संस्कृतिविद् सत्यमोहन जोशीको जीवनीमा आधारित किताब ‘सत्यमोहन’ सार्वजनिक भएको छ।
शुक्रबार ललितपुरमा एक कार्यक्रम आयोजना गरी पत्रकार गिरीश गिरीले लेखेको पुस्तक ‘सत्यमोहन’ सार्वजनिक गरिएको हो। यो किताब बुकहिलले प्रकाशन गरेको हो।
पुस्तक लोकार्पणपछि बोल्दै जोशीले आफूले आफूलाई नै चिन्न नसकेको भन्दै पुस्तकले सत्यमोहन जोशीलाई चिनाउन मद्दत गर्ने बताए। यो पुस्तकले नेपाली भाषा साहित्यको विकासमा सघाउ पुर्याउने पनि उनले बताए।
‘म सोच्थेँ म भित्रको आफू त्यसलाई कसरी चिन्ने? कसरी थाहा पाउने? मैले आफूले आफैंलाई अझसम्म चिन्न सकेको छैन। चिन्न खोज्दैछु। भनेजस्तो किसिमको एउटा दार्शनिक, आध्यात्मिक त्यो मनमा आइरहन्थ्यो। त्यत्तिकैमा मित्र गिरीश गिरीज्यूको संगतले दुई चार कुरा गर्दागर्दै उहाँ टिप्नु हुन्थ्यो अनि उहाँ स्वयम् म सत्यमोहन जोशी भए पनि सत्यमोहन जोशी चाहीँ उहाँ हुनुभयो,’ जोशीले भने, ‘उहाँले सत्यमोहन जोशीकै रूपबाट यो किताब तयार गर्नुभयो। शतप्रतिशत उहाँले सत्यमोहन जोशी भएर लेख्नुभएको किताब हो।’
जोशीले लोक संस्कृतिलाई हेला गरेर राष्ट्र समावेशी हुन नसक्ने पनि बताएका थिए। लोक संस्कृतिले नै विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिहरूबीचमा एकता ल्याउने उनको भनाइ थियो। लोक संस्कृतिले सबैलाई आफू नेपाली भएको भावना जागृत गराउने पनि उनले उल्लेख गरे।
पुस्तकका लेखक गिरीले सत्यमोहन जोशीले राष्ट्रका लागि गरेको योगदान व्यापक रहेको र त्यसलाई पछिल्लो पुस्तासम्म पुर्याउने उद्देश्यसहित पुस्तक लेखिएको बताए। जोशीलाई काठमाडौंभित्रका कला, संस्कृतिसँग मात्रै जोडेर साँघुरो रूपमा बुझ्न नहुने भन्दै उनले जोशीले सिंगो राष्ट्रको कला, संस्कृतिको विकासका लागि योगदान दिएको बताए।
पुस्तकमा सत्यमोहन जोशीको जीवनीका साथसाथै उनले राष्ट्रको कला र संस्कृतिको विकासमा खेलेका भूमिकाको समेत चर्चा गरिएको गिरीले बताए।
सबै तस्बिरः सुसन चौधरी/सेतोपाटी







