गुड फ्राइडे सिनेमा
बलिउडमा त्यस्ता कैयन फिल्म छन् जसको कथा, प्रस्तुति, कलाकार, अभिनय सबै अब्बल हुँदाहुँदै बक्स अफिसमा सफल भएका छैनन्। कमाइ र व्यावसायिक आँकडा नै सफलताको मापक मानिने हुँदा कतिपय राम्रा फिल्म पनि हेर्न छुटेका हुन सक्छन्।
आजको गुड फ्राइडे सिनेमामा हामी तपाईंहरूलाई त्यस्तै एउटा फिल्म हेर्न सिफारिस गर्दैछौं- मनोरमा सिक्स फिट अन्डर।
राजस्थानको लखोट गाउँ। त्यहीँका बासिन्दा हुन् सत्यवीर सिंह रान्धवा (अभय देवल)।
सत्यवीर लखोटको वर्णन गर्छन्, साहित्यिक शैलीमा। यो गाउँमा तीन वर्षदेखि पानी परेको छैन। सुख्खापनले गाउँलाई गाँजेको छ। बनिरहेको नहरको काम रोकिएको छ।
सत्यवीर लखोटलाई आफ्नो जीवनसँग तुलना गर्छन्।
पेसाले इञ्जिनियर उनी घुस लिएको आरोपमा निलम्बनमा परेका छन्। उनीमाथि छानबिन भइरहेको छ। उनको रूचि लेखन हो। चर्चित लेखक बन्ने सपना पालेका उनले 'मनोरमा' नामको अपराध उपन्यास लेखेका छन्। आफ्नो उपन्यासलाई उनी महान मान्छन् तर त्यो किताब जम्मा दुई सय प्रति मात्र बिकेको छ।
आफ्नो सपनामा लागेको तुँवालोले उनलाई खाइरहेको छ। उपन्यासकी मुख्य पात्र मनोरमालाई उनी भुलभुलैयामा देखिरहन्छन्।
यता न उताको जिन्दगीले चर्चित बन्ने सपना देखेका उनलाई गुमनाम बनाउँछ। उनको घरमा श्रीमती निम्मी (गुल पनाग) र सानो छोरा छन्। निम्मी उनलाई किचकिच गरिरहन्छिन्।
त्यही रात उनीहरूको घरमा सत्यवीरलाई खोज्दै एक महिला आइपुग्छिन्। उनी आफूलाई राजस्थानका सिँचाइमन्त्री पी. पी. राठोरकी श्रीमती भनेर चिनाउँछिन्। राठोरकी श्रीमती आफू सत्यवीरको उपन्यासको एकदमै ठूलो प्रशंसक हुँ भन्दै तारिफ गर्छिन्। किताबको मुख्य पात्र गुप्तचर रघुसँग सत्यवीरलाई तुलना गर्छिन्।
उनलाई आफ्ना श्रीमानको अर्कै केटीसँग सम्बन्ध भएको शंका छ। त्यसबारे पत्ता लाउन उपन्यासको पात्र गुप्तचर रघुले झैं आफूलाई सहयोग गर्न उनी सत्यवीरसँग आग्रह गर्छिन्।
पैसाको समस्या भइरहेका बेला सत्यवीर यो प्रस्ताव स्वीकार्छन्।
सत्यवीर राठोरको घरमा जासुसी गर्न थाल्छन्। उनी एक जना महिला राठोरलाई भेट्न आएको देख्छन्। सत्यवीरले परैबाट उनीहरू भेटेको तस्बिर खिच्छन्। त्यही बेला ह्विलचेयरमा बसेकी एक महिलाले उनलाई देख्छिन्।
सत्यवीर तस्बिर खिचेर तिनै महिलालाई दिन्छन् जसले उनलाई यो काम जिम्मा दिएका हुन्छन्।
