कर्णाली उत्सवको तेस्रो संस्करण भोलिदेखि सुरू हुँदैछ। २०७६ बाट सुरू भएको कर्णाली उत्सव (कुडा कर्णालीका) शुक्रबारदेखि सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले उद्यानमा हुँदैछ।
अहिलेको तेस्रो संस्करण पनि तीन दिन (फागुन २७–२९) सम्म चल्ने आयोजक ऋति फाउण्डेसनले जनाएको छ।
यो पटकको कर्णाली उत्सवमा समसामयिक विषयमा १२ वटा सत्र सञ्चालन गरिनेछ।
विशेषगरी कर्णालीको सन्दर्भलाई उठान गर्नेगरी यो वर्ष पनि सत्रहरू सञ्चालन गर्न लागिएको आयोजक ऋति फाउण्डेसनका कार्यकारी निर्देशक दिनेश गौतमले जानकारी दिए।
यो पटकको उत्सवमा ‘कर्णाली भेरी सुसेल्दो छ’, ‘बजार विकास र हजार निकास’, ‘आरन अन्वेषण र आविष्कार’, ‘लगानीमा लगाम’, ‘झरो–उजेलोको खरो’, ‘कर्णाली भेरी तीरैतीर भविष्यको पीर’, ‘रैबार र रैला’, ‘शून्य समय’, ‘वाद विवाद र संवाद’, ‘विकासको बाटो’, ‘उमेरको उमंग’ र ‘कर्णाली चिन्तन (दीगो विकास र कर्णाली)’ शीर्षकमा सत्रहरू सञ्चालन गरिनेछ।
पहिलो सत्र ‘कर्णाली भेरी सुसेल्दो छ’ मा गंगा केसी, प्रेमदेव गिरी, नन्दकृष्ण जोशी र विजया शर्मा वक्ताका रूपमा रहनेछन् भने डा. नवराज लम्सालले सत्रको सञ्चालन गर्नेछन्।
‘बजार विकास र हजार निकासमा’ रेवती गुरूङ, बसन्त अधिकारी, जेबी चौधरी र सुरथ चौधरी सहभागी हुनेछन्।
‘आरन, अन्वेषण र आविष्कार’मा महावीर पुन, सहवीर कामी, डिबी नेपाली, कविता पाण्डे वक्ता हुनेछन् भने विष्णु विवेकले सत्रको सहजीकरण गर्नेछन्।
गणेश कार्कीले सहजीकरण गर्ने सत्र ‘लगानीमा लगाम’मा चन्द्र ढकाल, निरक केसी र तारा शाह वक्ता छन्। महेश नेपालीले सहजीकरण गर्ने सत्र ‘झरो–उजेलोको खरो’मा गजेन्द्रबहादुर महत, कुलमान घिसिङ र निशा राना वक्ता छन्।
‘कर्णाली भेरी तीरैतीर भविष्यको पीर’ सत्रमा डा. सुदीप ठकुरी, डा. राधा वाग्ले, कृष्ण रोकाया र युवराज कार्की वक्ता छन् भने ईन्द्र रावलले सत्रको सहजीकरण गर्नेछन्।
बिनु सुवेदीले सहजीकरण गर्ने ‘रैबार र रैला’ सत्रमा डा. बैकुण्ठ अर्याल, युवराज घिमिरे, टीकाराम यात्री र दीपा कोइराला वक्ता छन्।
यस्तै ‘शून्य समय’ सत्रमा कर्णाली प्रदेश सभा सदस्यहरू देवी ओली, दानसिंह परियार र प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकी वक्ता छन्।
सत्रको सहजीकरण नारायण अधिकारीले गर्नेछन्।
‘वाद विवाद र संवाद’ सत्रमा प्रतिनिधि सभा सदस्य तथा कांग्रेस महामन्त्री गगन थापा र सहरी विकास मन्त्री रामकुमारी झाक्री वक्ता रहेका छन् भने मनऋषि धितालले सत्रको सहजीकरण गर्नेछन्।
‘विकासको बाटो’ सत्रमा डा. विमला राई पौडेल, कर्णाली प्रदेशका अर्थमन्त्री विन्दमान विष्ट, मधु मरासिनी वक्ताका रूपमा रहेका छन्।
अन्तिम सत्र ‘उमेरको उमंग’मा सुनिता रावल, पञ्चा सिंह, आरती लामा र पुनम भट्ट भट्टराई वक्ता रहेका छन्।
कर्णाली चिन्तन सत्र डा. विश्व पौडेलले सञ्चालन गर्नेछन्।
कर्णाली उत्सव अवधिभर तीन जना सफल/प्रतिभावान व्यक्तिको आत्मकथा (पैकलो) पनि प्रस्तुत गरिने आयोजक संस्थाले जनाएको छ।
यस्तै, पहिलो दिनको अन्तिममा कविता साँझ र दोस्रो दिनको अन्तिममा गजल महफिल पनि सञ्चालन गरिनेछ।
गौतमका अनुसार उत्सवको उद्घाटन सत्र सुरू गर्नुअघि बुलबुले परिसरमा साइक्लिङ पनि गरिनेछ। कर्णाली उत्सवको तेस्रो संस्करण सम्पन्न गर्न ५० लाख रुपैयाँ लागत अनुमान गरिएको उनले जानकारी दिए।