खिलबहादुर तामाङको निर्देशनमा तयार भएको चलचित्र ‘मन्त्र’को ट्रेलर सार्वजनिक भएको छ।
अभिनेता सौगात मल्ल र अभिनेत्री दीया पुनको अभिनयमा बनेको मन्त्रमा नेपालको हिमाली क्षेत्रको भेषभुषा र लवज हेर्न पाइन्छ।
प्रेम र विछोडको धारलाई नै समातेको यो चलचित्रमा सौगात मल्ल र दीया पुनको अलावा बुद्धि तामाङ, नमिता घिसिङ, वीरबहादुर लामा, पासाङ्ग टि शेर्पालगायतका कलाकारको पनि अभिनय रहेको छ।
चलचित्रमा परिक्षेद सेनको कथा, साम्तेन भुटिया, सुनिल निहुरे र सेन स्वयंको पटकथा, सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायांकन रहेको छ।
ट्रेलर रिलिज कार्यक्रममा अभिनेता मल्लले चलचित्र छायांकनको समयमा निकै गाह्रो भए पनि चलचित्र राम्रो बनेको बताए। आफूले चलचित्रको लागि घोडचढी सिकेको बताए।
उनले भने,‘चलचित्रमा घोडा दौडको दृश्य भएकाले छायांकनभन्दा अगाडि केही दिन घोडा चलाउन सिकेको थिएँ। तर, मेरो भागमा परेको घोडा निकै अटेरी रहेछ। राम्रो बाटो छाडेर भीर–भीर मात्र हिँड्थ्यो। केही पटक लडेँ पनि। पछि त्यही घोडाले मलाई पहिलो बनायो।'
चलचित्रका निर्देशक खिलबहादुर तामाङले चलचित्र मौलिक नेपाली चलचित्र बनेको बताए। आउँदो १६ वैशाखबाट प्रदर्शनमा आउन लागेको चलचित्रको छायांकन ५१०० मिटरभन्दा माथिको उचाइमा रहेको मनास्लु हिमालको बेसक्याम्प क्षेत्रमा गरिएको बताइएको छ।