चौधरी ग्रुपका अध्यक्ष एवं उद्योगपति विनोद चौधरीको आत्मकथा अंग्रेजी संस्करण ‘मेकिङ इट बिग’ मंगोलियन भाषामा प्रकाशित भएको छ। यसअघि चौधरीको आत्मकथा नेपाली, अंग्रेजी, हिन्दी, सर्वियन, रसियन भाषामा प्रकाशित भइसकेको छ।
नेपालमा बेस्ट सेलर रहेको चौधरीको आत्मकथा अंग्रेजी भाषाका पाठकले पनि निकै मन पराएका छन्। विश्वब्यापी पाठकका लागि अमेजनमा समेत यो पुस्तक उपलब्ध छ। नेपाली पाठकका लागि देशभरका अधिकांश पुस्तक पसलमा यो पुस्तक उपलब्ध छ भने किताब यात्रामार्फत अनलाईन अर्डर गर्न सकिने व्यवस्था छ।
मंगोलियन भाषाको पुस्तक मंगलबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो। राजनीतिक र आर्थिक रुपमा पिछडिएको मुलुकका रुपमा चिनिएको नेपालमा जन्मिएर विश्व्यापी व्यवसाय विस्तार गर्दै फोर्बससम्मको यात्रा तय गरेका चौधरीको सफलताको कथालाई विश्वव्यापी रुपमै उत्सुकताका साथ पढिएको छ।
मंगोलियन भाषाका पाठकहरूका लागि आफ्नो आत्मकथा सार्वजनिक गर्न पाएकोमा लेखक चौधरीले खुसी व्यक्त गरेका छन्।
मंगोलियन भाषाको पुस्तक सार्वजनिक गर्दै चौधरीले कथा वा विषयवस्तु जेसुकै भएपनि आम पाठकसम्म नपुगेसम्म त्यसको अर्थ नहुने भन्दै विद्यार्थी, नीतिनिर्माता, प्राध्यापक, सार्वजनिक पुस्तकालय र विश्वविद्यालयसम्म आम रूपमा पुस्तक सहज उपलब्ध गराउन राम्रो वितरण सञ्जाल तयार गरेकोमा मंगोलियन प्रकाशकलाई धन्यवाद दिए।
चौधरी निकट भविष्यमा मंगोलिन पाठकहरूसँग प्रत्यक्ष उपस्थित भई अन्तर्क्रिया गर्ने आफ्नो चाहना व्यक्त गरेका छन्। चौधरी नेपाली कांग्रेसको केन्द्रीय सदस्यका रुपमा पछिल्लो समय राजनीतिमा सक्रिय छन्।