सत्यवीर त्यसपछि आफ्ना मिल्ने साथी ब्रिज मोहन (विनय पाठक) लाई भेट्न जान्छन्। पेसाले प्रहरी ब्रिज मोहन निम्मीका दाइसमेत हुन्। घरको समस्या सुनाएपछि ब्रिज मोहनले निम्मीलाई लिएर केही दिन घुम्न जान भन्छन्।
छोरालाई ब्रिज मोहनको साथमा छाडेर उनीहरू घुम्न जान्छन्।
घुमघाम रमाइलै भइरहेको हुन्छ। सत्यवीर एउटा होटलमा बसेर टिभी हेरिरहेका बेला उनले सिँचाइमन्त्री पी. पी. राठोरकी श्रीमतीलाई देख्छन्।
मन्त्रीकी श्रीमती सत्यवीरलाई जासुसी गर्न लगाउने महिला नभएर ह्विलचेयरमा बसेकी तिनै महिला हुन्छिन्।
सत्यवीर चकित खान्छन्।
फर्केपछि उनले यो कुरा ब्रिज मोहनलाई सुनाउँछन्। उनले घटना बिर्सिदिन भने पनि सत्यवीरको दिमागमा ती महिला को हुन् भन्ने प्रश्न घुमिरहन्छ।
एक साँझ मदिरा पिएर फर्किँदै गरेका बेला बाटामा उनको भेट तिनै महिलासँग हुन्छ। उनले आफूलाई कसैले मार्न लागेको भन्छिन्। सत्यवीर अगाडिको घटनाबाट चकित खाइरहेका हुन्छन् र उनलाई बेवास्ता गर्छन्।
ती महिलाले आफ्नो नाम र उमेर सम्झिन भन्छिन्, मनोरमा (सारिका), उमेर ३२।
अधवैंशे उमेरकी महिलाले आफ्नो उमेर ३२ बताएपछि सत्यवीर उनलाई उडाउँछन्। त्यही बेला उनले निम्मीलाई घरमा देख्छन्। फर्केर हेर्दा मनोरमा गायब भइसकेकी हुन्छिन्।
भोलिपल्ट तिनै मनोरमाले आत्महत्या गरेको खबर पत्रिकामा आउँछ। मनोरमाले लखोटमा बनिरहेको नहरविरूद्ध आवाज उठाइरहेकी हुन्छिन्। उक्त नहर राठोरले प्रायोजन गरेका हुन्छन्।
यो सबै घटनाले सत्यवीरलाई अलमल पार्छ। त्यसपछि भने उनी यसको छानबिन गर्ने निधो गर्छन्।
सत्यवीरको उपन्यासकै नामकी ती महिला को हुन्छिन्? कहाँबाट आएकी हुन्छिन्? उनले किन आत्महत्या गरिन्? आफ्नो उमेर किन ३२ भनिन्? राठोरको यो घटनामा के हात हुन्छ?
फिल्म सत्यवीरको जीवनमा भइरहने अरू घटनासँगै मनोरमाको वास्तविकता उजागर गर्ने प्रयासमा अगाडि बढ्छ। यसबीच फिल्ममा अरू मुख्य पात्रहरू आउँछन् जसमा शितल (राइमा सेन) एक हुन्। सत्यवीरको उनीसँगको सम्बन्ध र शितलको वास्तविकताले फिल्म रोचक बनाएको छ।
फिल्म हेर्दै जाँदा तपाईंहरूले अब्बल अभिनेता नवाजुद्दिन सिद्दिकीलाई पनि देख्न सक्नुहुन्छ। त्यो बेला उनी बलिउडमा संघर्षरत थिए। त्यसैले उनको भूमिकालाई लिएर खास चर्चा भएन। तर फिल्ममा उनको भूमिका उल्लेखनीय छ।
नवदीप सिंहद्वारा निर्देशित पहिलो फिल्म 'मनोरमा सिक्स फिट अन्डर' ले समीक्षकहरूबाट निकै राम्रो प्रतिक्रिया पाएको थियो। थ्रिलर विधामा सफल यो फिल्मका संवादहरू निकै दमदार छन्।
(फिल्म हेर्न watch on youtube मा क्लिक गर्नुहोला।)