गुड फ्राइडे सिनेमा
आज नेपालसहित संसारका १० हजार हाराहारी सिनेमा हलमा एउटै फिल्मको चर्चा छ- आरआरआर।
निर्माणमा मात्र साढे चार सय करोड भारू खर्चिएको भारतकै महँगो यो फिल्म दक्षिण भारतीय मूलका एसएस राजामौलीले निर्देशन गरेका हुन्। भारतमा सम्भवतः अहिले सबभन्दा चर्चामा रहेका निर्देशक हुन् उनी।
सन् २००१ बाट निर्देशन सुरू गरेका उनले आरआरआरसहित अहिलेसम्म १२ वटा फिल्म बनाए। सुरूआती दिनमा दक्षिण भारतीय बजारमा मात्र सार्वजनिक भए पनि उनका सबैजसो फिल्म सफल भएका छन्।
अहिलेसम्म भारतीय फिल्मको इतिहासमै सबभन्दा बढी कमाउने 'बाहुबली' ले उनलाई संसारका धेरै कुनासम्म चिनाएको हो। बाहुबलीले राजामौलीलाई मात्र होइन, मुख्य अभिनेता प्रभासलाई पनि उसैगरी चिनायो।
इतिहास रच्न सफल यिनै निर्देशक र अभिनेताले यसअघि पनि सँगै एउटा फिल्ममा काम गरेका थिए- हुकुमत की जंग (छत्रपति)।
तेलेगू भाषामा बनेको यो फिल्म राजामौलीको करिअरको चौथो फिल्म हो भने प्रभासको छैठौं।
सन् २००५ मा बनेको यो फिल्म त्यो बेलै सुपरहिट भएको थियो। १७ वर्षअघि आठ करोड भारूमा बनेको यो फिल्मले दक्षिण भारतीय बजारको बक्स अफिसमा मात्र करिब २४ करोड भारू कमाएको थियो। त्यस्तै दक्षिण भारतीय सिनेमा उद्योगका विभिन्न अवार्डमा छानिएको र केहीमा जितेको पनि थियो।
हुकुमत की जंग फिल्मको प्लट यस्तो छः
समुद्री किनारमा बस्नेहरूको भागदौड हुन्छ। घरहरूमा आगलागी भएको हुन्छ। उनीहरूलाई किनाराबाट भगाइएको हुन्छ।
त्यही बीचमा पार्वती (भानुप्रिया) आफ्ना छोरालाई खोजिरहेकी हुन्छिन्। उनका दुई किशोर उमेरका छोरा छन्- शिवा (प्रभास) र अशोक (सफी)।
शिवा पार्वतीका सौतेनी छोरा हुन्। उनी दुवै छोरालाई उत्तिकै माया गर्छिन्। उनका आफ्नै छोरा अशोकलाई भने यो कुरा मनपरेको हुँदैन।
भागदौडमा शिवा हराउँछन्। पार्वती रूँदै उनलाई बोलाउँछिन्। अशोकले अलि पर शिवालाई देखिरहेका हुन्छन्। तर आमाले शिवालाई माया गरेको मन नपरेका अशोकले शिवा घरमा भएको आगलागीमा परेको बताउँछन्। पार्वती छोरा गुमाएकोमा खुब रून्छिन्।
उता शिवालाई गाउँलेले डुंगामा जबरजस्ती चढाएर उद्धार गर्छन्। शिवा आफ्नो परिवारबाट छुट्टिन्छन्।
उनी अर्कै बन्दरगाहमा पुग्छन् जहाँ एक निर्मम साहुको गैरकानुनी धन्दामा काम गर्नुपर्ने हुन्छ। यस्तै काम गर्दै उनी हुर्किन्छन्। आफ्नी आमा र भाइलाई खोज्ने क्रम भने रोकिएको हुँदैन। यही क्रममा उनको भेट निलु (श्रीया शरन) सँग हुन्छ। उनी श्रीयालाई मनपराउँछन्।
शिवालाई अहिले काम गरिरहेका आफ्ना साहु बाजी रावको व्यवहार मनपरेको हुँदैन। उनको रिसको पारो तात्छ। तर उनलाई माया गर्नेहरूले सम्झाइ बुझाइ गरिरहन्छन्।
तर एक दिन यस्तो घटना हुन्छ जसबाट शिवको धैर्यको बाँध टुट्छ। उनी आफू र अरू शरणार्थीको सुरक्षा निम्ति खडा हुन्छन्।
उनले अकल्पनीय काम गर्छन्।
त्यसदिन देखि उनलाई मान्छेहरूले छत्रपति नाम दिन्छन्। छत्रपति भनेको प्रजाहरूलाई छत्रछाया दिने र रक्षा गर्ने शासक हो।
आफ्ना वरिपरिका मान्छेबाट माया पाए पनि बाजी रावका दाइ रस बिहारी उनका दुश्मन बन्छन्।
शिवालाई खोज्दै रस बिहारी उनी भए ठाउँ पुग्छन्। त्यहीँ शिवाका भाइ अशोक पनि पुग्छन्। शिवाजी नै आफ्ना सौतेनी दाइ भएको थाहा पाएपछि अशोकले दुश्मनसँग हात मिलाउँछन्।
शिवाजीले अब यी दुश्मनहरूको सामना कसरी गर्लान्?
आफ्नी आमा र भाइलाई वर्षौंदेखि खोजिरहेका उनले आफ्ना भाइ दुश्मनसँग मिलेको थाहा पाऊलान्? भाइको घृणा थाहा पाउँदा उनी कमजोर होलान्?
उनलाई छत्रपति मानेका मान्छेहरूको विश्वास कायम राख्लान्?
यसनिम्ति फिल्म नै हेर्नुहोला है।