गुड फ्राइडे सिनेमा
दक्षिण कोरियाली सिनेमा बन्न थालेको सय वर्ष नाघिसक्यो। एक शताब्दीको सिने यात्रामा कोरियाले दर्शकसामु धेरै राम्रा फिल्म पस्किसकेको छ।
एसियाली दर्शकमाझ व्यापक फैलिएको कोरियन सिनेमाले विश्वव्यापी रूपमा इतिहास रचेको सन् २०२० मा हो। निर्देशक बोङ जोन हु निर्देशित थ्रिलर फिल्म 'प्यारासाइट'ले कान र अस्करमा प्रमुख विधाका अवार्ड जित्न सफल भयो।
थ्रिलर विधामा कोरियन फिल्म उत्कृष्ट मानिन्छन्। रहस्य, सस्पेन्स र कथामा आउने रोचक मोडका कारण फिल्म पूरा नहेरिन्जेल चित्त बुझ्दैन। सँगै बलियो कथा, कलाकारको अब्बल अभिनय र प्रस्तुतिले फिल्मलाई अर्को तहमा पुर्याएको पाइन्छ।
आज हामीले तपाईंहरूलाई यस्तै कोरियन थ्रिलर फिल्म सिफारिस गरेका छौं जुन युट्युबमा उपलब्ध छ।
फिल्मका मुख्य पात्र हुन् मानव अंग तस्करी गर्ने योङ ग्यु।
उनी मान्छेको अपहरण गरेर अंग निकाल्ने र धनाढ्यहरूलाई बेच्ने गिरोहमा संलग्न छन्। अंग निकाल्ने प्रक्रियाका लागि उनीहरू यात्रुवाहक डुंगाको प्रयोग गर्छन्।
उनीहरूले अपहरण गरेका एक पीडितका कारण डुंगामा दुर्घटना हुन्छ। त्यही घटनामा योङ ग्युका साथीको मृत्यु हुन्छ। यसपछि उनी यो कामबाट बाहिरिन र नयाँ जीवन सुरू गर्छन्।
मानव अंग तस्करीको काम छाडेर उनी सानातिना सामानको तस्करी धन्दामा सक्रिय छन्। यसैबीच उनी युरी नामकी युवतीसँग प्रेममा पर्छन्। युरीलाई भने योङ ग्युबारे मतलब हुँदैन। र उनको विगतको काम र उनको भावनाबारे थाहा पनि हुँदैन।
युरीका आफ्नै समस्या हुन्छन्। उनका बुवाको अंग प्रत्यारोपण गर्नुपर्ने हुन्छ तर अस्पतालले मान्दैन। यसपछि उनी मानव अंग प्रत्यारोपणका लागि मद्दत गर्ने व्यक्तिलाई भेट्न पुग्छिन्। ती व्यक्तिले उनका बुवालाई अंग मिलाइदिने बाचा गर्छन्।
योङ ग्युले यसबारे थाहा पाउँछन्। युरीले मद्दत मागेका ती व्यक्ति मानव अंग अवैध रूपमा बेचविखन गर्ने गिरोहकै हुन्छन्। अंगका लागि उनी योङ ग्यु र उनीजस्तै मान्छेका भर पर्छन्।
ती व्यक्तिले योङ ग्युलाई यो काम गरिदिन भन्छन्। उनी यो कामबाट बाहिरन चाहे पनि युरी र आफ्नो ऋण तिर्नका लागि अन्तिम पटक संलग्न हुने निधो गर्छन्। यसबारे युरीलाई केही थाहा हुँदैन।
युरी, उनका बुवा, योङ ग्युको टोली कोरियाबाट चीन जाने डुंगामा पुग्छन्। योङ ग्युको टोलीले यात्रुमध्ये एक जनाको अपहरण गर्छन् र उनका अंग निकाल्छन्।
त्यही डुंगामा एक विवाहित जोडी साङ हो र चेही हुन्छन्। चेही अपांगता भएकी महिला हुन्, ह्विलचेयरको सहारामा हिँडडुल गर्छिन्। कोरियाली डुंगा चिनियाँ पानीमा प्रवेश गरेपछि चेही डुंगाबाट गायब हुन्छिन्। उनका सबै सामान र फोटाहरू पनि हराउँछन्।
साङ होले उनलाई निकै खोज्छन् तर फेला पार्न सक्दैनन्। त्यही बेला युरीले चेहीलाई भेटेको र कुरा गरेको बताउँछिन्।
एकातिर युरी र साङ हो चेहीलाई खोज्न लागि पर्छन्। अर्कातिर योङ ग्यो युरीका बुवाका लागि मान्छे अपहरण गरेर अंग निकालिरहेका हुन्छन्।
यसपछिको कथाल जान्न फिल्म नै हेर्नुहोला।
रहस्यमयी ट्विस्ट र खुलासाले 'ट्राफिकर्स' फिल्म एकदमै रोचक बनाएको छ। यो ट्विस्टको क्रम फिल्म सकिँदासम्म पनि चलिरहन्छ।
समग्रमा भन्दा फिल्म सस्पेन्स र थ्रिलरले भरिएको छ। यसमा केही दृश्यहरू हिंसात्मक छन् तर यी दृश्य कथाले मागेअनुसारै देखाइएको छ।
'ट्राफिकर्स' थुप्रै अवार्डहरूमा मनोनित र केही जित्न सफल फिल्म हो। सन् २०१२ को ग्रान्ड बेल अवार्ड्समा निर्देशक किम होङ सन उत्कृष्ट निर्देशकको सूचीमा परेका थिए। त्यही वर्षको ब्लु ड्रागन फिल्म अवार्ड्समा भने उनले यही विधामा अवार्ड जित्न सफल भए।