछि उनले एरिना टेलिभिजनमा एउटा कार्यक्रम चलाउने मौका पाइन्। यो कार्यक्रमले क्यामरा सामुन्ने उनलाई सहज बनाइदियो। सामाजिक सञ्जालमा पनि उनी छाउन थालिन्।
एकदिनको कुरा हो। रुषा कलेजको कक्षा सकिएर घरमा दिउँसोको खाजा खाँदै थिइन्। फोनको घन्टी बज्यो। म्युजिक भिडिओ खिच्ने सुर्वण शमशेर विष्टको फोन रहेछ।
'उहाँले तपाईंको केही क्लिप हामीले फेसबुकमा हेर्यौं, अभिनय गर्न सक्नुहुन्छ भन्ने लागेर फोन गरेको भन्नुभयो,' रुषाले विवरण सुनाइन्।
उनले तरुन्तै 'ओके' भनिन् ।
त्यो प्रस्ताव म्युजिक भिडिओकै लागि थियो, रुषा लागि पहिलो र ठूलो अवसर बन्यो!
'तिम्रो जति' नामको म्युजिक भिडिओमा रुषाले 'भावुक केटी' को भूमिका गर्नुपर्ने थियो।
आफ्नो अभिनय अनुभव सुनाउँदै भनिन्, 'अभिनय केही पनि थाहा थिएन। फिल्म हेरेको भरमा काम गर्नु थियो। अवसर पाउनु नै ठूलो कुरा थियो। खुसीले मेरा आँखाबाट आँसु झरे।'
गीत सार्वजनिक भयो। उनको अभिनय धेरैले मनपराए। यस बेलासम्ममा रुषा १२ कक्षाको परीक्षा दिएर फुर्सदमा थिइन्। लगत्तै दुइटा म्युजिक भिडियो र एउटा वेब सिरिजमा अवसर आयो। उत्साहित हुँदै उनी काठमाडौं आइन्।
काठमाडौंमा भेटघाटमै एक महिना बित्यो। उनलाई म्युजिक भिडिओको टिम राम्रो लागेन।
'मैले दुवै म्युजिक भिडिओ छाडिदिएँ। सामाजिक कथाको वेब सिरिज चाहिँ राम्रो लाग्यो, गर्ने भएँ,' उनले भनिन्।
बसाइ ग्वार्कोमा थियो, वेब सिरिजको कार्यशाला बालकुमारीमा। सिरिजका लागि उनले आफ्नो तौल पनि घटाइन्। रुषालाई यसको टिम राम्रो लागेको थियो। टिमले कलाकारलाई सम्मान गरेको महसुस गरिन्। तर सुटिङ सुरू हुने प्रतीक्षा गर्दागर्दै निर्माण टोली बेपत्ता भयो।
'टिम राम्रो लागेको थियो, दायाँबायाँ केही स्वार्थ छैन जस्तो लागेको थियो,' उनले भनिन्, 'तर सुटिङ सुरू हुन्छ भन्दाभन्दै प्रोडक्सन टिम नै भाग्यो। मेरो मेहनत र समय खेर गयो।'
अन्ततः फिल्ममा जाने सपना पूरा नहुने ठानेर रुषा घर फर्किन्। परिवार छोरीको वेब सिरिजको प्रतीक्षामा थिए। रुषा भने खुसी बाँड्न सक्ने अवस्थामा थिइनन्। मौन बसिन्।
तर उनी निराश भइनन्। उल्टो ऊर्जा थपियो।
'निराश हुनु हुँदैन, एकचोटि लडेर के भयो र, फेरि उठ्नु पर्छ, तिमी मेहनती छौ, धैर्य गर भनेर दाइ र आमाबाले सम्झाउनुभयो,' रुषाले स्मरण गरिन्, 'उहाँहरूको हौसलाले मलाई फेरि काठमाडौं फर्किने आँट आयो।'
यति बेलासम्ममा उनले १२ कक्षा पास गरिसकेकी थिइन्। ठिक त्यही बेला इमेज च्यानल टेलिभिजनले 'मेगा मोडल' नाममा रियालिटी शो गरेको थियो। खासमा रुषालाई मोडलिङमा जाने इच्छा थिएन। तर सिनेमा छिर्ने बाटो बन्न सक्ने अपेक्षामा उनी अडिसनमा सहभागी भइन्। उनी दुई चरणमा विजेता पनि भइन्।
इमेज च्यानलले मेगा मोडलको अर्को भागका लागि रुसालाई काठमाडौं बोलायो। उनी काठमाडौंमै होस्टल बसेर स्नातक तह भर्ना भइन्।
एकदिन उनले निर्देशक मिलन च्याम्सको पोस्ट फेसबुकमा देखिन्। मिलनले नयाँ कलाकार खोजेका रहेछन्। मिलनको पोस्टले रुषालाई आशाको मधुरो किरण देखाइदियो। एकपटक प्रयास किन नगर्ने भन्ठानेर उनले आफ्नो व्यक्तिगत विवरण पठाइन्।
