भारतीय गायन रियालिटी शो ‘इण्डियन आइडल १२’ का विजेता पवनदीप राजनसँगै फाइनलिस्ट अरूणिता काजीलाल विवादमा तानिएका छन्।
दर्शकले निकै मन पराएको यो जोडीको लोकप्रियता ‘इण्डियन आइडल-१२’ सकिएको महिनौं बित्दा पनि कमी भएको छैन।
यसैबीच यो जोडी अहिले कानुनी विवादमा मुछिएको छ।
उनीहरूलाई सम्झौतापछि म्युजिक एल्बम सुट र त्यसको प्रोमोसन नगरेको आरोप लागेको छ। म्युजिक एल्बमको सुटिङ अक्टोपस इन्टरटेनमेन्टले गर्न लागेको थियो । जसका लागि अक्टोपसले सोनी टेलिभिजनसँग एक सम्झौता गरेको थियो ।
यो सम्झौताअनुसार पवनदीप र अरूणिताले एल्बमका लागि २० गीतको सुटिङ गर्नुपर्ने थियो। तर उनीहरूले एक गीतको सुटिङ गर्न अस्वीकार गरेका थिए। सोनी टेलिभिजनले पवनदीप र अरुणिता ‘इण्डियन आइडल’मा प्रतिस्पर्धा गरिरहँदा यो सम्झौता गरेको थियो ।
यो सम्झौताको बेला गरिएको पत्रकार सम्मेलनमा आयोजकले धेरै पैसा खर्च गरेका थिए। पैसा, समय र प्रतिबद्धता गरे पनि पवनदीप र अरुणिताले गीतको सुटिङ रोकेका थिए।
यसैबीच सोनी टेलिभिजनले यो मामलामा कुनै पनि प्रकारको एक्सन लिन लागेको खबर गलत भएको जनाएको छ।