कवि भुपि शेरचनको कविता ‘चिसो एष्ट्रे’ माथि बनेको फिल्म चैत ४ बाट प्रदर्शन हुने भएको छ।
फिल्मको टिमले आइतबार काठमाडौंमा पत्रकारहरूसँग अन्तर्क्रिया गर्दै चैत ४ गतेबाट प्रदर्शनीमा आउने जानकारी दिएका हुन्।
निर्देशक दिन्स पाल्पालीले यो फिल्म निर्माण गर्दा धेरै दुख पाएको बताए।
उनले फिल्मको स्क्रिप्ट बनाउँदा देखि नै धेरै जनाको प्रतिक्रिया लिएर काम गरेको आशय व्यक्त गरे।
यस फिल्ममा दिव्य देव, रबिन तामाङ, सुशिलराज पाण्डे, श्रृष्टी श्रेष्ठ, नवीन लम्साल तथा निकुन श्रेष्ठ लगायतले अभिनय गरेका छन्।
फिल्ममा काठमाडौंको साँस्कृतिक प्रभावमा पर्ने गाँउले युवकको कथा रहेको निर्देशक पाल्पालीले बताए।
उनले एउटा कविताबाट फिल्मको कथा लेख्न धेरै गाह्रो भएको अनुभव सुनाए। उनले यस फिल्मका पात्रहरू जीवन्त तथा यही समाजबाट उठाएको बताए।
नायिका श्रृष्टीले यस फिल्मको पात्रले गर्दा आफ्नो जीवन बुझ्ने धारणामा परिवर्तन आएको बताइन्।
उनले यस फिल्ममा पुतली राख्ने कलाकार(बटरफ्लाई इन्स्टलेसन आर्टिस)को भूमिका निभाएको जानकारी दिइन्।
फिल्मको मुख्य भूमिकामा रहेका कलाकार दिव्य देवले भाइब्रेन्ट रहेको र व्यवसायिक चलचित्रमा जस्तो लाइट, एक्सन, नाचगान सबै रहेकोले यो कुनै एक प्रकारका दर्शकको लागि नभएको जिकिर गरे। उनले यो धेरै दर्शकलाई मनपर्ने विश्वास पनि व्यक्त गरे।
कलाकार नवीन लम्सालले फिल्ममा चुरोटलाई पनि मेटाफोरिकल्ली पात्रको रूपमा राखेको खुलाए।
‘एउटा पात्र गाउँबाट काठमाडौं आएर कसरी ठिटो बन्ने चक्करमा चुरोटको ठुटो बन्छ भन्ने कथा फिल्ममा छ,’ उनले भने।