नभन्दै भोलिपल्ट फोन आयो। रुषा निर्देशकको कार्यालयमा पुगिन्।
'स्क्रिन टेस्टका लागि एउटा म्युजिक भिडिओ गर्नुपर्ने भयो। मैले गरेँ, प्रोडक्सन टिमको चित्त बुझ्यो,' रुषाले भनिन्।
यही समयमा रुषालाई सामाजिक विषयमा आधारित सर्ट फिल्मको अफर आयो। उनी सामाजिक अभियन्ताको भूमिकामा उपस्थित भइन्।
'मलाई मोडलिङमा धेरै रूचि नभएकाले निर्देशक मिलनको सम्पर्कमा पुगेपछि फिल्ममै जाने प्रतीक्षामा बसेँ,' उनले भनिन्, 'थप अवसर आउन थाल्यो। छनौटको सुविधा बढ्दै गयो।'
यसै बेला उनले मिलनकै निर्देशनमा 'झिमी झिमी' बोलको गीतमा पनि अभिनय गर्ने मौका पाइन्। धेरै कलाकारहरू भेटिन थाले। अभिनय सिक्ने र बुझ्ने मौका पाउँदै गइन्।
एकदिन अचानक रुषालाई मेकअप आर्टिस्ट मनिता तामाङको फोन आयो। मेकअपकै सिलसिलामा रुषा र मनिताको चिनजान भएको थियो। फोनमा मनिताले 'हाम्रो डाइरेक्टरले नयाँ फेस खोज्नुभएको छ, तिमीलाई कल गर्नुहुन्छ होला' भनिन्।
नभन्दै 'बिहे पास' नामको फिल्मका निर्देशकको फोन आयो। फिल्ममा दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य भूमिका रहेको जानकारी पनि निर्देशकले गराए।
रुषाको खुसीको सीमा रहेन। दयाहाङ र प्रकृति छन् भनेपछि कथा पनि राम्रो हुनुपर्छ भन्ने लाग्यो। उनीहरूसँग काम गर्न पाउने कुराले मन झन् बढी फुरुंग भयो।
'यसपछि मेरो समय पनि आउनेरहेछ, किन आत्तिनु भन्ने लाग्यो,' रुषाले ती दिन सम्झिन्, 'धैर्य गर्नुको प्रतिफल पाएको अनुभव भयो। बालापनदेखिको फिल्म खेल्ने सपना पूरा भयो।'
उनले फिल्मको स्क्रिप्ट पाइन्। यसपछि बल्ल आफूले पाएको अवसरबारे आमाबाबालाई सुनाइन्। रुषा आमाबाबालाई आफ्नो सुटिङ पनि देखाउन चाहन्थिन्। विराटनगरमा २२ दिनको सुटिङ क्रममा उक्त चाहना पूरा भयो।
रुषाका अनुसार सुटिङ क्रममा दयाहाङ र प्रकृतिले उनलाई खुब सहयोग गरे। समय बितेको पत्तै भएन।
'तर म्युजिक भिडिओ र फिल्मको अभिनयमा ठूलो अन्तर हुने रहेछ,' उनले भनिन्, 'फिल्ममा धेरै मेहनत चाहिन्छ।'
रुषा यो महेनत अझै बढाउँदै लैजाने बताउँछिन्। आफ्नो सपनाको बाटो पछ्याउँदै आएकी रुषामा राम्रो अभिनय सम्भावना रहेको उनलाई चिन्ने कलाकारहरू बताउँँछन्।
उनमा सम्भावना देख्ने यस्तै कलाकारमध्ये एक हुन् मुकुन भुसाल। अभिनयमा अब्बल सावित भइसकेका मुकुन भन्छन्, 'रुषा सिने क्षेत्रमा बलियो सम्भावना भएकी मेहनती कलाकार हुन्।'
मुकुनले अभिनयमा सञ्चालन गरेको एक महिने निःशुल्क कार्याशालामा पनि रुषा सहभागी थिइन्। कार्यशालामा एकदिन पनि अनुपस्थित नभइ उनले धेरै नयाँ तरिकाहरू सिकेको मुकुनले बताए।
रुषाको रूचि सकारात्मक सन्देशयुक्त फिल्म हो। यस्ता फिल्ममा जुनकुनै भूमिकामा अभिनय गर्न तयार भएको उनी बताउँछिन्। तर काममा सधैं आफूले सोचेजस्तो मात्र नहुन सक्छ भन्ने उनलाई लागेको छ।
'मनोरञ्जनको क्षेत्रको अनुभव बेग्लै हुँदो रहेछ। अनेक किसिमका मान्छे भेटिँदा रहेछन्,' रुषा भन्छिन्, 'तर यो क्षेत्रमा प्रवेशका लागि गरेको संघर्षले धैर्य र मेहनत सिकाएको छ। ठक्करसँग जुध्दै अगाडि बढ्ने आँट दिएको छ।'