गुड फ्राइडे सिनेमा
मान्छेहरू डाक्टरकहाँ किन जान्छन्? रोगबाट बच्न। मृत्युबाट जोगिन। तर सामान्य बिरामीले डाक्टरकै लापरबाहीका कारण ज्यान गुमाउनुपर्यो भने?
यस्तै घटनामा आधारित फिल्म हो- अंकुर अरोरा मर्डर केस।
यो फिल्म एक इन्टर्न डाक्टर रोमेश बर्मा (अर्जुन माथुर) बाट सुरू हुन्छ। रोमेश आफ्नो सपना पछ्याउँदै डाक्टर भी अस्थाना (के के मेनन) को अस्पतालमा इन्टर्नसिप गर्न पुगेका हुन्छन्।
डा. अस्थाना सेखावत अस्पतालका प्रमुख शल्यचिकित्सक हुन्। उनको बोली र व्यवहार रूखो छ तर उनी एकदमै काबिल डाक्टरमा गनिन्छन्। उनीसँग काम गर्नु रोमेशको ठूलो सपना हुन्छ। उनी अस्थानाजस्तै डाक्टर बन्न चाहन्छन्।
रोमेशसँग 'लिभ-इन' सम्बन्धमा रहेकी उनकी प्रेमिका डाक्टर रिया श्रीवास्तव (विशाखा सिंह) पनि त्यही अस्पतालमा इन्टर्नसिप गरिरहेकी छिन्।
एकदिन अस्पतालमा शल्यक्रिया बेला डा. अस्थानाले रोमेशलाई बिरामीको फोक्सोमा सुई हान्न अह्राउँछन्। रोमेशको हात काम्छ। डाक्टर भएर यत्ति काम गर्न डराएको भन्दै डा. अस्थानाले उनलाई झपार्छन्। उनको नजरमा रोमेश 'कायर' देखिन्छन्।
यो घटनाले रोमेशलाई दु:खी बनाउँछ।
त्यही बेला एक आठ वर्षे बालक उपचार गर्न अस्पताल आइपुग्छन्। उनको नाम हुन्छ, अंकुर अरोरा (विशेष तिवारी)।
अंकुरको पेट दुखेको भएर उनकी आमा नन्दिता अरोरा (टिस्का चोपडा) ले अस्पताल ल्याएकी हुन्छिन्। रोमेशले सुरूमा उनलाई हेर्छन् र एपेन्डिसाइटिस भएको लख काट्छन्। अरू परीक्षण भोलिपल्ट मात्र हुने भएकाले अस्पताल भर्ना गर्न सुझाउँछन्।
भोलिपल्ट डा. अस्थाना आएर अंकुरलाई हेर्छन्। उनी डा. रोमेशलाई के कारणले एपेन्डिसाइटिस भएको अनुमान लगायौ भनेर रूखो शैलीमा केरकार गर्छन्। तर एपेन्डिसाइटिस नै भएको पुष्टि भएपछि रूखो शैलीमै रोमेशको तारिफ पनि गर्छन्।
तारिफ त गर्छन् तर अघिल्लो घटनाका कारण अंकुरको शल्यक्रियामा उनी रोमेशलाई बस्न दिँदैनन्।
अंकुरको सामान्य शल्यक्रिया गर्नुपर्ने हुन्छ। स्वास्थ्यमा कुनै जटिलता हुँदैन। तर उनको शल्यक्रिया जटिल भइदिन्छ। उनी कोमामा पुग्छन्। पछि उनको मृत्यु हुन्छ।
यहाँनिर काबिल र चर्चित मानिएका डा. अस्थानाको डरलाग्दो रूप देखिन्छ। उनले शल्यक्रिया क्रममा जे गर्छन्, अंकुरको मृत्युको कारण त्यही हुन्छ। अंकुरको परिवार र अरूलाई भने मृत्युको कारण अर्कै बताइन्छ।
शल्यक्रियामा अस्थानासँगै रोमेशकी प्रेमिका रिया र अन्य केही डाक्टर हुन्छन्। अस्थानाले आफ्नो व्यवहारबारे उनीहरूलाई जे भन्छन्, त्यसले फिल्ममा नयाँ मोड लिन्छ। त्यसपछिको कथा फिल्मको विशेष पक्ष हो।
यतिन्जेल राम्रो डाक्टर हो भन्दैमा मान्छे राम्रो हुन सक्दैन भन्ने अनुभव गरिसकेका रोमेशले अंकुरको शल्यक्रिया क्रममा भएको घटना र अस्थानाको व्यवहार थाहा पाउँछन्।
उनले बुझ्छन्- अंकुर अरोराको हत्या भएको हो।
रोमेश अब यसै बस्न सक्दैनन्। अंकुर र उनकी आमालाई सम्झेर विचलित हुन्छन्। मानसिक द्वन्द्वमा फस्छन्- आफ्नो पेसा र अस्पताल रोज्ने कि मानवीयता?
यो द्वन्द्व उनको दिमागमा मात्र सीमित हुँदैन। अस्थानासँगै उनकी प्रेमिका रियामाथि पनि पोखिन्छ।
उनको द्वन्द्व कहाँसम्म पुग्छ? उनले के-के कदम चाल्छन्? डा. अस्थाना र प्रेमिका रियासँग उनको सम्बन्धले कुन मोड लिन्छ?
के उनी अंकुरलाई न्याय दिलाउन सफल हुन्छन्? वा, डा. अस्थानाको तिकडम र लोकप्रियताबीच उनको प्रयास यसै सेलाउँछ?
फिल्मको बाँकी आधा कथाले यिनै प्रश्नको जवाफ खोतल्छ।
सन् २०१३ मा बनेको यो फिल्मले अस्पतालभित्र हुने बेथिति र नामी डाक्टरबाट हुन सक्ने लापरबाहीको कथा पस्केको छ। वास्तविक घटनाबाट प्रेरित यो फिल्मको कथाले समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको थियो।
बलिउडमा प्रायः सामाजिक कथाका फिल्मले बक्स अफिसमा कमाउन सक्दैनन्। 'अंकुर अरोरा मर्डर केस' पनि त्यस्तै फिल्म हो। करिब साढे सात करोड भारूमा बनेको यो फिल्मले जम्मा दस करोड भारू कमाएको थियो।
फिल्मको कथा अब्बल र सन्देशमूलक छ। केके मेनन, अर्जुन माथुर, टिस्का चोपडाको अभिनयले अझ सशक्त बनाएको छ। मध्यान्तरपछि आउने कतिपय मुख्य पात्रको अभिनय भने ठिकठाक मात्र छ। मनिष चौधरीले वकिलको भूमिकामा न्याय गर्न सकेका छन्।
सुहेल ततारीको निर्देशनमा बनेको यो फिल्मले उठाएको विषयलाई धेरै समीक्षकले समयसापेक्ष भन्दै तारिफ गरेका छन्।
(फिल्म हेर्न watch on youtube मा क्लिक गर्नुहोला।)