आगामी चैत ११ गतेबाट प्रदर्शन हुने भनिएको फिल्म ‘हेल्लो जिन्दगी’ को रिलिज मिति सारिएको छ।
सोही मितिमा भारतीय फिल्म ‘आरआरआर’ प्रदर्शनमा आउने भएपछि हेल्लो जिन्दगीको रिलिज मिति सारिएको निर्माण पक्षले जनाएको छ। एसएस राजामौली निर्देशित फिल्म ’आरआरआर’ को नेपालमा पनि प्रतीक्षा भइरहेको छ।
निर्माण पक्षले नयाँ पोस्टर सार्वजनिक गर्दै फिल्म एक हप्ता पछि सारिएकाे जानकारी दिएको हो।
कोरोना भाइरसको महामारी अगाडि नै फिल्म प्रदर्शनमा ल्याउने तयारी गरिए पनि महामारीका कारण फिल्म केही समय होल्डमा रहेको थियो ।
‘मर्डर मिस्ट्री’ सँगै बदला र मित्रताको कथा देखाइएको फिल्मको मुख्य कलाकारमा विक्रम जोशीले अभिनय गरेका छन्।
त्रिकोणत्मक प्रेम कथा रहेको फिल्ममा विक्रमसँगै दीपिका प्रसाईं र प्रियंका कार्कीको पनि अभिनय छ। नेपाल र बेलायतको रमणीय दृश्यमा छायांकन गरिएको फिल्मलाई एभरेष्ट सूर्य बोहराले निर्देशन गरेका छन्।
फिल्ममा विल्सन विक्रम राई, विक्रान्त बस्नेत, सविता गुरुङ, ध्रुव दत्तलगायतका कलाकारको अभिनय पनि छ । हिराल जोशी र विक्रम जोशी निर्मातामा रहेको फिल्ममा सृजना जोशी महर्जन कार्यकारी निर्माता रहेकी छन् ।